यसअघि सो क्षेत्रबाट चुनावमा विजयी- एमाले नेता लालबाबु पण्डित

|

विराटनगर : दिउँसो गर्मी र साँझ बिहान चिसो हुने मौसममा चुनावी माहोलले रनक्कै तातिएका छन्  तराईका शहर बजारदेखि गाउँ बस्तीसम्म। चुनावी गर्मीले विस्तारै छोएको कोहबराका सुकुम्बासी बस्तीमा मधेशका विविध मुद्दाका चाङ बोकेर बिहानै सिके राउतको राष्ट्रिय जनमत पार्टीका उम्मेदवार, नेता कार्यकर्ता पुगेका रहेछन्।

उनीहरूले चुनाव चिह्न अंकित झण्डा टोलैभरिका छानामा छन्त भने केही प्रवेशद्वारमा टाँगिएका छन्। नेताका भाषण र आश्वासनबाट दिक्क भएको सो बस्तीका बासिन्दा आफूहरू नेताहरूको भोट बैंक मात्रै भएको गुनासो गर्छन्।

दुःख र समस्यासँग जुध्दै बाल्यकालदेखि जीवनको आधा उमेरसम्म अर्काको जमिनमा बस्दै आएका हीरालाल ऋषिदेवलाई त्यो ठाँउबाट भोलि उठी कहाँ जाने केही थाहा छैन। ‘जग्गाधनीले थाहै नदिई जग्गा बिक्री गरिसकेको छ,’ उनले भने, ‘अर्कोको जमिनमा बसेका छौँ‚ भोलि छोड् भनेपछि जानै पर्छ। कहाँ जाने  टुंगो छैन!’

मुलुकमा परिवर्तनका मुद्दा उठाएर धेरै राजनीतिक आन्दोलन भए। शासन व्यवस्था र राजनीतिक अवस्था परिवर्तन भइसक्दा यहाँका  सुकुम्बासी दलितको अवस्था भने पुस्तौंदेखि ज्यूँ का त्यूँ नै छ। शिक्षामा पहुँच नहुँदा हरेक क्षेत्रमा पछाडि परेका छन्।

समृद्धिको नाराले छुन नसक्दा विकासका क्षेत्रमा पनि पछि परेका छन् उनीहरू। आफ्नो जमिन नहुँदा शौचालय निर्माणमा सकस परेको हीरालाल बताउँछन्। उनी भन्छन्, ‘३ वर्षदेखि शौचालय बनाउन भनेर इँटा ल्याएको छु तर अर्काको जमिन भएकोले जग्गाधनीले पक्की शौचालय बनाउन दिएन।’

उनलाई देश निर्वाचनको माहोलले तातिएको छ र मंसिर ४ गते निर्वाचन हुँदै छ भन्ने जानकारी राम्रोसँग छ। उनी बस्ने बस्तीमा मत माग्ने र आश्वासनको पोको बोकेर उम्मेदवारको लर्को लागेको यो निर्वाचनमा मात्र होइन।

तर जहिल्यै पनि चुनावले एजेण्डाका धेरै वटा पोको बस्तीमा ल्याएर छाडे पनि पूरा भने एउटै हुन नसकेको र ती सधैँ ‘भ्यागुताको धार्नी’ मात्र भएको उनको गुनासो छ।

मन्दिर बनाउने वाचासमेत पूरा गरेनन्

खानेपानीको समस्या, बाटो, बिजुली बत्तीको समस्या र शौचालय बनाउने प्रतिबद्धतााको कुरा एकादेशको कथाझैँ भएको उनको बस्तीमा आफ्नो समुदायको आस्थाको धरोहर दिनाभद्री मन्दिरका लागि टहरा  बनाउने प्रतिबद्धतासमेत पूरा नगरेको उनले बताए।

‘भोट माग्न आउँदा लाग्छ विकासको भेल नै बगाइदिन्छन् तर जब जितेर जान्छन्‚ कोही पनि फर्किएर आउँदैनन्, बाटोघाटोको के कुरा गर्नु? बिजुली बत्तीको के कुरा गर्नु?‚’ उनी प्रश्न गर्छन्‚ ‘हाम्रो समुदायले पूजा गर्ने मन्दिरसमेत नेताहरूले बनाइदिन्छौं भने तर बनाएनन्।’

यसअघि सो क्षेत्रबाट नेकपा एमालेका नेता लालबाबु पण्डितले जितेका थिए। उनले दिनाभद्रीको मन्दिर बनाइदिन्छु भनेर प्रतिबद्धता जनाएको भए पनि जितेर गएपछि फर्केर बस्तीमा पाइला पनि नहालेको गुनासो सो क्षेत्रका बासिन्दाको छ।

हीरालाललाई जितेर जाने लालबाबुसँग मात्रै मन दुखेको छैन काँग्रेस नेता शेखर कोइरालासँग पनि धेरै गुनासो गुम्स्याएर राखेका छन्। ०७४ सालमा पराजित भएका कोइरालाले अन्य निर्वाचनमा जित्दा पनि सो क्षेत्रको विकासको काम केही नगरेको उनले गुनासो पोखे।

हजुरबाको पालादेखि जीवन र जवानी बिताएर पाको बनेका सोही टोलका अमल ऋषिदेवसँग पनि नेताहरूबारे गुनासोका पोका कम छैनन्। बाउबाजेले नजान्दा सुकुमबासी भएको गुनासो सुनाउँदै उनले भने, ‘पढेलेखेकाले जग्गा आफ्नो नाममा बनाए हामी त हेरेको हेरेकै भयौँ।’

बाउबाजेको पालादेखि अभाव र दुःख बेहोर्दै आएका उनीहरू अहिलेसम्म पनि परिवर्तनले आफ्ना बस्तीको बाटो नदेखेको उनी बताउँछन्। वर्षाको समयमा वर्षेनी डुबानको मारमा पर्ने उनीहरू डुबान समस्याको समाधान गर्ने वाचा नेताहरूको मत माग्ने माध्यम मात्र बनेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.