मतदाताको एउटै गुनासो- नेताले गफबाहेक केही गरेनन्

|

इलाम : घुम्ने आउने पर्यटकहरुले कन्याम चिया बगान घुम्दा इलामलाई सुगम जिल्लाको रूपमा महसुस गर्छन्। हरियो चिया बगानलाई मेची राजमार्गले चिरेको दृश्य हेरेपछि सुगम इलाम घुमेको अनुभूत गरेर फर्कन्छन्।

इलाम देखेर वा घुमेर फर्किएकाहरूले बाहिरी रूपमा वा सडक आसपासमा त्यस्तै देख्छन्। तर, इलामका भित्री भागहरू अझै पनि सुगम इलाम हुने पर्खाइमा नै छन्। नेपाली राजनीतिका हेभिवेट नेता पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम—१ होस् या पूर्वसभामुख एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र इलाम—२ का मतदाताको अझै पनि सुगम इलामको पर्खाइमा छन्।

खनालको क्षेत्रमा ठूला योजना छैनन्

२०४८ सालबाट संघीय निर्वाचनमा होमिएका खनाल २०५६ बाहेकका निर्वाचनमा फराकिलो मतान्तरका साथ विजयी भए। २०६७ माघ २३ गतेबाट २०६८ भदौ १२ गतेसम्म २०४ दिन प्रधानमन्त्रीसमेत बन्न पाए। तर, करिब २ दशक संघीय संसदमा प्रतिनिधित्व गरे पनि इलाम क्षेत्र नं १ मा विकासका लागि भनेर नयाँ केही काम गर्न नसकेको उनलाई मत दिएर जिताउनेहरुको गुनासो छ।

सांसद विकास कोषमार्फत हुने सामान्य विकासबाहेक नयाँ र ठूला योजना झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पार्न नसकेको सो क्षेत्रका स्थानीयको भनाइ छ।

खनालले नै जग्गा दिएपछि इलाम नगरपालिका—१ साखेजुङमा सिटिभीटी अन्तर्गतको रत्नकुमार पोलिटेक्निक इन्स्टिच्युट संचालन भइरहेको छ। तर आफ्नो निर्वाचन क्षेत्रमा निर्माण नगरि घरपायक जग्गाको मूल्य बढाउन निर्माण गराएको इलाम—१ का मतदाताको गुनासो छ।

खनालको निर्वाचन क्षेत्रमा पर्ने फिक्कल—गुप्ती—नयाँबजार सडकको दुदर्शा उस्तै छ। बर्खाको ४ महिनामा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका छन्। १९ किलोमिटर सडक पार गर्न सवारीसाधनलाई ३१ घण्टासम्म लाग्दै आएको छ। 

खनालको निर्वाचन क्षेत्र चियाको राजधानीसमेत हो। तर, उनको क्षेत्रमा चियाको सवैभन्दा बढि समस्या रहँदै आएको छ। हरेक वर्ष चिया किसानहरुले मुल्यका लागि आन्दोलन गर्नुपरेको छ।

चियाको समस्या समाधानको लागि खासै खनालले योगदान नदिएको गुनासो छ। गत साउन ५ गते खनालले करिब ४० मिनेट संसदमा चियाको समस्याको बारेमा कुरा उठाएका थिए। संसदमा खनालले भनेका थिए ‘इलाममा चिया उत्पादन विस्तार हुँदै गएको छ; देशमा पनि चिया फैलिँदै गएको छ; त्यतातिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ।

यस वर्षको नीति कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ। तर, प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन।’ उनले नेपाली चियालाई चीनको बजारसम्म पुर्‍याउन आफुले पहल गर्ने बताएका थिए। तर, मतदाताहरुले यसलाई चुनावी फन्डाको रुपमा मात्र बुझेका छन्। चिया देखाएर मत बटुल्ने खनालको तिकडमको रुपमा मतदाताले बुझेका छन्।

‘२०४८ सालबाट संघीय सांसद हुँदा चियाको बारेमा चासो नहुने अहिले चुनावको मुखमा आएर चिया चिया भनेर कराउनुको कुनै अर्थ देखिदैन्।’ खनालको क्षेत्रका मतदाता सुवास चौरासे गुनासो गर्छन्।

‘ चिया बारेमा चिन्ता गरे जस्तो गरेर चुनाव जित्ने उहाँको लक्ष्य होला?’ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका अधिकांश किसानहरुले चिया रोपेका छन्। इलाम क्षेत्र नं १ को सवैभन्दा बढी मतदाता सूर्योदयमा नै छन्। खनालको निर्वाचन क्षेत्रमा मेचीराजमार्गको अतिरिक्त कालोपत्रे सडक माई नगरपालिकामा पर्ने बुढी सुखानीदेखि लोदियासम्म करिब १० किलोमिटर मात्र छ।

नेम्वाङको क्षेत्रमा योजना लथालिङ्ग

खनाल जस्तै नेम्वाङको क्षेत्रमा समेत विकासको अवस्था नाजुक छ। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रायः भाषणमा इलाम क्षेत्र नं २ मा ८० प्रतिशत क्षेत्रलाई विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको भन्दै गर्व गर्छन्। तर उनकै निर्वाचन क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिका केन्द्रीय प्रसारण लाइनबाट बञ्चित छ। पाँचथरको रविसंग जोडिएको फुएतप्पा क्षेत्रका बासिन्दाहरु अझै पेल्ट्रिक सेटबाट उत्पादित विद्युतको भरमा छन्। आफ्नो सांसद विकास कोष बाहेकका नयाँ योजना फसाउन नसकेका पार्टी भित्रै आलोचित बनिरहेका छन्।

२३ वर्षसम्म इलाम–२ बाट जित निकाल्दै आए पनि विकास निर्माणको काम नगरेको भन्दै मतदाताभित्र नै असन्तुष्टि बढेको छ। विशेषगरी राँके–रवि सडक नबनेकामा मतदाता असन्तुष्ट रहेका छन्।

यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले नै उद्घाटन गरेका थिए। यो सडक प्रदेश १ को ड्रिम प्रोजेक्टको रुपमा समेत राखिएको छ। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ। तर, काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब रहेको देखिन्छ। यसलाई लिएर नागरिक असन्तुष्टि बढेको हो।  हिउँदमा धुलो उडाउँदै कुद्ने गाडी वर्षातमा ठप्प हुँदा बिरामीको उपचारका लागि स्ट्रेचर खोज्नुपर्छ।

गत असोज ११ गते इलाममा अगुवा कार्यकर्ता भेलामा जनताकोहरुको गुनासोलाई नेम्वाङले यसरी व्यक्त गरे। ‘५६ सालमा निर्वाचन लडिरहँदा इलामको कर्णाली भनिने २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको थिएन। अहिले ८० प्रतिशत क्षेत्रमा केन्द्रिय प्रसारण लाइन जोडिएको छ।

मैले चुनाव लडिरहँदा इलामको कर्णाली भनिने यो २ नम्बर क्षेत्रमा अहिले साथीभाइहरू फोटो छाप्दैछन् हिलोमा गाडी भासिएको’, उनले भने ‘५६ साल देखि अहिलेसम्म १० वर्ष जनयुद्ध कटाइदिनुस् त्यो १० वर्ष गाउँघरका दिदि बहिनी दाजुभाईहरूले तपाईहरू नआउनुस् हामी दुःख सहन्छौ भन्नुभयो र हामी १० वर्ष गाउँमा जान सकेनौ। अहिले उहाँहरू समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो सेयर गरिरहनुभएको छ।’

नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने राँके–रवि सडक खण्डमा असोजको समयमा पनि हिलाम्मे सडकबाट गाडी धकेल्दै दमकसम्म पुग्नुपर्ने बाध्यता छ। पुवाखोला तरेपछि छिटपुट क्षेत्रमा मात्र कालोपत्रे देखिन्छ।

उनकै निर्वाचन क्षेत्रमा पर्ने सुकिलुम्बा विमानस्थल सेल्फी खिच्ने थलो मात्र छ। नेम्वाङको पुरानो थाकथलो सुन्तलाबारीबाट करिब ५ किलोमिटर दूरीमा रहेको विमानस्थल आजकाल सुनसान छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत फागुन १ गते उद्घाटन गरेको विमानस्थलको धावनमार्गमा ३ महिना समेत तारा एयरको ट्विनेटर विमानले उडान गर्न सकेन्। विमानस्थल बन्द भएको ६ महिना बित्नै लाग्यो सुचारु गराउने छाटकाँट छैन। पुर्वी पहाडको सवैभन्दा सुविधा सम्पन्न भनिएको इलाम अस्पतालमा समेत विरामीहरुले उपचार पाउन सकेका छैनन्।

अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सामान्य बिरामी पर्दा पनि झापा तथा अन्य बाहिर क्षेत्रमा नै जानुपर्ने बाध्यता छ। पर्याप्त जनशक्ति नहुँदा भएका उपकरणहरु समेत बाकसमा थन्क्याएर राख्नुपर्ने बाध्यता छ। 

दुईवटै निर्वाचन क्षेत्र जोडिने मेची राजमार्गमा बीचबीचमा खाल्डाखुल्डी परेर एक घण्टा समय लाग्ने सडकमा दुई घण्टा लाग्ने अवस्था आउँदा समेत निर्वाचित जनप्रतिनिधिले विकास गर्न नसकेको यहाँका स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.