‘३० वर्षमा नभएको विकास ५ वर्षमै गरेर देखाउँछु’

|

विराटनगर : सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन्। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रमुख प्रतिस्पर्धा गर्दै आइरहेकी चौधरीले योपटक जनताले आफूलाई अनुमोदित गरेर संसदमा पठाउने दाबी गर्दै आइरहेकी छन्।

सुनसरी ३ नं. क्षेत्रको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य रहेको बताउने चौधरीले विगत ३० वर्षमा नभएको विकास अबको ५ वर्षमै गर्ने दाबी गर्दै आइरहेकी छन्।

तेस्रोपटक उही प्रतिस्पर्धी अर्थात् कांग्रेस नेता गच्छदारसँग चुनावी मैदानमा उत्रिएकी चौधरीलाई आगामी निर्वाचनमा जीत हासिल गर्न कत्तिको सहज छ? यस्तै विषयमा रहेर  थाहा खबरका लागि सुजता लिम्बूले नेतृ चौधरीसँग निर्वाचनका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सारसंक्षेप :

निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ?

सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिस्पर्धा गर्न तम्तयार छु। वडा, नगर टोल र क्षेत्रीय समितिहरु सक्रियताका साथ लाग्नुभएको छ। ३ नं. क्षेत्र निर्वाचन परिचालन मूल कमिटीका संयोजक लिलम बस्नेतको नेतृत्व र निर्देशनमा चुनावी अभियानहरु अगाडी बढाइरहेका छौँ।

अनौपचारिक रुपमा वडा र टोलमा हाम्रा कार्यकर्ताहरु सँग भेटघाटको क्रममा योपटक भारी मत दिएर मलाई जनताले जिताउनेमा ढुक्क छु।

तेस्रोपटक उही प्रतिस्पर्धीसँग चुनावी मैदानमा हुनुहुन्छ, जनतामाझ जाने तपाईको नयाँ एजेण्डा के छ?

निर्यातमुखी कृषि, युवा स्वरोजगार, प्राविधिक शिक्षा मैले उठान गरेका मुख्य एजेण्डा हुन्। सुनसरी क्षेत्र नं. ३ विकासका दृष्टिकोणले ३०औं वर्षदेखि पछि परेको छ। विगतमा निर्वाचित भएर जानुभएका प्रतिनिधिले आफ्नै क्षेत्रका लागि खासै काम नगर्दा धेरै जनताहरु विकासका आधारभूत कुराबाट पनि बञ्चित रहेकाले शिक्षा, स्वास्थ्य, सडकपूर्वाधार, पर्यटन स्थलको विकास, कृषिमा आधुनिकीकरण, आर्थिक तथा महिला सशक्तिकरण, युवा स्वरोजगार जस्ता कुराहरु मैले प्राथमिकताका साथ उठाएकी छु।

साथै, नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपाल अभियानसँगै मंगलबार मात्रै सार्वजनिक गरिएको घोषणापत्रअनुसार यो क्षेत्रको विकास, यहाँका जनताको जीवनस्तर उकास्नु मेरो मुख्य लक्ष्य हो।

अब, पुरानै प्रतिस्पर्धीका बारेमा म बढी टीकाटिप्पणी गर्न चाहन्छ। यो क्षेत्रमा नयाँ नेतृत्व र नयाँ भिजन चाहिएको छ। त्यसका लागि म योग्य छु, नेतृत्व लिन तयार छु। विगत ३० वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने रोडम्याप लिएर अगाडि बढेकी छु।

प्रत्येकपटक पराजित हुँदा प्रतिस्पर्धीलाई सत्ता र कुर्सीको आडमा मतदान र मतगणनामा व्यापक धाँधली गरेको आरोप लगाउँदै आउनुभएको छ, ०७४ को निर्वाचनमा बदर भएको मत पुनः गणना गर्नुपर्ने माग गर्दै अदालत पनि जानुभयो, तर, त्यो मुद्दा अझै पनि विचाराधीन छ, यो पराजित पछिको चित्त बुझाउने मेलो हो?

२०७४ सालमा मात्र हैन २०७० सालको निर्वाचनमा पनि प्रतिपक्षी उम्मेदवारले धाँधली र सत्ताको दुरुपयोग गरेको मेरो मात्र हैन सुनसरी क्षेत्र नं. ३ का जनताको निष्कर्ष हो। जनताले मलाई २ पटक नै मत दिएका हुन्। ०७४ सालमा बदर भएको मत पुनः गणना गरिपाऊँ भन्दा न्यायालयले अहिलेसम्म पनि छिनोफानो नगर्नुको कारण खुलेको छैन।

अब पुनः जनताद्वारा अनुमोदित हुनेछु। योपटक २ वटा निर्वाचनका परिदृश्यहरु दोहोरिने छैनन्। जनताको सम्पत्ति (मत) को सुरक्षामा जनता आफैं सजग छन्, यो कुरा सबैले बुझ्न जरुरी छ।

पछिल्लो समय तपाईंले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिंसात्मक अभिव्यक्ति आयो, यस्ता खालको अभिव्यक्ति निर्वाचन आचारसंहिताविरुद्ध हो जस्तो लाग्दैन?

यसमा बुझाइको कमजोरी भयो, अथवा विपक्षीले अनावश्यक विवाद गरेको हाम्रो बुझाइ हो। मैले निर्वाचनका तयारीका क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने बेलामा विगतका निर्वाचनमा भएका अस्वस्थ गतिविधिहरूप्रति लक्षित गर्दै अब पनि पुनः त्यस्तो धाँधली वा जनताको जनमतलाई प्रभावित गर्ने षड्यन्त्र कसैले गर्छ भने त्यसविरुद्ध कठोर हुनुपर्छ, चुपचाप बस्नुहुन्न, जनताले दिएको जनमतको सुरक्षा हामीले पनि गर्न सक्नुपर्छ भन्ने आशयले बोलेकी थिएँ। तर, त्यसलाई प्रोपोगाण्डा गराउने कार्य भयो। अतिरञ्जित गराउने काम भयो।

आर्थिक सवलीकरणका नारा अघि सार्दै राजनीतिमा हुनुहुन्छ, तर पछिल्लो समय तपाईंले सञ्चालन गर्नुभएको माइक्रोफाइनान्सले जनतालाई चर्को ब्याजमा लगानी गर्यो भन्ने गुनासो छ नि?

महत्वपूर्ण प्रश्न गर्नुभयो, तपाईंलाई धन्यवाद। पहिलो कुरा फरवार्ड माइक्रोफाइनान्स मेरो एकलौटी सम्पत्ति हुँदै हैन, मैले यसबाट कुनै पनि प्रकारको तलब पाउँदिनँ। संस्था सञ्चालनका लागि छुट्टै सञ्चालक समिति छ। म कार्यकारी अध्यक्ष हैन, तलब भत्ता बुझ्दिनँ। यसमा लाखौं सर्वसाधारण जनताको शेयर लगानी छ।

दोस्रो कुरा माइक्रोफाइनान्स भनेको नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर उसको नीति र नियममा रहेर कार्य गर्ने ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो। यसले गरिब विपन्न नागरिक र समुदायमा राष्ट्र बैंकले नै तोकिदिएको दररेट अनुसार मात्र कर्जा प्रवाह गर्दछ।

तेस्रो माइक्रोफाइनान्सले वित्तीय कारोबार गर्दा बैंकहरुको भन्दा बढी प्रशासनिक खर्च गर्नुपर्छ। कर्जा प्रवाह गर्दा र किस्ता उठाउँदा पनि गाउँगाउँमा आफ्ना कर्मचारी पठाउनुपर्छ, वित्तीय साक्षरता, सीपमूलक तालिम प्रदान गर्नुपर्छ। सँगै हामीले धेरै मात्रामा विनाधितो कर्जा प्रवाह गर्नुपर्ने भएकाले बैंकहरुको भन्दा बढी जोखिम पनि छ। यसकारण बैंकहरुको दाँजोमा हाम्रो ब्याजदर थोरै बढी भएको देखिएको हो।

साथै, अर्को महत्वपूर्ण कुरा हामीले पनि क, ख र ग वर्गका बैंकहरुबाटै कर्जा लिएर काम गर्नुपर्ने हुन्छ। हामीलाई सरकारले राष्ट्र बैंकले कुनैपनि प्रकारको सहुलियत कर्जा दिँदैन।

बजारमा राष्ट्र बैंकबाट २, ३ प्रतिशतमा पैसा लिएर महँगोमा लगाउँछ जसले भनिरहेको छ त्यसलाई म चुनौती दिन चाहन्छु कुन निकायले कहाँबाट यसरी २, ३ प्रतिशतमा पैसा दिन्छ? त्यस्तो छ भने हामीलाई पनि दिनुहोस हामी आम जनतालाई ५, ६ प्रतिशतमै लगाउँछौँ।

त्यसकारण यस्ता हल्ला र अफवाह फैलाउनु समाजलाई दिग्भ्रमित पार्ने काम कसैले नगरौं। राजनीतिमा एजेण्डामा रहेर वहस गर्न म तयार छु। भ्रमको खेती नगरौँ।

तपाईं लामो समय वित्तीय क्षेत्रमा हुनुहुन्छ, सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, राजनीतिक अवस्था कस्तो छ?

यो क्षेत्र आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, रोजगार हरेक कुराले पछि छ। गरिब, विपन्न जनतामा साक्षरता छैन। अझै पनि दलित, मुसहर बस्तीहरुका बालबालिका विद्यालय जाँदैनन्। धेरै जनतासँग आफ्नो लालपुर्जा छैन, बर्जु, गढी मात्र हैन दुहवीमै सुविधासम्पन्न अस्पताल छैन। सामुदायिक विद्यालयको कन्तविजोग छ। शिक्षित बेरोजगार धेरै छन्। कृषकले समयमा मल, विउविजन पाउँदैनन्। उत्पादनको बजारीकरण छैन।

मैले यिनै समस्याहरुमा केन्द्रीत रहेर व्यक्तिगत रुपमा केही कामहरु गरे पनि समग्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि सत्तामै पुग्नुपर्ने रहेछ भन्ने ठानेर उम्मेदवारी दिएकी हुँ। 

यो निर्वाचनबाट विजयी हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहन्छ?

जनताले मलाई जिताई सक्नु भएको छ, खाली मंसिर ४ गते ब्यालेटमा खस्ने जनताको मतपत्र गनेर घोषणा मात्र गर्न बाँकी छ। विगतका निर्वाचनमा मलाई देखाउनुभएको सदभाव कायमै छ।

योपटक जनताले यो क्षेत्रको विकास र समृद्धिका लागि मलाई ऐतिहासिक भोट दिनुहुनेछ भन्नेमा म ढुक्क छु।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले विजयी भएर आएपछि नेपाललाई नयाँ बाटोमा लैजानेछ। सुनसरी क्षेत्र नं. ३ मा पनि परिवर्तनको स्वर्णीम सूर्योदय हुनेछ। जनतालाई कुनै डर, त्रास, लोभ लालच नराखी निष्पक्ष ढंगले सूर्य चिन्हमा मतदान गरिदिनु आग्रह गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.