|

धनकुटा : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माहोल तातेको छ। चियापसलदेखि चोकचोकमा तथा गाउँका कुना कुनामा चुनावकै चर्चा चलिरहेको छ।

धनकुटामा प्रतिनिधिसभाका लागि १ तथा प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र छन्। धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि ७ जना चुनावी मैदानमा छन्। ७ जनामध्ये ३ जना तत्कालीन मुगा गाविसका रहेका छन्।

प्रत्यक्षतर्फ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादन सदस्य सुनिलबहादुर थापा, एमालेका केन्द्रीय सदस्य राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमारबहादुर थापा तत्कालीन मुगा गाविसका हुन्।

प्रतिनिधिसभामामै समानुपातिकको बन्द सूचीमा रहेका जनता समाजवादीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापा र प्रदेशसभाको बन्द सूचीमा रहेकी नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि इन्दिरा थापा समेत यही ठाउँकी हुन्।

यसरी हेर्दा तत्कालीन धनकुटा जिल्लाको मुगा गाविस जिल्ला राजनीतिमा धेरै पहुँच राख्ने क्षेत्र हो भन्दा फरक नपर्ला। पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गृह क्षेत्र समेत रहेको मुगाबाट यो निर्वाचनमा समेत सबैभन्दा बढी उमेदवार पर्न सफल भएका छन्।

त्यस्तै पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका सन्तान सहित दाजुभाइका छोराछोरी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली काँग्रेसबाट स्व. सूर्यबहादुर थापाका छोरा नेपाली सुनिलबहादुर थापा सत्तारुढ गठबन्धनका तर्फबाट धनकुटा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। उनकी फुपू इन्दिरा थापा पनि नेपाली काँग्रेसबाटै समानुपातिकतर्फ प्रदेशसभा सदस्यकी उम्मेदवार छन्।

इन्दिरा सूर्यबहादुर थापाका बुवा टेकबहादुर थापाका दाजु वसन्तमानसिंह थापाकी छोरी हुन्। त्यस्तै राप्रपा धनकुटाका अध्यक्ष कुमार थापा पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। उनी सूर्यबहादुर थापाका भाइ चकेन्द्रबहादुर थापाका छोरा हुन्। कुनै वेला काका सूर्यबहादुर थापाका लागि राजनीतिक सारथी थिए। उनी आफ्नै काका सूर्यबहादुर थापाका छोरा तथा कांग्रेस नेता सुनिलबहादुर थापासँग प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

त्यसैगरी सूर्यबहादुर थापाका हजुरबुवा टेकबहादुर थापाका भाइ कृष्णबहादुर थापाका नाति अर्जुन थापा पनि चुनावी मैदानमा छन्। जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख रहेका उनी योपटक प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका छन्।

यसअघिका निर्वाचनमा पनि दुई कार्यकाल यसै क्षेत्रका सुनिलबहादुर थापा र राजेन्द्र राई विजयी भइसकेका छन्। थापाले २०७० सालका दोस्रो संविधानसभा निर्वाचनमा राईलाई पराजित गर्दै विजयी भए भने अघिल्लो निर्वाचनमा राईले थापालाई पराजित गरे। तत्कालीन मुगा गाविस अहिलेको पाख्रिवास नगरपालिका वडा नं. ७ र ८ बनेको छ। राईको घर अहिले वडा नं. ७ मा पर्छ भने राईदेखि बाहेकका अन्य उम्मेदवारको भने वडा नं. ८ का रहेका छन्।

यो निर्वाचनमा यो क्षेत्रबाट सबैभन्दा बढी नेताले प्रतिस्पर्धा गरिरहँदा त्यहाँका स्थानीयलाई भने कुनै चासो छैन। पटकपटक यसै क्षेत्रका उम्मेदवार विजयी भए पनि उनीहरूले विकासका लागि कुनै चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ।

स्थानीय मीनादेवी भुजेलले नेताहरूको हारजित तथा उम्मेदवारीले आफूहरूलाई कुनै फरक नपर्ने बताउँछिन्। ‘जितेर जानेहरू पो खुशी हुन्छन् त हामी त कसरी खुशी हुनु? आफ्ना समस्या आफैँसँग छ‚ कसैले केही गर्ने होइनन्’‚ भुजेलले भनिन्।

त्यसो त अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुँच सहित जीविकोपार्जन र रोजगारीको विषयमा निकै पछि छ। शिक्षा लिन बालबालिकाले घण्टौँ धाउनुपर्ने बाध्यता अहिले पनि छ। जटिल उपचारका लागि धनकुटा तथा तराईकै अस्पताल धाउनुपर्ने बाध्यता छ। रोजगारी र सुविधाका लागि बसाइँ सर्नेको लर्को पनि उत्तिकै छ।

जग्गा जमिन धेरै बाँझो रहेको स्थानीयको गुनासो छ। नेताहरू चुनावका वेला यिनै विषय उठान गरी मत माग्न आउने तर जितेर गएपछि जनतालाई समस्या पर्दा नहेर्ने गरेको स्थानीय प्रेम भुजेलको आरोप छ।

सबैभन्दा बढी उम्मेदवार मुगाबाट पर्दा खुशी लागे पनि जितेर गएपछि आफ्नो क्षेत्रको विकासमा खासै ध्यान नदिने भएकाले खुशी हुनुको अर्थ नभएको स्थानीय भैरवबहादुर मगरको भनाइ छ। अब विजयी हुने उम्मेदवारलाई जनताका सुखदुःखमा साथ दिन तथा तथा स्वास्थ्य, शिक्षा, सडक पहुँच र रोजगारीको विषयमा ध्यान दिन मगरको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.