|

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा जिम्बाब्वेमाथि बंगलादेशले ३ रनको रोमाञ्चक जित निकालेको छ।

ब्रिसबेनमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। जवाफमा जिम्बाब्वे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकाल्यो।

पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्टोले ७१ रनको अर्धशतकीय इनिङ खेले। अफिफी होसेइनले २९ रन बनाउँदा कप्तान सकिब अल हसनले २३ रन जोडेका थिए। थप दोहोरो स्कोरका रुपमा लिटन दासको १४ रन रह्यो। जिम्बावेका

लागि रिचार्ड नगराभ र ब्लेसिङ मुजारबानीले २/२ विकेट लिएका थिए।

मध्यम स्कोर पछ्याएको जिम्बाब्वेले खराब शुरुवातका बाबजुद बंगलादेशलाई दबाब दिएको थियो। ३५ रन जोड्दा ४ विकेट गुमाएको जिम्बाब्वेका लागि सेन विलियम्सले सर्वाधिक ६४ रन बनाए। रयान बर्लले २७ रनको अविजित इनिङ खेल्दा रेजिस चकभाले १५ रन बनाए।

बंगलादेशका तस्किन अहमदले ३ विकेट लिँदा  मुश्ताफिजुर रहमान र मासाद्देक हसनले २/२ विकेट हात पारेका थिए।

जितपछि बंगलादेशको समूह २ मा ३ खेलबाट ४ अंक भएको छ। समान अंक भए पनि भारत नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा कायम रह्यो।

यसअघि जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई १ रनले हराएको थियो। जिम्बावेले अब बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्नेछ।

बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो।

बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.