|

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन्।

आइतवार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी हुन्। देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ। छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि भव्य रूपमा सजाइएको थियो।

छठ पर्व हेर्ने सर्वसाधारणको पनि छठघाटमा उल्लेख्य भीड रहेको थियो। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।

छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराण लगायतका ग्रन्थमा वर्णित छ। महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजाआराधना गरी एकवर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.