मकवानपुर–२ का विरोध खतिवडा‚ महेश वर्तौला र राजन मैनाली

|

हेटौंडा : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउसहित उम्मेदवार घरघर पुगेका छन्।

राष्ट्रिय राजनीति र स्थानीय मुद्दालाई बोकेर उम्मेदवारहरू आफ्ना लागि भोट मागिरहेका छन्। स्थानीय बासिन्दाका आवश्यकताअनुसार उम्मेदवारहरू आश्वासन बाँड्दै हिँडिरहेका छन्।

मकवानपुर–२ का उम्मेदवारहरूले पनि अहिले स्थानीयका समस्यालाई चुनावी एजेण्डा बनाएका छन्।

पुरानादेखि नयाँसम्मका सबै उम्मेदवारले यतिवेला मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को विकट गाउँमा रहेको गाँजालाई चुनावी एजेण्डा बनाइरहेका हुन्। नेपालको कानुनले अवैध लागूऔषध भनेको गाँजालाई उम्मेदवारहरूले वैध बनाउने आश्वासन दिँदै भोट मागिरहेका छन्।

मकवानपुरको २ नम्बर क्षेत्रका राक्सिराङ र कैलास गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हुन्। यी गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको तामाङ समुदायको बसोवास छ।

पछि परेका यी दुई गाउँपालिकाका बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारीबाट मात्रै होइन गाँसवासका लागि पनि संघर्षरत छन्।

चेतनाको कमी रहेको त्यहाँ लागूऔषध गाँजा र चरेस उत्पादन र बिक्री वितरण हुने गरेको छ। प्रहरीले वर्षेनि प्रहरी परिचालन गरेर त्यहाँ लगाइएको गाँजा र चरेसजस्ता लागूऔषध फँडानी गर्ने गरेको छ।

केही हजारको प्रलोभनमा परी गाँजा ओसारपसार गर्न पुगेका त्यहाँका सयौंजना भीमफेदी कारागारमा कैदी जीवन काटिरहेका छन्। बेरोजगारीले पिल्सिएका त्यहाँको चेपाङ र तामाङ समुदायका व्यक्ति केही हजार पाउने आशामा निश्चित दूरीसम्म गाँजा ओसारपसार गर्न तयार हुन्छन् र प्रहरीको फन्दामा पर्छन्।

जसले गर्दा हालसम्म उक्त गाउँपालिकाको हरेक टोलका सयौं युवा भीमफेदी कारागारमा पुगेका छन्।

चेपाङ र तामाङहरूका लागि एउटा ठूलो समस्या बनिरहेको सोही गाँजालाई लिएर मकवानपुरका उम्मेदवारहरू यतिवेला गाउँगाउँ छिरिरहेका छन्।

अवैध लागुऔषध उत्पादन र ओसारपसार गरेकै कारण सयौं जना जेल जीवन बिताइरहेको अवस्थामा राजनीतिक दलका नेताहरू नै गाँजालाई वैध बनाउने आश्वासनसँग भोट साट्न खोजिरहेका छन्।

उक्त निर्वाचन क्षेत्रबाट लगातार ४ पटक चुनाव जितेका पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले गाँजालाई वैध बनाएर त्यहाँका बासिन्दाको जीवनस्तर उकास्ने आश्वासन दिइरहेका छन्।

यसअघिको निर्वाचनमा पनि उनले गाँजालाई वैध बनाउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा गर्न भने सकेका छैनन्। खतिवडाले यो निर्वाचन क्षेत्रबाट चुनाव जितेर गएपछि संसदमा गाँजालाई वैध गराउनुपर्छ भनेर आवाज उठाएका थिए।

उनले विभिन्न विकसित मुलुकमा वैध रहेको गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने गरेको भन्दै नेपालमा पनि वैध गराउनुपर्ने बताएका थिए। उनले संसदमा यसलाई वैध बनाउन प्रस्ताव पनि गरेका थिए तर त्यो पूरा भने भएन।

अघिल्लो निर्वाचनमा बाँडेको आश्वासन लिएर यो निर्वाचनमा पनि उनी होमिएका छन्। ‘मकवानपुरमा उत्पादित गाँजालाई वैधानिक ढंगले अन्तरराष्ट्रियकरण गर्नुपर्छ’, खतिवडा भन्छन्। यसबाट नेपाली किसानको आय आर्जन बढाउन सक्ने उनको दावी छ।

यसैगरी राप्रपाबाट सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार राजन मैनाली पनि यतिवेला गाँजाको आश्वासन बोकेर गाउँमा भोट मागिरहेका छन्। उनी गाँजाबाट गाउँका बेरोजगार युवालाई रोजगार बनाउनेसम्मका भाषण गर्दै हिँडेका छन्।

गाँजालाई अन्तरराष्ट्रियकरण गरेर आफ्नो क्षेत्रको विकास गर्ने उनको दावी छ। गाँजा बहुउपयोगी, वातावरणमैत्री र कम खर्चमा उत्पादन हुने भएकाले यसको व्यावसायिक खेतीबाट जनताको आर्थिक विकास गर्ने उनको कथन छ।

गाँजाबाट समग्र देशकै विकास गर्न सक्ने उनको भनाइ छ। उनले आफू विजयी भएमा गाँजा उत्पादन, ओसारपसार र सेवन गरेकै कारण जेलमा परेकालाई आफ्नो पारिश्रमिक दिनेसम्मको प्रतिबद्धता जनाएका छन्।

मैनालीले हाल मकवानपुरमा ‘जय देश, जय चरेस’ नारासहित चुनावी अभियान सञ्चालन समेत गरिरहेका छन्। उनले आफू निर्वाचित भएपछि एक वर्षभित्र सरकारसँग लडेर भए पनि गाँजालाई वैधानिक बनाउनुका साथै कारागारमा रहेकाहरूलाई छुटाउनेसम्मको आश्वासन बाँड्न भ्याएका छन्।

एमालेबाट सोही क्षेत्रमा उम्मेदवार बनेका युवा नेता महेश बर्तौला पनि गाँजाको उत्पादनलाई विकासतर्फ जोड्न सक्ने बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.