|

म्याग्दी :  हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ मा अवस्थित मनमोहक धुम्बाताल धार्मिक आस्था र प्राकृतिक सुन्दरताका कारण मुस्ताङ पुग्ने पर्यटकहरुका लागि पुग्नै पर्ने अनुपम स्थलको रुपमा चिनिन थालेको छ।

‘मुस्ताङको लुकेको हीरा’ भनेर चिनिने यो तालको चौडाइ १ सय ३० मिटर,लम्बाइ १ सय ६० मिटर र गहिराई १० मिटर रहेको छ । समुद्री सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा अवस्थित धुम्बा तालमा कहिल्यै पनि लेउ नलाग्ने स्थानीय बताउँछन्।

मुस्ताङको सदरमुकाम जोमसोमबजारदेखि दक्षिण पूर्वमा पर्ने यो ताल ठिनी खोलाको पुल तरेर  पुगिने सम्ले गाउँको शिरानमा अवस्थित  छ। जोमसोममा कालीगण्डकी नदीको पुल तरेर निर्जन डाँडा,पाखा र कन्दरा हुँदै कालीगण्डकीको बगर छिचोल्दै स्थानीय जनजीवन र जीवन शैलीका रमाइला दृश्यहरुलाई अवलोकन गर्दै धुम्बा ताल पुग्न सकिन्छ।

नीलो  कञ्चन तालमा हिमाल डुबुल्की मारेझैँ देखिने यो ताल  झट्ट हेर्दा कुनै विख्यात कलाकारले कुँदेको चित्र झैँ लाग्ने म्याग्दीको सदरमुकाम बेनीबाट पहिलो पटक तालको अवलोकन गर्न आउनुभएका रमेश बोगटीले बताए।

यो ताल प्राकृतिक हिसाबले जति सुन्दर छ, त्यति नै यसको धार्मिक महत्व रहेको स्थानीय योगेश शेरचनले बताउनुभयो । उहाँका अनुसार बौद्धमार्गीले तालको पानीलाई भगवान गौतम बुद्धलाई चढाउने जलका रूपमा लिन्छन्।

‘ताल नजिकै रहेको ऐतिहासिक कुछुप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने गरिन्छ’ शेरचनले भने ‘बौद्ध धर्मावलम्बी तालछेउमा आई ध्यान र पूजाआजासमेत गर्छन्।’

तालमा नागराज देउताको बास रहेको मानिन्छ । पारिवारिक सुख, शान्ति मिल्ने र मनोकांक्षा  पूरा हुने जनविश्वास छ । तालमा विभिन्न प्रजातिका माछा छाडिएको भए पनि मार्न प्रतिबन्ध छ। तालमा नुहाउन, पौडी खेल्न, डुङ्गा चलाउन र छेउछाउमा वस्तुभाउ चराउन पाइँदैन। ‘धार्मिक आस्था जोडिएका कारणले धुम्बा तालको विशेषता फरक छ,’ स्थानीयबासी शेरचनले बताए ।  तालको सरसफाइ, व्यवस्थापन र माछाको हेरचाहका लागि कर्मचारी खटाइएको छ । ताल संरक्षण र व्यवस्थापनको काम कुछुप तेरेङ्गा  गुम्बाले गर्दै आएको उनले जानकारी दिए।

पहिलोपटक नेपाली चलचित्र ‘जेरी’मा धुम्बा तालको दृश्य समेटिएपछि तालले व्यापक प्रचार पाएको स्थानीय युवा सविन थकालीले बताए।

तालको पूर्वमा थोरङ्ला र निलगिरि, पश्चिममा मानामाथि, दक्षिणमा धवलागिरि र टुकुचे हिमाल देखिन्छ । उत्तरपट्टि पर्यटकीय ठिनी गाउँ पर्छ । पर्यटकलाई लक्षित गरेर बगैँचा, विश्रामस्थल, खाजाघरको व्यवस्था गरिएको छ।

मुटु आकारको देखिने भएकाले युवायुवतीबीच ‘हर्ट–सेप लेक’ का रूपमा पनि परिचित छ। मुस्ताङ सदरमुकाम जोमसोम बजारदेखि पैदल १ घन्टामा धुम्बा ताल पुग्न सकिन्छ । जिप, मोटरसाइकलबाट पनि सजिलै पुग्न सकिन्छ । धुम्बा तालबाट फर्किंदा पर्यटकीय गाउँ ठिनी हुँदै जोमसोम आउन पनि सकिन्छ । पछिल्लो समय पर्यटकको आउजाउ बढेपछि पूर्वाधार निर्माणमा स्थानीयबासीले चासो बढाएका छन्। घरपझोङ गाउँपालिकाले पनि तालमा लगानी थपेको छ।

 पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सवै भन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गर्दछन् =। पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत मुस्ताङमा भीड लाग्ने गरेको छ। खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.