खेलाडीले पोशाक र सन्तुलित भोजन पाएनन्

|

जुम्ला : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले पहिलो स्वर्ण पदक जितेको छ। पोखरामा  सम्पन्न प्रतियोगिताको एथलेटिक्समा जुम्लाका दुर्गबहादुर बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण पदक दिलाएको भन्दै जुम्लामा सम्मान गरिएको छ।

उनले पुरुषतर्फको तीन हजार मिटर स्टिपल चेजमा स्वर्ण जितेका हुन्। भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी ८ मिनेट ५५ः१९ सेकेण्डमा पूरा गरेका थिए।

९ मिनेट २१ः१ सेकेण्डका साथ एपीएफका अजितकुमार यादवले रजत र ९ मिनेट २१ः१ सेकेण्डमा दौड पूरा गर्दै आर्मीका सुवास कार्कीले काँस्य जिते।

कर्णालीलाई स्वर्ण पदक जितेको खबरले उत्साहित भएर सम्मान गरेको खेलकुदप्रेमी एवं सनलाई इलेक्ट्रोनिक पसलका मालिक बालकृष्ण बुढाले गरेका थिए। त्यस्तै कर्णालीलाई पहिलो स्वर्ण पदक दिलाएका बुढाले आफू प्रतियोगितामा पहिलो हुनेमा विश्वस्त रहेको जानकारी दिए।

रोजगारीको सिलसिलामा भारतीय सेनामा काम गर्नु आफ्नो बाध्यता रहेको बताए। उनले खेलाडीको भविष्यप्रति राज्य जिम्मेवार हुन नसकेको उल्लेख गरे। 

उनले देशका लागि खेल्न आफू सधैँ तत्पर रहेको बताए। उनले भारतीय टोलीबाट एसियन च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। स्वर्ण जितेसँगै दुर्गाले कर्णाली प्रदेश सरकारबाट दुई लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन्।

कर्णाली प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेको सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए।

बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टिपल चेज पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए। बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन्, ३ हजार मिटरतर्फ अहिलेसम्मको रेकर्ड तोडेका छन्।

बुढाले यसअघि खेलाडी राजेन्द्र भण्डारीले ८ मिनेट ५७ सेकेण्डमा पार गरेको समयलाई ८ मिनेट ५५.१९ सेकेण्डमा पार गर्दै कीर्तिमानी कायम गरेका छन्। पोखरामा सम्पन्न उक्त प्रतियोगितामा ५ हजार मिटरतर्फ भने उनी दोस्रो भए। 

खेलाडीको गुनासो 
जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको गुनासो गरेका छन्। खेलाडी दुर्गबहादुरले जुम्लाका खेलाडीले सामान्य पोशाक समेत नपाएको गुनासो गरे। उनका अनुसार खेलाडीलाई आवश्यक सन्तुलित भोजनमा पनि ध्यान दिइएको छैन।

 साथै अहिलेसम्म रंगशाला समेत नभएकाले अभ्यास गर्न कठिन भएको खेलाडीले बताएका छन्। 

म्याराथन धावक हरिबहादुर रोकायाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले बढी स्वर्ण पदक ल्याउनका लागि अहिलेबाटै तयारी गर्ने बताए। उनले हरेक खेलाडी मेहनत गरेर स्वर्ण पदक विजेता हुने र नोकरी पनि सुरक्षित हुने स्पष्ट पारे। 

उनले जुम्लाको चिमारा मालिका जाने बाटोमा समेत रंगशालाको सम्भावना भएकाले त्यसका निम्ति सहयोग गर्न अपिल गरे। उनले भने, ‘एक त खेलाडी उत्पादन गर्न कठिन छ। अर्को भएका खेलाडीलाई संरक्षण गर्ने नीति आवश्यक छ।’ यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको कथन छ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिकी सदस्य सचिव संगीता आचार्यले एथलेटिक्स सहित जुम्लाको सम्भावनाको खेलका लागि सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिइन्। जुम्लाको खेल क्षेत्रका लागि आफू निरन्तर लड्दै आएको बताइन्। 

कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनीतिले खास खेलाडीहरू अघि बढ्न नसकेको बताए। उनले कर्णाली खेलकुद परिषदमा आफूहरूले उठाएका विषय सुनुवाइ नभएकाले समस्या भएको बताए।

दुर्गलाई व्यक्तिगत सहयोग  
दुर्गबहादुरले पोखरामा स्वर्णपदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी खेलाडीलाई स्वागत गर्न विमानस्थल आइपुगेका थिए।

खेलकुदप्रेमी बालकृष्ण बुढा र उनका दाजु भुवनसिंह बुढाले ५०, ५० हजार गरी रु. एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्। विजेता खेलाडी दुर्गबहादुरको थप मनोबल बढाउन उक्त सहयोग गरेको उनले बताए। स्वर्ण पदक मात्रै होइन, राष्ट्रिय रेकर्ड कायम गरेकाले दुर्गबहादुरलाई आफूले सानो सहयोग गरेको बालकृष्ण बुढाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.