|

पर्वत : हिमाली जिल्ला मुस्ताङ विविध आकर्षणले भरिपूर्ण छ। अन्नपूर्ण र नीलगिरि हिमालको रेन्जमा रहेको मुस्ताङ तल्लो र उपल्लो मुस्ताङका रूपमा चिनिन्छ।

चीनसँग सिमाना जोडिएको मुस्ताङको उपल्लो क्षेत्र (उपल्लो मुस्ताङ) पदयात्राका लागि प्रसिद्ध हुँदा तल्लो क्षेत्र (तल्लो मुस्ताङ) भने प्राकृतिक दृश्यावलोकनको लागि सर्वप्रिय छ।

तिब्बती संस्कार र परम्परा, हजारौँ वर्ष पुराना गुम्बा सहित मरुभूमिको अनुभूति दिलाउन सक्ने उपल्लो मुस्ताङ तथा बलौटे माटोको समिश्रणबाट मानव निर्मित जस्तै देखिने प्राकृतिक दृश्यले स्वर्गको अनुभूति दिलाउने तल्लो मुस्ताङ आन्तरिक र बाह्य पर्यटकका लागि रोजाइको केन्द्रका रूपमा रहेका छन्। 

सुधारिएको मौसम र केही दिन लामो बिदा परेका वेला मुस्ताङमा आन्तरिक पर्यटकहरूको भीड बढी हुने गर्दछ। विशेषतः दशैँ र तिहार आसपासको समय मुस्ताङ भ्रमणको लागि उपयुक्त मानिन्छ। यही कारण हिजोआज मुस्ताङले थामी नसक्नुका पर्यटकलाई स्वागत गर्न पाएको छ।

म्याग्दीबाट मुस्ताङ छिर्ने नाकामा रहेको घाँसा प्रहरी चौकीका अनुसार शनिवार मात्रै मुस्ताङमा झण्डै पाँच हजार पर्यटक भित्रिएका छन्। यो वेला दैनिक औसतमा तीन हजार पर्यटकको आवागमन भइरहेको भए पनि शनिवार मुस्ताङ पुग्ने आन्तरिक पर्यटकहरूको संख्या एकाएक बढेको हो। शनिवार ४७३ मोटरसाइकल, ३३१ वटा जिप तथा साना सवारी र २३ वटा बसमार्फत चार हजार ७२० जना पर्यटक मुस्ताङ भित्रिएका छन्।

‘यहाँ औसत दैनिक तीन हजार जति पर्यटक आउनु हुन्थ्यो तर शनिवार ठूलो संख्यामा भित्रिनुभएको छ। ठूला बसमा आउने प्रायः आन्तरिक पर्यटक हुनुहुन्छ। विदेशीहरू मोटरसाइकल र जिपमा धेरै आउनुहुन्छ’, घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनबहादुर कार्की भन्छन्, ‘यो ठाउँका बढी हुनुहुन्छ भन्ने नै छैन। चेक जाँचका क्रममा विभिन्न ठाउँ घर भएको बताउनुहुन्छ। यो वेला पर्यटकको निकै चाप हुने समय हो।’ 

मुस्ताङको कागबेनीमा होटेल व्यवसाय गर्दै आएका छेप्तेन गुरुङले अहिले अधिकांश होटल पाहुनाले भरिएर नयाँ मान्छेले ठावै नपाउने जस्तै अवस्था आएको बताउँछन्। मुस्ताङका बारेमा पहिले नै अनुभव गरेका तथा त्यहाँको बारेमा थाहा पाएका कतिपयले पहिले नै होटेलमा ‘रुम बुक’ गरेर आउने गरेकाले ‘बुकिङ’बिना जानेहरूले खानबस्नका लागि ठाउँ पाउन समस्या हुने उनको भनाइ छ।

‘यो वेला सबैभन्दा भरिभराउ नै हुन्छ। दशैँ र तिहारको बीच तथा अगाडि पछाडिको समयमा अफिस बन्द हुनाले धेरैले घुम्ने फुर्सद पाउनुभएको हुन्छ। मङ्सिर लागेपछि यस्तै अवस्था रहँदैन’, होटेल व्यवसायी गुरुङ भन्छन्, ‘अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नै बढी हो फलो हुने। मङ्सिरबाट नेपालीको भ्रमण कम हुन्छ तर विदेशी पर्यटक त्यही वेला बढी आउनुहुन्छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरे पनि यो वेला पर्वत, बागलुङ र म्याग्दीका लागि आएका भन्दा मुस्ताङका लागि हिँडेका सवारी धेरै भेटिने गरेको बताए। सडक मार्गबाट मुस्ताङ जानको लागि मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडक खण्ड हुँदै जानुपर्ने हुन्छ। सवारी जाँचको क्रममा भेटिने अधिकांश मोटरसाइकलचालकले मुस्ताङ हिँडेको बताउने गरेका उनको उनको भनाइ छ।

‘मुस्ताङका लागि जाने सवारी धेरै छन्। पर्वत जिल्ला भित्रिने नाका डिमुवामा हामीले गरेको जाँचमा यो वेला मुस्ताङका लागि हिँडेका अधिकांशलाई भेट्ने गरेका छौँ’, उनले भने, ‘पहिले आउनुभएकाहरूलाई त रुटको बारेमा थाहा हुन्छ। नयाँ आउनेहरूले रुट र सडकको बारेमा ट्राफिकलाई सोधेर अगाडि बढ्नुहुन्छ। मुस्ताङका कारण कुश्मामा पनि पर्यटकको चहलपहल देख्न थालिएको छ।’

दशैँ र तिहारको अवसरमा हुने लामो बिदा उपयोग गर्दै यो वेला जागिरे तथा विद्यार्थीहरू मुस्ताङ भ्रमणमा निस्कने गरेका छन्। दशैँ र तिहार सहित आसपासको मौसम मुस्ताङ घुम्न सबैभन्दा उत्तम भएका कारण पनि यही मौसम नै पर्यटकको रोजाइमा पर्ने गरेको छ।

पुसमाघको समयमा अत्यधिक चिसोका कारण हिमपात हुने भएकाले त्यो वेला मुस्ताङका नागरिक नै चिसो छल्नका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका ठाउँमा झर्ने गरेका छन्। हिमपातका वेला प्राकृतिक दृश्य नियाल्न नपाइने तथा यात्रा नै जोखिमपूर्ण हुने भएकाले यही वेला मुस्ताङले पर्यटकको चाप पाउँदै आएको छ।

सामान्यतः सुक्खा मौसमको अनुभव गर्न पाइने मुस्ताङको धेरै कुराले पर्यटकलाई तानिरहेका हुन्छन्। उपल्लो मुस्ताङमा हिमाली मौसम सहित अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको छायाँमा रमाउन पाइन्छ। गहिरा ‘हिमालयन गर्ज’, साहसिक पदयात्रा, थकाली खाना, उनीहरूका चाडपर्व तथा संस्कार, फरक खालको भौगोलिक संरचना, हिमपात, तिब्बती सभ्यता लगायतका कुराको अवलोकन गर्न पाइन्छ। तल्लो मुस्ताङदेखि नै शुरु हुने पर्यटकीय गन्तव्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।

कागबेनी र नीलिगिरि हिमाल, जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, मार्फा, थोरोङ्ला पासको पदमार्ग, ‘स्काइ केभ’, ‘रक टनेल’, ‘चुङ्सी केभ’, ‘रेड क्लिफ’, घर गुम्बा, छोसेर, लुरी गुम्बा, ‘मनी वाल्स’, गुम्बा ताल, हिमाली क्षेत्रको खेतीपाती, लगायतका विविधता अवलोकनका लागि मुस्ताङ पर्यटकको रोजाइमा पर्ने गरेको छ।

समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको कागबेनीदेखि झण्डै ४ हजार ७ सय मिटरको उचाइमा रहेको कोरलासम्म पर्यटक पुग्ने गरेका छन्। छिमेकी देश चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको कोरलादेखि कागबेनी र मुक्तिनाथसम्म नै यो वेला पर्यटकको भीड हुने गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.