त्रिवि भन्छ- कात्तिकभित्रै नतिजा प्रकाशित हुन्छ

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षाफल प्रकाशनमा चरम ढिलाइ गरेको छ। त्रिविले परीक्षा सञ्चालन गरेको १५ महिनासम्म नतिजा प्रकाशित नगरेपछि विद्यार्थीहरू आन्दोलित हुन थालेका छन्।

धादिङको सदरमुकाम धादिङवेंशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले त्रिविले प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै आइतबार प्रदर्शन गरेर विरोध जनाएका छन्।

‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत नारा लेखिएको प्ले कार्डमा देख्न सकिन्छ।

त्रिविले गत साउनमा लिएको मानविकी संकायको बिए प्रथम वर्षको नतिजा, व्यवस्थापन संकायको बिबिएस प्रथम वर्ष लगायतको नतिजा प्रकाशित गरेको छैन। 

परीक्षार्थी भन्छन् : त्रिविले साह्रै अन्याय गर्‍याे

त्रिविले १५ महिनासम्म नतिजा प्रकाशित नगरेपछि मानसिक दबाब र तनावमा छन् परीक्षार्थीहरू। त्रिवि उच्च शिक्षाका लागि देशको पहिलो राष्ट्रिय शैक्षिक संस्था भए पनि विद्यार्थीहरूको भविष्यप्रति सचेत नरहेको उनीहरूको गुनासो छ।

थलीस्थित कान्तिपुर क्याम्पसमा अध्ययनरत सुस्मिता आचार्य भन्छिन्, ‘गत साउनमै बिएको परीक्षा दिएकी थिएँ,अहिले त १५ महिना भइसक्यो तर अहिलेसम्म त्रिविले नतिजा नै प्रकाशित गरेको छैन।’ 

उनका अनुसार त्रिविले अहिलेसम्म नतिजा प्रकाशित नगर्दा धेरै समस्या झेल्नुपरेको छ। माथिल्लो तहमा गएर परीक्षा दिइसक्दा समेत प्रथम वर्षको नतिजा प्रकाशित भएको छैन।

‘ब्याचलर भर्ना भएपछि नै प्रथम वर्षको नतिजा कस्तो आउँछ भन्ने चिन्ता छ, झनै अहिलेसम्म नतिजा नआउँदा त तनाव नै हुन्छ,’ उनले भनिन्।

त्रिविले उत्तरपुस्तिका नै हरायो भन्ने हल्ला चलेपछि झन् मानसिक तनावमा छन् विद्यार्थीहरू। ‘त्रिविले समयमा नतिजा प्रकाशित नगरेर हामीलाई साह्रै अन्याय गरेको छ, यसरी भविष्यमाथि खेलवाड गर्न त मिलेन नि,’आक्रोशित हुँदै आचार्यले भनिन्।

उनीमात्र होइन समयमा नतिजा नआउँदा १ लाखभन्दा बढी परीक्षार्थी यतिखेर धेरै चिन्तित भएर बसेका छन्। 

त्रिवि भन्छ- कात्तिकभित्रै नतिजा प्रकाशित हुन्छ

यता, त्रिवि भने कोभिड–१९ लाई बहाना गरेर नतिजा प्रकाशनबाट टार्दै गएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले कोभिडका कारण तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी पुगेर परीक्षा दिन नसक्ने भएपछि पायक पर्ने कलेजहरूमा गएर परीक्षा दिन पाउने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार परीक्षार्थीले विभिन्न क्याम्पसमा पुगेर परीक्षा दिएका थिए।

यही कारण उत्तरपुस्तिका जम्मा गर्न समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-नियन्त्रक महेशराज ओझाले बताए।

‘कोरोनाले नतिजा प्रकाशनमा ढिला भएको हो, पहिला कोरोनाकै वेला देशभर परीक्षा लियौँ। परीक्षा लिएपछि एउटा कापी पनि छोड्न मिलेन, त्यही भएर एउटा एउटा गरि उत्तरपुस्तिका खोजेर जम्मा पार्नुपर्‍यो, त्यही कारण ढिला भयो,’ उनले भने।

कतिपयले अनलाइन फाराम भर्दा विद्यार्थीले विवरण बिगारेका कारण पनि समस्या भएको उनको भनाइ छ। उनले यही कात्तिकभित्र बिए प्रथम र बिबिएसको नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको जानकारी दिए।

‘सकेसम्म यही कात्तिकभित्र धेरैको परीक्षा नतिजा प्रकाशित गर्ने गरि तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने।

उनका अनुसार बिबिएसका १ लाख परीक्षार्थी छन् भने बिएका करिब ३५ हजार परीक्षार्थी छन्।

आन्दोलनको अखडा त्रिवि

त्रिविमा बेथिति यतिमा मात्र सीमित छैन। विश्वविद्यालयले देशका लागि योग्य‚ कर्णधार, दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने वेला पछिल्लो समय आन्दोलनको अखडा बनेको छ।

विश्वविद्यालयमा कहिले दलनिकट विद्यार्थी संगठनहरूले त कहिले आंशिक प्राध्यापकले आन्दोलन गर्न छाडेका छैनन्। २ वर्षमा २ सय दिनसम्म त्रिविका कार्यालयहरूमा ताला लाग्ने गरेको छ।

गत असारमा लागेको ताला असोज २७ गतेसम्म व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका विद्यार्थी र नेपाल विद्यार्थी संघले भिसी कार्यालय, रजिष्ट्रार र रेक्टरको कार्यालयमा ताला लगाएका थिए।

(यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.