|

हेटौंडा : आइतबार छठ पूजा हेटौंडामा पनि उल्लासपूर्वक मनाइएको छ। हरेक वर्षजस्तै यो वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्तीतटमा सामूहिक रूपमा छठपूजा गरिएको हो।

सूर्यको पूजा गरेर मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लामा समेत मनाउन थालिएको छ।

केही वर्षअघिसम्म विशेष गरी तराईमा मनाइने छठ अहिले पर्वते समुदायले पनि मनाउन थालेको छ। आइतबार हेटौंडा–१ राप्तीतटमा सामूहिक रूपमा भएको छठ पूजामा पनि तराईली समुदायभन्दा पर्वते समुदायका श्रद्धालु अधिक उपस्थित थिए।

छठले तराई र पहाडलाई एकै ठाउँमा जोडेको उनीहरू बताउँछन्। पछिल्लो समय पर्वते समुदायले पनि दशैँतिहार जसरी छठ मनाउन थालेको पाइन्छ। हेटौंडाको राप्तीतटमा पर्वते समुदायका व्यक्ति, परिवार हेटौंडाको राप्तीतटमा छठी माताको व्रत बसेको भेटिएका थिए।

तराई र पहाडलाई एकै सूत्रमा बाँधेको छठ पूजा गर्न राप्तीतट पुगेकी शारदा दवाडी बताउँछिन्। नेपालको विशेषता नै जातधर्म र पर्व रहेको उनको बुझाइ छ। ‘हाम्रो नेपालको विशेषता भनेको नै यही हो नि। चाडपर्व भनेको सबैले मिलेर मनाउने हो। फरक–फरक ठाउँमा बसेको भएर भाषा र वेषभूषा फरक हुनसक्छ तर चाडपर्व सबैको हो’, उनले भनिन्। उनले आफूलाई सबैभन्दा धेरै मन पर्ने पर्व छठ रहेको पनि सुनाइन्।

हेटौंडाकै कुमार अर्याल पनि आइतबार परिवारसहित राप्तीतटमा छठ पूजा गर्दै थिए। दशैँतिहार सकिनेबित्तिकै आफ्नो घरमा छठको रौनक शुरु हुने गरेको उनी बताउँछन्।

शुरुमा उनले एकपटक मधेशी समुदायका साथीसँगै छठपूजा गरेका थिए। त्यति वेला आफ्नो मनोकामना पूरा भएपछि निरन्तर छठ पूजा गर्न थालेको अर्यालले बताए। उनले छठले तराई र पहाडबीच एकता गरेको पनि बताए। अर्यालले आफू निराहार व्रत बसेर छठको पूजा गर्न आएको बताए।

छठ पर्वले धार्मिक आस्था मात्रै नभई सामाजिक सद्भाव पनि जोडिएकाले पछिल्लो समय पर्वते समुदायको पनि बाक्लो सहभागिता रहेको छठ पूजा आयोजक संयुक्त मधेशी समाजका सचिव नन्दलाल दास बताउँछन्। यो वर्ष करिब ५० हजारले राप्तीतटमा छठ पूजा तथा अवलोकन गरेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.