करिब डेढ अर्ब रकम भैसक्यो खर्च

|

काठमाडौं : बागमती किनारको सौन्दर्यीकरण(ब्युटिफिकेशन) का लागि ०७३ मंसिर १ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र कालिका–रमन–लामा संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता भयो।

ठेक्का सम्झौताअनुसार ०७५ माघ १८ गतेसम्म सबै काम सम्पन्न गर्नुपर्ने थियो तर बिडम्बना! म्याद सकिएको ४ वर्ष बितिसक्दा पनि अझै काम सकिएको छैन। ढल बग्ने बागमती निकै सुन्दर, सफा र स्वच्छ भइसक्नु पर्नेमा अहिले पनि उसको पुरानै ‘ढलमती’ स्वरुप कायमै छ।

सम्झौताअनुसार बागमतीको सिनामंगलदेखि गोकर्ण ब्यारेकसम्म खोला वरपर १४ किलोमिटरमा सौन्दर्यीकरण गर्नुपर्ने हो। ब्युटिफिकेशनको डिजाइनअनुसार खोलाका दुवैतर्फ पर्खाल लगाउने, ११ वटा बाँध निर्माण गर्ने, फुटपाथसहित साइकल ट्रयाक, सौर्य बत्ती जडान, गोकर्णमा क्रिरियापुत्री भवन बनाउने र २ वटा शौचालय निर्माण गर्नु पर्नेछ।

तर बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार हालसम्म भौतिक प्रगति ८४ प्रतिशत मात्र भएको छ। बाँकी काम अहिले निरन्तर भइरहेको विकास समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए। 

यसकारण ठेकेदारले समेत हात झिकेको थियो

काम भइरहँदा ०७७ मंसिर/पुसमा स्थानीयले मुआब्जा माग गर्दै निर्माण भइसकेका संरचना नै भत्काए। अन्य संरचना पनि लथालिङ्ग भए।

झारजंगलले संरचना कुरुप बन्यो। विकास समितिका अनुसार ०७७ पुसमा म्याद थपमा पनि काम गर्ने वातावरण नमिलेपछि ठेकेदारले ठेक्का रद्द गर्न माग गर्दै बागमती सभ्यता एकीकृत विकास समितिलाई पत्र पठाएको थियो।

फेरि ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियामा जाँदा समय लाग्ने भएपछि समितिले काम गर्ने वातावरण मिलाएर तिनै ठेकेदारलाई काम गर्न दिने प्रकृया अगाडि बढायो। नभन्दै गत मंसिर ८ गते स्थानीय काम गर्न दिने सहमति भए।

​‘स्थानीयले सहमति जनाएपछि क्याबिनेटबाट म्याद थप गर्ने र पुरानै ठेकेदारलाई काम गर्न दिने निर्णय भयो। त्यसको करिब डेढ महिनापछि काम शुरु भयो, अहिले भने काम रोकिएको छैन,’ बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर मिहिरचन्द्र आचार्यले भने।

उनले स्थानीयकै अवरोधका कारण करिब २ वर्ष काम हुन नसकेको बताए। यतिखेर मुख्य फुटपाथमा ढुंगा हाल्ने, बागमती करिडोर वाल लगाउने लगायत काम भइरहेको छ। 

करिब डेढ अर्ब रकम भैसक्यो खर्च

समितिका इन्जिनियर आचार्यका अनुसार उक्त बागमती सौन्दर्यीकरणकाा लागि ठेकेदारसँग १ अर्ब ९० करोड रूपैयाँमा ठेक्का सम्झौता भएको हो।

गत असारसम्म १ अर्ब ४२ करोड रूपैयाँ खर्च भइसकेको उनले बताए। उक्त कामका लागि राज्यले एशियाली विकास बैंक (एडिबी) सँग करिब २ अर्ब रूपैयाँ ऋण लिएको छ।  

समिति भन्छ : काम नथपिए २ महिनामा सकिन्छ

बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर आचार्यले अब अरु काम नथपिए बाँकी काम २ महिनाभित्र सकिने दाबी गरे। तर वेला वेला काम थप हुँदै जाँदा समस्या भएको उनको भनाइ छ।

​‘काम थपिएन भने २ महिनाभित्र सकिन्छ तर कहिले वडाबाट आएर यो गर्ने भन्छन्, कहिले समितिबाट गयो भने यो गर्ने भनेर काम थपिदिन्छन्। यही कारण हाम्रो सेड्युलअनुसार काम गर्न भने समस्या छ, काम थपिँदै गयो भने अझै लम्बिन सक्छ,’ उनले भने। उनका अनुसार थप म्याद फेब्रुअरी २८ सम्म छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.