​गर्बुजा र श्रेष्ठ दुवैले जित्‍ने दाबी

|

म्याग्दी : राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित जिल्ला हो म्याग्दी। पञ्चायत कालका सदाबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कूटनीतिलाई सँगसँगै अघि बढाएका थिए। गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ।

म्याग्दीमा निर्वाचनताका अनौठा कूटनीतिक खेलहरू हुने गर्दछन्। छक्का पञ्जामा आधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने गरेको पञ्चायतकाल देखिकै इतिहास म्याग्दीमा छ।

यसपटक पनि म्याग्दीको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा निर्वाचन कार्यालयले नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदार हरिकृष्ण श्रेष्ठ र गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खमबहादुर गर्वुजा (खम्वीर) लाई लिखित स्पष्टीकरण माग गरिसकेको छ।

दुवै पक्षले स्पष्टीकरण दिएसँगै म्याग्दीमा निर्वाचनको ताप बढेको छ। एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट श्रेष्ठ र गठबन्धनको तर्फबाट गर्बुजा चुनावी मैदानमा छन्।

२०७० र २०७४ को निर्वाचनमा एमालेले विजय प्राप्त गरेको म्याग्दीमा एमालेका उम्मेदवार श्रेष्ठलाई त्यो विरासत कायम गर्ने ठूलो चुनौती छ भने गठवन्धनका उम्मेदवार गर्बुजालाई एमालेको गढ ध्वस्त गरेर नयाँ इतिहास कायम गर्ने चुनौती छ।

गर्बुजा यसअघिका दुईवटा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए।  ०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो। यसपटक माओवादीको साथ कांग्रेसलाई छ। त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४ मंसिरको सरगर्मी बढिसकेको छ। यहाँ मुख्य रूपमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र सत्ता गठबन्धनका उम्मेदवार रहेका कांग्रेसका खमबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। विगतको स्थानीय तहको चुनावको मतपरिणाम विश्लेषण गर्दा सत्ता गठबन्धनमा आबद्ध दलको मत बढी देखिएको छ। तर, यहाँ एमाले पनि निकै बलियो शक्तिका रूपमा रहेको छ।

जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र (क) मा हरिबहादुर भण्डारी र (ख)मा रेसम जुग्जाली उम्मेदवार बनेका छन्। एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेश सभा (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख)मा यामबहादुर गर्बुजा मैदानमा छन्।

संसदीय निर्वाचनको इतिहास पल्टाउँदा म्याग्दीमा कांग्रेस, एमाले र माओवादीले सफलता पाएको रेकर्ड छ। ०५६ मा कांग्रेस, ०६४ मा माओवादी तथा ०७० र ०७४ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए।

०७४ मा एमाले र माओवादीले गठबन्धन गरेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार विजयी भएका थिए भने प्रदेशसभा (क) मा माओवादीका उम्मेदवार विजयी भएका थिए।

यसपटक कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन छ भने एमाले एक्लै चुनावी मैदानमा छ। एमाले लगातार तेस्रो जितको खोजीमा छ भने सत्तागठबन्धन उसलाई रोक्दै एमालेको गढ भत्काउन चाहन्छ।

स्थानीय तहको मत विश्लेषण

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित १७ वटा वडा र माओवादीले दुई पालिका उपप्रमुखसहित ६ वटा वडा जितेको थियो।

जिल्लामा रहेका ४५ वटै वडाहरूमा दलहरूका उम्मेदवारहरूले पाएको मतको आधारमा गठबन्धनका दल एमालेभन्दा बलियो देखिन्छन्। एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९० मत ल्याएका थिए। त्यही कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय ७० र माओवादीका वडाध्यक्षका उम्मेदवारले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए।

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवार निर्विरोध भएका थिए। सो मतबाहेककै पनि म्याग्दीमा एमालेभन्दा गठबन्धनसँग पाँच हजार तीन सय ७२ मत बढी रहेको देखिन्छ।

निर्वाचन आयोगका अनुसार म्याग्दीमा अहिले ८६ हजार एक सय २० मतदाता छन्। स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता थप र अद्यावधिकमार्फत सात सय ४५ जना नयाँ मतदाता थपिएका छन्।

तीमध्ये पुरुष ४२ हजार ५५ र महिला ४४ हजार ६४ छन्। गत वैशाखको स्थानीय निर्वाचनमा जिल्लामा ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार चार सय ५६ मत खसेको थियो।

उम्मेदवारका आ-आफ्नै दाबी

प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) कांग्रेसका जिल्ला सभापतिसमेत हुन्। गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन्। यसअघि लगातार दुईपटक पराजय व्यहोरेका गर्बुजा यसपटक माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ लिएर पहिलो जितको खोजीमा छन्।

एमाले उम्मेदवार श्रेष्ठ एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हुन्। तत्कालीन अर्थुंगे गाविसको अध्यक्ष भइसकेका श्रेष्ठसँग जनप्रतिनिधिको अनुभव छ।

यस्तै, स्थानीय तह निर्वाचनमा जिल्लाका ६ मध्ये ४ स्थानीय तहको प्रमुख जितेर पहिलो ठूलो दल बनेको हौसला पनि छ। एमालेको सांगठनिक बल त छँदै छ।

प्रदेश सभातर्फ  (क) मा गठबन्धनबाट माओवादीका  हरि भण्डारी उम्मेदवार छन्। ३७ वर्षका भण्डारी युवाको जोससहित मैदानमा उत्रिएका छन्। उनीसँग ५७ वर्षका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल मुख्य प्रतिस्पर्धी देखिन्छन्।

यस्तै, (ख)मा गठबन्धनबाट माओवादीका रेशम जुग्जाली र एमालेका यामबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धी हुन्। माओवादी म्याग्दीका जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिका ७ का निवर्तमान वडाध्यक्ष हुन्।

विकास र समृद्धि सबैका एजेन्डा

म्याग्दीका उम्मेदवारहरूले विकास र समृद्धिको एजेन्डा अघि सारेका छन्। हिमाली जिल्ला म्याग्दी केन्द्रसँगको राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आमनागरिकको गुनासो छ।

जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर थप विकासका योजनाका लागि बजेट भित्र्याउन नसकेको गुनासो आउने गरेको छ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार गर्बुजा एमालेले पटक–पटक म्याग्दीको नेतृत्व गर्दा जिल्लाको विकासमा काम गर्न नसकेकाले आफू समग्र विकासमा सुधार ल्याउने अठोटसहित अघि बढेको बताउँछन्।

‘म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहना पूरा गर्ने एजेन्डा लिएर आएका छौँ,’ गर्बुजाले नयाँ पत्रिकासँग भने। जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले सडकलगायतका भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको सुधारका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ।

एमाले उम्मेदवार श्रेष्ठले पनि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा कृषिको व्यावसायीकरणको एजेन्डा अघि सारेका छन्। सदरमुकामदेखि सबै पालिका जोड्ने सडक कालोपत्रे गर्ने, जिल्लामा सुस्त गतिमा रहेका राष्ट्रिय गौरवका योजनाहरूलाई तीव्रताका साथ पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.