|

पर्वत : वर्षौं पहिलेसम्म हिउँदको समयमा कालीगण्डकी नदी सतहमा आधुनिक शैलीका डुंगामा तैरिएर बगिरहेका साहसिक खेलाडीहरू देखिन्थे। पर्वतको नयाँ पुल, मालढुंगा लगायतका ठाउँबाट र्‍याफ्टिङ शुरु गरेकाहरू पानी सतहमा बहँदै जिल्लाको दक्षिणी क्षेत्रसम्म पुग्ने गरेका थिए।

त्यसरी खेल्दै गएकाहरू रात परेपछि कालीगण्डकी किनारमा नै पाल हालेर गासवास मिलाउँथे तर वर्षौं भयो यसरी बग्दै र्‍याफ्टिङ को मजा लिँदै कालीगण्डकी नदीमा बगिरहेकाहरू देख्न छाडेको। र्‍याफ्टिङ गर्न इच्छुकहरू पर्वतमा भए पनि जिल्लामा र्‍याफ्टिङ गराउने व्यावसायिक संस्था छैनन्। कहिलेकाहीँ पोखराका केही संस्थाले आन्तरिक तथा बाह्य पर्यटकहरू लिएर पर्वतमा आए पनि उनीहरूले यसलाई निरन्तरता दिएका छैनन्।

पोखरामा रहेका र्‍याफ्टिङ सम्बन्धी व्यवसायीहरूले सवारीमा पर्यटक बोकेर झन्डै डेढ घण्टाको यात्रा गरेर पर्वत आइपुग्नुपर्छ। दूरी लामो भएका कारण पनि पोखराबाट पर्यटकहरू र्‍याफ्टिङ का लागि मात्रै आउँदैनन्। आउन मन लागे पनि पर्वतमा यस सम्बन्धी सुविधा छैनन्।

बन्जी जम्प, जिप लाइन, स्काई साइक्लिङ, स्काई चेयर, स्वीङ, रक क्लाइम्बिङ लगायतका साहसिक खेल सञ्चालनमा रहेको पर्वतमा अब फेरि र्‍याफ्टिङको मजा लिन पाइने भएको छ। साहसिक खेलहरू मार्फत पर्यटक भित्र्याउँदै गरेको पर्वतको कुश्मामा रहेको हार्नेस जिप लाइन तथा एडभेन्चर रिसोर्टले अब कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) पनि सञ्चालनमा ल्याउने भएको हो।

कम्पनीका सञ्चालक सुनिल बानियाका अनुसार जलयात्राका लागि प्रख्यात कालीगण्डकी नदीमा अब नेपाली र विदेशीले जलयात्राको मनोरञ्जन लिन पाउनेछन्।

कम्पनीले हालै मात्र केही विदेशीलाई जलयात्रा गराएर यसको परीक्षण र सम्भावनाको बारेमा अध्ययन गरेको छ। छोटो दूरीमा जलयात्रा गर्न चाहनेले २ घण्टा र लामो यात्राका लागि २ देखि ३ दिनसम्मको यात्रा गराउने गरी कम्पनीले तयारी गरेको छ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका छन्। आधा दर्जन जति कम्पनीमार्फत नदीमा र्‍याफ्टिङ हुँदै आएको छ।

लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिकहरू अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्। र्‍याफ्टि का लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ।

अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढ्ने गरेको छ। कोरोना सङ्क्रमणका वेला सुस्ताएको जलयात्राले पुनः गति लिन सक्ने देखिएको छ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुंगादेखिबाट शुरु हुने र्‍याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ। तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ। कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्छन्। विभिन्न देशका पर्यटक आउने गरेका छन्।

विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटकहरू नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन्। कालीगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरूको भनाइ छ।

अमेरिका र अस्ट्रेलियालगायतका नदीहरूमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकहरूको आकर्षण बन्न पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.