|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ पाखाथरका कृषकहरूलाई सधैँको पिरलो खिर खाने खोलामा आउने बाढीको छ। सदरमुकाम कुश्मामा आइपुग्दा डम्डारे खोलाको नाममा चिनिने खोलाको माथिल्लो क्षेत्र खिर खाने खोला हो।

सोही खोलामा हरेक बर्खामा आउने बाढीले सिँचाईको मुहान लछारपछार पारिदिन्छ, झण्डै दुई सय मुरी धान फल्ने खेतले पानी पाउँदैन।

यस वर्ष भने समयमा नै कुलो मर्मत गरेपछि धान काटे लगत्तै हिउँदे खेती तथा तरकारी खेती गर्न सकिने भएको छ।  भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘खिर खाने डाँडा पानी तथा पहिरो नियन्त्रण’ कार्यक्रम अन्तर्गत पाँच लाखको लागतमा सिचाईँको कुलोको मर्मत गरिएको हो।

 कुश्मा नगरपालिका–३ दुर्लुङमा पर्ने खिर खाने खोलामा दुर्लुङको डाँडादेखिको बाढी आउँदा हरेक वर्ष खोला गहिरिँदै गएको छ। जति नै मर्मत गरे पनि हरेक वर्षको बाढीले मुहान र कुलो नै भत्काएर लैजाने गरेको छ।

‘पहिरो सबै नियन्त्रण गर्नका लागि तथा बजारमा क्षति हुन नदिनका लागि खोलाका ठाउँ–ठाउँमा चेक ड्याम बनाउनुपर्छ। त्यसका लागि एक डेढ करोड नै बजेट चाहिन्छ। त्यति धेरै बजेट यसका लागि हाम्रो कार्यालयमा नआउने भएका कारण तत्कालका लागि सिँचाई त हुनुपर्छ भनेर काम गरिएको हो’, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकार पौडेल भन्छन्, ‘हरेक वर्ष खोलामा ग्याबीन जाली भर्दै गइन्छ, तर बाढीले ध्वस्त पार्दै लैजान्छ। बचेका जाली त्यहीँ हुन्छन्, नभएको ठाउँमा बर्षेनी जाली भर्दै कुलो बनाउँदै, बाढी नियन्त्रणको प्रयास गरिरहेका छौँ।’
गण्डकी प्रदेश  सरकार अन्तरगत वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयबाट विनियोजन भएको पाँच लाख बजेटले वडा-३ देखि वडा- ४ सम्मको झण्डै आधा किलोमिटरको दूरीमा रहेको खेतमा सिँचाई सुविधा पुगेपछि अब हिउँदे खेती गर्न सकिने भएको स्थानीय केशव उपाध्यायले बताए।

खोलामा ४५ वटा ग्याबीन जाली भरेपछि खोलाको पानीलाई सिँचाई कुलोमा फर्काउन सकिएको र त्यसले कृषकलाई ठुलो राहत मिलेको उनको भनाइ छ।

‘पाखाथरमा निकै उत्पादनयोग्य भूमि रहेको छ। बर्खामा धान लगाउने खेतमा हिउँदमा राम्रो तरकारी फलाउनेदेखि गहुँ खेती पनि हुने गरेको छ। समयमा नै सिचाईँको प्रबन्ध हुन नसकेको भए ५० रोपनी खेत बाँझो हुन्थ्यो’, उनले भने, ‘एउटा कार्यालयको पाँच लाखको बजेटले सिचाईँको सहित बाढी रोक्ने सामान्य तटबन्धको काम गरिएको भए पनि संघीय सरकारले नै यहाँको पहिरो नियन्त्रणका लागि बजेट दिनुपर्छ। यही पहिरो कुनै दिन बस्ती नै बगायो भन्ने स्थिति नआउला भन्न सकिन्न। बाढी नियन्त्रणमा सबैको चासो आउनुपर्छ।’

भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख पौडेलले उक्त खोलाको बाढीले भू तथा जलाधार व्यवस्थापन कार्यालय सहित आसपासमा रहेको बस्तीलाई नै हरेक बर्खामा जोखिममा पार्ने गरेको बताए।

 दुर्लुङको सल्यान क्षेत्रको बाढी एकै ठाउँमा मिसिएर तलसम्म आइपुग्दा बाढीले ठुला ढुङ्गाहरू नै पल्टाउँदै ल्याउने गरेकाले खेतबारी र बस्ती नै हरेक वर्ष जोखिममा रहेको उनको भनाइ छ।

अहिले भरिएको ग्याबीन जालीले बाढीको सानो वेगलाई सामान्य ‘चेक ड्याम’ को काम गर्न सक्ने भए पनि ठुलो बाढीले भरिएका जाली नै बगाउने गरेको छ। अहिले भरिएको जालीले खेतलाई सिचाईँको व्यवस्था त भयो नै मध्यपहाडी लोकमार्गको डम्डारे खोलाको अवस्थालाई पनि सहज बनाउन सहयोग गरेको छ।

 खोलामा आउने बाढीले बगाएर ल्याएको गेगर मध्यपहाडी लोकमार्गमा थुप्रिएर कुश्मा–बागलुङ सडक नै बिग्रने गरेको छ। तर अहिले लगाइएको जालीले केही हदसम्म भए पनि गेगरलाई नियन्त्रणमा राख्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.