|

म्याग्दी : मौसम चिसिँदै छ। भित्र्याउने वेलाको बालीमा पानी परेर क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले किसान बिहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन्। ​मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिँडेका छन्।

दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन्। खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन।

निर्वाचन नजिकिँदै गर्दा दलका नेता तथा कार्यकर्तामा निकै उत्साह थपिए पनि आम मतदातालाई वास्ता छैन। एकातिर कामको चाप छ, अर्कोतिर विगतका निर्वाचनमा भोट दिएर पठाएका जनप्रतिनिधिको व्यवहारले मन कुँडिएको छ। यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन।

म्याग्दीको बेनी नगरपालिका २ का नारायण सापकोटाले  विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी प्रचार–प्रसारमा हिड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताए। ‘भोट माग्न आउँछन्, चुनाव जितेर गए पछि वास्तै गर्दैनन्’, उनले भने चुनावको समयमा मात्र जनता आवश्यक पर्ने अरु समयमा जनतालाई नखोज्ने, जनताको समस्या समाधानमा कोही पनि लाग्नुभएन।’ सबै नेताहरु दलगत र व्यक्तिगत स्वार्थमा मात्र लाग्ने गरेको उनको बुझाइ छ।

मालिका गाउँपालिका २ रुम बेलीका जगवहादुर विकले  चुनाव जितेर गएपछि नेताहरुको अनुहारै देख्न नपाइने बतए। गाउँमा विकास पनि नभएको र दुःखी गरीबहरुको अवस्थामा सुधार पनि नआएको उनको गुनासो छ। ‘नेताहरुप्रति विश्वास नै लाग्न छोड्यो। आफ्नो स्वार्थको लागि मात्रै लड्छन्, जनताको वास्तै गर्दैनन्,’ उनले भने, ‘चुनाव जितेर गएपछि जनता बिर्सने रोग हाम्रा नेताहरुलाई लागेको छ।’

त्यस्तै मंगला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको वेला बाहेक अरु समयमा नेताहरूले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको बताए । ‘आफ्ना कार्यकर्ताबाहेक अरु जनताको नेताहरुलाई अघिपछि वास्ता नै हुँदैन,चुनाव आयो भने बल्ल जनता चाहिन्छ,’ उनले भने, ‘चुनाव जितेर गएपछि गाउँ फर्केर नआउने चाड–पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरु पनि कहिलेकाँही जिल्लामा आए पनि आफ्ना आसे–पासेलाई मात्रै भेटेर फर्किने गरेका छन्।’ त्यसो हुँदा यस पटक सर्वसाधारण जनतामा निर्वाचनप्रति खासै उत्साह नभएको उनले बताए ।

त्यस्तै, म्याग्दी क्याम्पसका भूतपूर्व प्रमुख कृष्णबहादुर थापा भोट दिएर जिताएको प्रतिनिधिले जनताको मन जित्ने गरेर काम गर्न  नसकेको बताउँछन्। ‘जनताले सुशासन चाहेका छन्, आफ्ना हकको उपयोग निर्वाध रूपमा गर्न चाहन्छन् जनता तर, नेताहरुे भनसुन बिना कहिकतै केही कामै नहुने भए पछि जनताले आफैलाई धिक्कार्दै नेता गुहार्न बाध्य हुन्छन्’, उनले भने, ‘तर,दलका नेताले जनताका सामान्य काममा पनि पक्षपात गर्ने र पूर्वाग्रह देखाउने गर्दा जनता राजनीतिप्रति उदासीन रहने पाइएको हो।’

जनप्रतिनिधिले जनताका समस्या बुझ्न नसकेको म्याग्दीका अधिकांश मतदाताको भनाइ छ। ‘हाम्रा नेता निर्वाचित भएपछि गाउँलाई नै  बिर्सन्छन्’, बेनी नगरपालिका ५ का शिव जिसीले भने, ‘चुनाव जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति नेताले सुधार गर्दै राजनीति गर्ने मान्छेले जनतासँगको सामीप्य सधैँ कायम राखिराख्नुपर्छ।’

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच\पाँच जना उम्मेदवार छन्। 

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन्। बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभर जम्मा ८६ हजार १२० जना मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.