|

विराटनगर  :   उमेर ठ्याक्कै कति पुग्यो उनलाई थाहा छैन।  उनका अनुहारमा बुढ्यौलीका थुप्रै संकेतहरू देखिन्थे । चाउरिएको अनुहार, कपाल फुलेर कपास झैँ देखिन्थे। अनुहारलाई नियाल्ने हो भने, उमेरले ७ दशक काटे झैँ देखिने मालोदेवी ऋषिदेवले अझै नेपाली नागरिकता पाएकी छैनन्। विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा भेटीएकी मालोदेवीका श्रीमान र छोराहरू भने नेपाली नागरिकता प्राप्त नागरिक हुन्।

आफू जन्मेको साल भन्न नसक्ने उनलाई  उनलाई नागरिकता भएको भए यो उमेरमा सरकारले दिने भत्ता जीवन चलाउने एउटा  सहारा बन्ने थियो।

नागरिकता नहुँदा उनी  सरकारले दिने भत्ताबाट वञ्चित छिन्। ज्येष्ठ नागरिक भइसकेकी मालोदेवी सामाजिक सुरक्षा भत्ता लिनेहरूलाई सम्झेर आफूलाई अभागी मात्रै ठान्दिनन्, नेपाली नागरिकता नै नपाई जीवन सकिएला भन्नेमा चिन्ता पनि व्यक्त गर्छिन्।

‘वृद्धभत्ता पाउने उमेर पनि भयो तर, नागरिकता छैन’, उनले भनिन्, 'नेपाली नागरिक नभइ आफ्नो जीवन सकिने भयो।'

नागरिकता बिना नै विगतका दिनहरूमा धेरै पटक उनले भोट खसालेकी छिन्।  तर, अहिले नागरिकता बिना मतदाता हुन नपाउने भएपछि उनी मत खसाल्ने अधिकारबाट पनि वञ्चित भइन्।

‘पहिले सानो चिट जस्तो दिन्थ्यो, त्यसको आधारमा भोट हाल्न पाइन्थ्यो’, उनले विगतको अनुभव सुनाउँदै भनिन्, ‘नागरिकता अनिवार्य गरेपछि भोट खसालेको छैन। '

उनीजस्तै धेरैको नागरिकताको समस्या ऋषिदेव टोलमा छ। ६० घर परिवार बसेको टोलमा ५० जनाभन्दा बढीसँग मतदाता परिचयपत्र रहेको छ। तर, नागरिकताविहीनको संख्या उति नै।

नागरिकता बनाइदिने भनेर नेताहरू भोट माग्ने गर्दछन्। तर, चुनावको आश्वासनले कहिले सार्थकता नपाएको सोही टोलकी दुखनी ऋषी देव बताउँछिन् । जति भोट दिएपनि नागरिकताको समस्या कहिल्यै नटुंगेको बताउँदै उनले भनिन् ‘उ  बेला भोटका लागि चिट दिए तर नागरिक बन्ने नागरिकता छैन।’ उनले पनि पुरानो चिट परम्परामा भोट खसालेको अनुभव सुनाइन्। तर, नागरिकता अनिवार्य भएपछि उनी मतदान गर्ने अधिकारबाट वञ्चित छिन्।

मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसका नेता डाक्टर शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डित उमेदवार छन्। उनीहरू दुवैले यस पटकको चुनावी अभियानमा समेत नागरिकताको विषय मतदाता रिझाउने आश्वासनका लागि प्रयोग गरिरहेका छन्।

 तर, एकै घरभित्र कोही नेपाली नागरिक र कोही नागरिकताविहीन हुँदा राज्यको अवसरबाट वञ्चित नागरिक भएको विषयलाई कहिल्यै गम्भीर रुपमा लिएका छैनन्।

२०७४ को निर्वाचनमा लालबाबु पण्डित निर्वाचित भएका थिए। उनी निर्वाचित भएपछि अहिलेसम्म ऋषिदेव टोलका समस्या बुझ्न फर्केका छैनन्। यो निर्वाचनको प्रचारका लागि पुनः आउनेमा ऋषिदेव टोल ढुक्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.