|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। 

सत्ता गठबन्धनमा रहेका दल सहित एमालेले पनि स्वास्थ्यका विषयलाई महत्त्व दिएको छ। एमालेले मुख्यतया स्थानीय तहमा हाल निर्माण भइरहेका ५‚ १० र १५ शय्याको स्थानीय तह आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरेर समयमै अस्पताल सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा महत्त्वाकांक्षीका साथ समावेश गरेको छ। एमालेले आफ्नो घोषणापत्रमा भनेको छ‚ ‘शिलान्यास गरेका पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने।‘

हुनत केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला २०७७ मंसिर १५ गते एकै दिन सबै स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गरेका थिए। आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकैपटक तामझामका साथ शिलान्यास गरिएको थियो।

निर्माण शुरु गरेको दुई वर्षभित्र सक्ने गरी योजना अघि बढे पनि अहिलेसम्म एउटा पनि अस्पताल निर्माण भएको छैन। मंसिर १५ गतेसम्म ३९६ वटा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य थियो तर निर्धारित समय सकिन एक महिनाभन्दा कम समय छँदा पनि एउटा पनि आधारभूत अस्पताल निर्माण भएको छैन। 

हाल निर्माण भइरहेका स्थानीय तह अस्पतालहरूको प्रगति विवरण हेरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य निरीक्षक विनोद अर्यालले मंसिरसम्म कुनै पनि अस्पतालको निर्माण सम्पन्न हुन मुस्किल रहेको बताए। ‘हालसम्म ओखलढुंगामा एउटा अस्पताल मात्रै निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको भन्ने हामीलाई जानकारी आएको छ। अरू सबै ठाउँमा भने निर्माण प्रक्रियामा छन् तरमंसिर १५ गतेसम्म सम्पन्न भने हुन गाह्रो छ’‚  उनले भने।

मन्त्रालयका अनुसार हालसम्म पहिलो चरणमा निर्माण शुरु गरिएका ३९६ अस्पतालमध्ये २०७९ असार मसान्तसम्म ३०० वटा अस्पतालका लागि बजेट निकासा भएको छ। १३ ठाउँमा भने जग्गा विवाद भएकाले  निर्माण शुरु नै भएको छैन। अन्यत्र पनि विविध समस्या देखिएको मन्त्रालयले जनाएको छ।

आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकैपटक तामझामका साथ शिलान्यास गरिएको थियो।

दोस्रो चरणमा २५९ स्थानीय तहमा निर्माण गर्ने गरी योजना अगाडि बढाइएको थियो। पहिलो चरणमा बनाउने भनिएका अस्पतालका लागि २०७७ मंसिर ४ मा ५१ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ सुनिश्चित गरिएको थियो।

यसैगरी दोस्रो चरणमा निर्माण हुने अस्पतालका लागि सोही वर्षको २१ पुसमा थप २५९ स्थानीय तहका लागि पनि सोही मोडलका अस्पताल भवन निर्माण गर्न बजेट छुट्याइएको थियो तर निर्माण शुरु गरेको दुई वर्षभित्र सक्ने गरी योजना अगाडि बढे पनि अहिलेसम्म एउटा पनि अस्पतालको निर्माण सम्पन्न भएर औपचारिक रूपमा निर्माण सम्पन्न गरेका छैन।

यस्तै एमालेले काठमाडौं उपत्यकामा ३ सय शय्या र सातै प्रदेशमा ५०‚ ५० शय्याका सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। घोषणापत्रमा भनिएको छ‚ ‘काठमाडौँ उपत्यकामा ३०० शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने। जटिल र घातक प्रकृतिका रोगको उपचारका लागि अन्तरराष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण सम्पन्न गर्न।‘

विज्ञहरूले थप अस्पताल बनाउनुभन्दा पनि भएका अस्पतालमा जनशक्ति थप गर्दै विशिष्टीकृत बनाउँदै लानुपर्ने बताउँदै आएका छन्। हाल टेकुमा रहेको एक मात्रै सरुवा रोग अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग) अस्पताल नै जनशक्तिको अभावमा पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। केही समयअघि मात्रै ६८ जना करारका कर्मचारी कटौती भएपछि टेकु अस्पतालमा रहेको २१ शय्याको आईसीयू सेवा बन्द भएको थियो।

भएकै अस्पताललाई विशिष्टीकृतरूपमा विस्तार गर्दै सञ्चालन गर्नुपर्ने अवस्थामा थप अस्पताल खोल्नु भनेको गुणस्तरीय स्वास्थ्यसेवा प्रभावित हुनु रहेको बताउँछन् स्वास्थ्य मन्त्रालयकै एक अधिकारी। हालको स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय र विशिष्टीकृत गराउँदै लैजानुपर्ने अवस्थामा नयाँ अस्पताल खोल्नु त्यति उचित होइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.