|

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको ट्रयाक खुलेको २५ वर्ष पुग्यो। सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन।

सडक निर्माण भएपछि धेरै पटक निर्वाचन भए। अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारहरूले यो सडक कालोपत्रे गर्ने विषयलाई मुख्य एजेण्डा बनाउँदै आए तर काम भने भएन।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरूले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्रे गर्ने लेखेका छन्। हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्रे नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके। नेताहरूले भोट फुत्काउन आफूहरूको आँखामा छारो बर्साएको मतदाता बताउँछन्।

काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्छन्, ‘सडक कालोपत्रे गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ। चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्। अहिलेसम्म कालोपत्रे गर्छौँ भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ। अहिले पनि फेरि सडक कालोपत्रे गरेरै छोड्छौँ मत दिनुहोस् भन्दै आएका छन्।’

कँडेलले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधिहरू गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुन सक्ने बताउँछन्। सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्रे नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको उनले बताए। वर्षातमा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको कँडेलको भनाइ छ।

‘हामीले यो सडकको हिलो र धुलो खाएर बसेको २२-२५ वर्ष भयो, हिउँदमा धुलोले घरै देखिदैन। सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने बिस्तरासम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ’, कँडेलले भने, ‘सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौँ भयो, नेताहरूले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ। हिलो र धुलोका कारण यो क्षेत्रबाट धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन।’

स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले ६ महिनाभित्रै कालोपत्रे गर्छु भनेर आश्वासन देखाएको भन्दै जितेर एकपटक आफूहरूलाई भेट्न समेत नआएको बताए। उनले सडक बनाउने प्रतिबद्धता व्यक्त गरेपछि आफूहरूले मत दिएको र उक्त मत खेर गएको बताउँछन्।

‘अघिल्लो निर्वाचनमा एकजना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एक पटक हामीलाई धन्यवादसमेत भन्न आउनु भएन’, पुनले भने।

उनले यो सडकको कारण वर्षौँदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताए। पुनले आफूहरूले सडक कालोपत्रेका लागि बारम्बार निर्माण कम्पनी र नेताहरूलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले भोट माग्न उम्मेदवारहरूले अनेक आश्वासन दिएको भन्दै योपटक भने सोचेर भोट हाल्ने बताए।

यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फेर्नुपर्ने गाडी चालक लोकेन्द्र घर्ती बताउँछन्। उनले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नु परेको बताए। घर्तीले यो सडकका कारण गाडी व्यवसायीहरूले समय–समयमा दुःख पाइराखेको बताए।

‘यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, शुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने?’, उनले भने, ‘सडकको दुरवस्थाका कारण कैयौँपटक गाडीको टायर पड्किएर, पट्टा भाँचिएर सडकमै वास बस्नु परेको छ। यहाँका नेताहरू के भएका हुन्, चुनावका वेला छिटै कालोपत्रे गर्छौँ भन्छन्, अरू वेला वास्तै गर्दैनन्।’

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रेका लागि २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए।

निर्माण शुरु भएको यतिका वर्षसम्म कालोपत्रे हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.