|

काठमाडौं : आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने निजी स्कुल हो समता स्कुल। गरिबीका कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनी समताले अंग्रेजी माध्यममा नर्सरीदेखि माष्टर डिग्रीसम्म मासिक एक सय रुपैयाँमै शिक्षा दिँदै आएको छ।

उत्तम सञ्जेलले २०५८ सालमा स्थापना गरेका समता स्कुल अहिले उपत्यकासँगै बाहिर जिल्लामा ७७ वटा स्कुल सञ्चालनमा छन्। विदेशमा पनि सञ्चालनमा छ। समता स्कुलका अनुसार हाल सबै गरी ४० हजारभन्दा बढी विद्यार्थी समतामा अध्ययनरत छन्।

समता स्कुललाई अझै व्यवस्थित रूपमा सञ्चालन गर्न, आर्थिक व्यवस्थापन गर्न अमेरिकामा रहेका नेपालीले ‘समता ग्लोबल सिनेट’ संस्था स्थापना गरेका छन्। यी सिनेट भनेको के हो? किन स्थापना भयो? यसले कसरी समता स्कुललाई सहयोग पुर्‍याउँछ? लगायत विषयमा थाहाखबरकर्मी श्याम राईले समता ग्लोबल सिनेटका अध्यक्ष डा.उत्तम गौली र कोषाध्यक्ष कुमारसिंह डाँगीसँग गरेको कुराकानीको सम्पादित अंश :

समता ग्लोबल सिनेट भनेको के हो, किन स्थापना गरियो?

मैले समता स्कुलको बारेमा मिडियाको माध्यमबाट केही मात्रामा थाहा पाएको थिएँ‚ त्यहाँको अवस्था र प्रभावबारे भने थाहा थिएन। गत वर्ष अमेरिका भ्रमणका वेला आदरणीय वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसँग भेट हुने अवसर जुर्‍याे। मेरो आग्रहअनुसार मेरै घरमा उहाँसँग खाना खाने मौका जुर्‍याे।

त्यसवेला परिचयको क्रम चल्यो। म शिक्षाको प्रोफेसर हुँ भनेँ। उहाँले त्यसो भए नेपालको शिक्षाका बारेमा केही मद्दत गर्ने इच्छा छ छैन भन्नुभयो। मैले छ र गर्छु भनेँ। त्यसपछि उहाँले म समता स्कुलको संरक्षक छु। समताले सय रुपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको छ। यो स्कुलको मालिक कोही छैन। अरू स्कुलका मालिक छन्। फाइदा गर्छन्। शेयरमा चलाएका छन्।

कोही नेताले चलाएका छन् तर समता स्कुलमा फाइदा छैन। त्यसैले मेरो हो भन्ने छैन कोही। उत्तम सञ्जेलमात्रै छन्। दीर्घकालीन चलाउन सहयोग मद्दत दिन सक्नुहुन्छ भने गर्नु भन्नुभयो। त्यसपछि मैले हुन्छ भनेँ अनि शिक्षाप्रेमी साथीहरूसँग छलफल गरेँ। मैले ‘समता ग्लोबल सिनेट’अवधारणा प्रस्ताव गरेँ। यो अवधारणा सबैलाई मन पर्‍याे। उत्तम सरले फोन गर्नुभयो- मलाई साह्रै मन पर्‍याे यो अवधारणा भन्नुभयो।

यसमा कुमार सर पहिला नै जोडिनुभएको रहेछ। मिलेर काम गरौँ भन्नुभयो। सोचविचार मिल्यो। त्यसपछि जुलाईमा अमेरिकाको मेरिल्यान्ड राज्यमा यो संस्था दर्ता गर्‍यौँ। यसको उद्देश्य नै ‘नेपालमा गुणस्तरीय शिक्षा सर्वसुलभ बनाई राष्ट्र निर्माणमा टेवा पुर्‍याउनका लागि स्थापित नाफारहित संस्था हो, यो संस्थाले नेपालको समता स्कुलमार्फत पछ्याउँदै छ’ भन्ने राखेका छौँ।

कस्ता व्यक्ति सिनेटर बन्न पाउँछन् ?

यसमा जो कोही व्यक्ति प्रवेश गर्न पाउँदैनन्। शिक्षाप्रेमी मात्रै मात्रै सिनेटर बन्न पाउँछन्। अरू पनि राख्दा राजनीति गर्छन् भनेर हो। हामीले निवेदन फाराममा ‘यो शिक्षाको संस्थामा राजनीति गर्ने छैन, शिक्षामा विश्वास गरेर शिक्षामा जोडिँदै छु भनेर कसम खानुपर्छ, यो वाचा हो।’

                                                                                 सिनेटका काेषाध्यक्ष कुमारसिंह डाँगी

सिनेटर बनिसकेपछि साँच्चै शिक्षाप्रेमी हो होइन देखाउनुपर्छ। यी माथिका वाचा पूरा गरेन भने उसको पैसा(फी) फिर्ता गरी हटाइहाल्छौँ। 

भनेपछि नेपालको शिक्षामा धेरै राजनीति छ ?

छ, अनेकौँ राजनीतिका कारण नेपालको शिक्षा क्षेत्र अघि बढ्न सकेको छैन। मिलेर शिक्षा क्षेत्रलाई अगाडि बढाऔँ भन्ने भावनाको विकास भएन र छैन पनि। हाम्रो मुख्य उद्देश्य भनेको बालबालिकाको भविष्य सुनिश्चित गर्दै राष्ट्रलाई टेवा पुर्‍याउने हो।

सिनेटर बन्न कति शुल्क तोकिएको छ, समताका विद्यार्थी पनि सिनेटर बन्न पाउँछन् पाउँदैनन् ?

साँच्चै म शिक्षाप्रेमी हुँ भन्ने भाव जगाउन फी पनि तोकेका छौँ। यो सिनेटर बन्न परीक्षा जस्तो पनि हो। हामीले एक हजार डलर तोकेका छौँ। समताका विद्यार्थीहरू यसमा जोडिन कति शुल्क तोक्ने भन्ने हाम्रो सिनेटरले अब निर्णय गर्नेछ।

यो संस्थाले समतालाई कसरी र के केमा सहयोग पुर्‍याउँछ ?

हामीले सिनेटरका लागि फी तोकेका छौँ। फी अक्षय कोषमा राख्छौँ। त्यसबाट आएको आम्दानीबाट समतालाई सहयोग गर्छौँ। के कति कुन कुन समय दिने लगायत निर्णय सिनेटले गर्छ। गुणस्तरीय शिक्षाका लागि समता स्कुलमा सफा ट्वाइलेट, डेस्क बेन्चलगायत आधारभूत आवश्यकता पूरा गर्छौँ।

हाम्रो चाहना भनेकै सबै वर्गकाले शिक्षा पाऊन् र भविष्य उज्ज्वल बनोस् भन्ने हो। समता स्कुललाई राम्रो दिशामा लान र दीर्घकालीन शिक्षा दिनमा अभिभावकत्व प्रदान गर्ने सोच हाम्रो हो। यसका लागि अमेरिकाबाट पैसा ल्याएर समता चलाउने होइन। यसको दिगो रूपले चल्ने चाहिँ हामीले बनाउने हो। यसबाट प्रत्येक तलबले ग्यारेन्टी होस् भन्छौँ। सधैँभरी मागेर चलाउने मोडल हटाई हामी दिनेमा पुग्छौँ। 

कतिजनासम्म सिनेटर बनाउने लक्ष्य हो ?

२ सय जनासम्म सिनेटर बनाउने लक्ष्य छ।

सिनेटले आयोजना गर्न लागेको बृहत् सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम केका लागि र कहाँ कहाँ आयोजना हुँदै छ ?

यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य शिक्षाप्रेमीको समुदाय सिर्जना गर्ने र आर्थिक सहयोग सङ्कलन गर्ने हो। यो कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र गायक रामकृष्ण ढकाल हुनुहुन्छ।

नोभेम्बर ५ तारिखमा न्यूयोर्क,६ तारिखमा शिकागो, ११ तारिखमा कोलम्बस, १२ तारिखमा पिट्सबर्ग, १३ तारिखमा बोस्टन,१८ तारिखमा सेन्ट लुइस, १९ तारिखमा सान फ्रान्सिस्को र नोभेम्बर २० तारिखमा ड्यालसमा कार्यक्रम आयोजना हुँदै छ।  

भोलिको दिनमा समता र यो संस्था कसरी जान्छ? सिनेटरले के के गर्नुपर्छ ?

संस्थाले समताको माध्यमबाट भावनाको विकास गर्छ। त्यस्तै यो संस्था समता स्कुलमा विपन्न विद्यार्थीहरूको भविष्य जोडिएको छ। बालबालिकाको सपना जोड्न बलियो भएर सदैव अगाडि बढ्दै जाने यो संस्था प्रतिबद्धता गर्छ। 

सिनेटरहरूसँग मतदान गर्ने अधिकार हुन्छ। सल्लाह सुझाव दिनुहुन्छ। मान्छौँ पनि। सूचना जानकारी गराउँछौँ, नेपाल जाँदा समता स्कुलमा भ्रमण गराउँछौँ। समताका शिक्षकलगायत विद्यार्थीले सिनेटरलाई सम्मान गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.