|

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ३ महिनापछि फेरि सञ्चालनमा आएको छ।

निरन्तर घाटामा गएर बन्द भएको उद्योगले ३ महिनापछि मंगलबार उत्पादन पुनः शुरु गरेको हो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो।

तर विभिन्न निकायबाट करिब एक हजार टन कोइला सहयोग पाएपछि मंगलबार उद्योगले पुनः उत्पादन थालेको हो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार उद्योगसँग हाल २/३ दिन चलाउन पुग्ने परिमाणमा मात्र कोइला छ।

सरोकारवालाले थप कोइला उपलब्ध गराउने वचन दिएकोले हाल उद्योग सञ्चालनमा ल्याइएको उनको भनाई छ। ‘अहिले हामीसँग उद्योग २/३ दिन सञ्चालन गर्न पुग्ने कोइला मात्रै छ। सरोकारवालाहरूले थप कोइला उपलब्ध गराउँछौं भनेर वचन दिनुभएको छ। कोइला आउँछ भन्ने विश्वास लिएका छौं तर आएन भने फेरि उद्योगले उत्पादन बन्द गर्नुपर्ने हुन सक्छ‚’ पाण्डेले भने।

४० वर्ष पुराना मेशिनका कारण उत्पादन लागत महँगो पर्दा उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन। करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको उद्योगले ७ सय २५ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको छ।

कच्चा पदार्थको अभाव र ढुंगा‚ धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन रोकिने गरेको छ। उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उद्योगका महाप्रबन्धक पाण्डे बताउँछन्।

उनका अनुसार सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ। मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा रहेकोले उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या नहट्ने महाप्रबन्धक पाण्डेको भनाई छ।

तर उद्योगमा पुरानो भएर बिग्रिएका मेसिन मर्मत गर्न र नयाँ प्रविधि भित्र्याउन आवश्यक रकम उद्योगसँग छैन। यसले गर्दा उद्योगले न त क्षमताअनुसार उत्पादन गर्न सकेको छ न त निरन्तर सञ्चालन गर्न नै।

कुनै समय नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग ४ वर्षयता अस्तित्व जोगाउनकै लागि सञ्चालन हुनसमेत संघर्षरत रहेको छ। उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ।

उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ। गत आव ०७८/७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

गत आवमा १ अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ। उद्योगले आव ०७४/७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ।

आव ०७५/७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६्/७७ मा २३ करोड ८२ लाख, आव ०७७/७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ।

उद्योगमा गत आव ०७८/७९ मै उत्पादन भएको सिमेन्टसमेत बिक्री नभएर थन्किएको छ। उनले निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए।

बजारसँग प्रतिस्पर्धा गर्न उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७२५ रूपैयाँमा बिक्री गरिरहेको छ। तर उद्योगले एक बोरा सिमेन्ट उत्पादन गर्न करिब ९ सय रूपैयाँ लाग्ने पाण्डेले जानकारी दिए।

उद्योग धराशायी बन्दै गएपछि जग्गा बेचेर उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजना बनेको थियो। निरन्तरको घाटा रोक्न उद्योगले नयाँ प्लान्ट जडान गर्न आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्ने योजना बनाएको थियो तर हाल उक्त योजना स्थगित भइसकेको छ।

घाटामा चलिरहेको उद्योगले हेटौंडा–९ स्थित आफ्नो जग्गा  नेपाल बैंकलाई बेच्ने तयारी गरेको थियो। नेपाल बैंकलाई जग्गा बेचेर पुराना भएका मेसिन मर्मत गर्ने तथा नयाँ मेसिन ल्याएर उद्योगलाई पुरानो लयमा फर्काउने योजना थियो।

तर उद्योग मन्त्रालयले जग्गा बिक्री गर्न रोक लगाएपछि हेटौैंडा सिमेन्टले उक्त योजना तत्कालका लागि स्थगित गरेको छ। महाप्रबन्धक पाण्डेका अनुसार २ वर्षअघि नै सञ्चालक समितिले निर्णय गरेर उद्योग तथा आपूर्ति मन्त्रालयमा जग्गा बिक्रीको सम्बन्धमा पत्राचार गरेको थियो।

सिफारिश मन्त्रालयमै थन्किएको अवस्थामा महाप्रबन्धक भएर आएका पाण्डेले जग्गा बिक्रीबाट उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजनालाई टुंगोमा पुर्‍याउन खोजेका थिए।

तर उद्योगको योजना हाललाई पूरा हुन सकेन। नयाँ मेसिन जडान गर्न उद्योगको केही खाली जग्गा सरकारी कार्यालयहरूलाई बेच्न सकिनेबारे मन्त्रिपरिषद्लाई जानकारी गराएको पाण्डेले यसअघि नै बताएका थिए।

उसो त उद्योगले आफ्नो दशकौं पुरानो रोप–वे बेचेर पनि घाटा पूर्ति गर्न नखोजेको होइन तर यसअघि पनि पटक–पटक रोप–वे बेच्ने तयारी गरे तापनि लिलाम हुन सकेको थिएन।

महाप्रबन्धक पाण्डेका अनुसार अहिले रोप–वे को इस्टमेट तयार पार्न समिति गठन भएको छ। उक्त समितिले लागत इस्टमेट तयार पारेपछि लिलामको लागि प्रक्रिया अगाडि बढ्नेछ।

हाल उद्योग मर्मत गरी सामान्य सञ्चालनमा ल्याउन करिब १ अर्ब ५० करोड रूपैयाँ लाग्ने अनुमान पाण्डेको छ। त्यति लगानी गरेमा उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउनुको साथै नाफामा पनि जान सक्ने उनको दाबी छ।

तर त्यसका लागि उद्योगले सिमेन्ट उत्पादनको लागत घटाएर उत्पादन बढाउनुपर्ने उनको भनाई छ। हेटौंडा सिमेन्टलाई देशभरिका उद्योगले उत्पादन गर्ने सिमेन्टमध्ये सर्वाधिक गुणस्तरीय र विश्वासिलो मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.