|

काठमाडौं : एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्रमा स्वास्थ्य सेवालाई प्राथमिकताका साथ समावेश गरेको छ। कतिपय पुरानै र कतिपय महत्त्वाकांक्षी योजना बनाइएको छ।

घोषणापत्रमा प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर,आईसीयू तथा भेन्टिलेटर सेन्टरसहितका सुविधासम्पन्न एक हजार शय्याको अस्पताल निर्माण गर्ने उल्लेख छ। यस्तै प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शय्याका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गर्ने विषय समावेश छ। यसका साथै  प्रत्येक पालिकामा एमडीजीपीलगायत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यसेवा उपलब्ध गराउने विषय घोषणापत्रमा समेटिएको छ ।

सबै नगरपालिका र गाउँपालिकामा अनिवार्य रूपमा एम्बुलेन्स व्यवस्था गरेर बिरामीलाई अस्पताल पुर्‍याउन व्यवस्था गर्न, विकट गाउँहरूका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने भनिएको छ। आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद् तथा महामारीबाट हुने घाइते तथा बिरामीको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गर्न पहल गर्ने लगायत विषय घोषणापत्रमा समावेश छ।

यस्तै क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगका बिरामीलाई उपचार र औषधी खर्चवापत मासिक पाँच हजार सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गर्ने, गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने, १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ।

एक हजार क्षमता भएका जिल्ला, प्रादेशिक तथा केन्द्रीय अस्पतालहरूलाई स्टाप नर्स, हेल्थ एसिस्टेन्ट, फार्मेसी र ल्याब टेक्निसियन जस्ता अध्ययन गराउन दिने गरी क्रमशः अनुमित प्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.