|

विराटनगर :  मंसिर ४ को निर्वाचनमा चासोको क्षेत्र बनेको सुनसरी क्षेत्र नम्बर  ३ का कांग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी पनि अन्य उम्मेदवारहरू जस्तै यतिबेला आफ्ना क्षेत्रका मतदाताहरू माझ पुगेर भोट माग्न व्यस्त छन्।

तेस्रो पटक गच्छदार र चौधरी  चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ को निर्वाचनमा झिनो मतले जितेका गच्छदार यो निर्वाचनमा पनि जित हासिल गर्ने दाउमा छन्। भने, अघिल्लो निर्वाचनको हार जितमा बदल्ने कसरतमा चौधरी लागि परेकी छिन्।

जित्ने दौडमा पुनः चुनावी मैदानमा होमिएका  दुवै उम्मेदवारलाई  यतिबेला  आफ्ना निर्वाचन क्षेत्रका जनताको घर आँगनमा पुग्ने र आफ्नो भनाइ राख्दै मत माग्न  चटारो छ।

एक सेकेण्ड ढिला गरे मतदाताको घर दैलोमा पुग्न ढिला हुन्छ भन्ने हतारोमा  दौडिरहेका दुई उम्मेदवारको इटहरीमा आयोजित  निर्वाचन लक्षित कार्यकम अघिपछि जस्तै नै भइरहेको थियो।

सोमबार  इटहरी- ६ मा गच्छदारको चुनावी कार्यक्रम हुँदै गर्दा चौधरीको भने वडा- ९ मा हुँदै थियो।

म न्याय माग्न आएको हुँ :  गच्छदार

मतदाता भेटघाट कार्यक्रममा बोल्दै गच्छदारले आफू जनतासँग विकासका कुरा गर्नु भन्दा पनि न्याय माग्न आएको बताउँदै थिए।

सातौं पटक चुनावी मैदानमा उत्रिएका  उनी माथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा भ्रष्टाचार गरेको आरोप छ।

उनले  तत्कालीन एमले सरकारले आफूलाई ललिता निवास प्रकरणमा जबर्जस्ती मुद्दा लगाएर  ५ दशक लामो राजनीतिक करियर समाप्त पार्न खोजेको आरोप लगाए।

‘यो पल्ट म विकास गर्छु भन्न आएको होइन। मलाई ठूलो अन्याय भएको छ। तत्कालीन सरकारले म माथि ५० वर्षको राजनीतिक करियरलाई समाप्त पार्नका लागि  ललिता निवास प्रकरणमा जबर्जस्ती म माथि मुद्दा लगाइएको थियो', उनले भने,‘एमालेको सरकारको समयमा मलाई जबर्जस्ती मुद्दा लगाइयो।’

उनले आफूलाई अन्याय परेको भन्दै  जनताको जनअदालतले पुनः अघिल्लो निर्वाचनको भन्दा बढी भोटले  चुनावमा जिताएर पठाए न्याय पाउने उल्लेख गरे।

उनले आफूसँगै गठबन्धनका प्रदेशसभाका उम्मेदवार  नेकपा मओवादी केन्द्रका तर्फबाट प्रदेश १ की बहालवाला उपसभामुख सरस्वती पोखरेलतर्फ  देखाउँदै कांग्रेसका कार्यकर्ताहरूलाई  गोलाकार भित्रको हँसिया हथौडामा मत हाल्न अभ्यास गर्नु भन्दै  सुझाए।

‘कांग्रेसका साथीहरूले गोलाकार भित्रको हँसिया हथौडामा मत हाल्न अभ्यास गर्नुस, मैले हाँसीहाँसी भनेको हो’, उनले भने, ‘माओवादी पनि रुख चिन्हमा भोट हाल्ने त होइन तपाईँहरू पनि अभ्यास गर्नुस् ’

उनले आफ्नो कार्यकालमा सुनसरीले चमात्कारीक हिसाबले विकासमा फड्को मारेका बताए।

आफूले ०४७ सालमा मत माग्न जनताको घरदैलोमा जाँदा कच्चा सडकहरू ग्रावेल कालोपत्रे बनेको दाबी गर्दै भने,‘विजय कुमारले जितेर के गर्‍यो भन्दै चुनौती दिने त्यहि पुलमा तरेर गाडीमा गुडुगुगु चढेर आँउछ त्यहि गाँउको जनतलाई भन्छन् गच्छदारले के गर्‍यो ? अनि त्यहाँका जनता अलमलमा पर्छन्।’

उनले  बौद्धिक जनता बस्ने ईटहरीको जनतालई बाटोघोटोका कुरा गर्नु भन्दा पनि गठबन्धन देशका लागि आवश्यक भएको र न्याय माग्न आएको बताए।

म जित्छु : चौधरी

एमाले नेतृ चौधरीले गच्छदारलाई इंकित गर्दै ३१ वर्षमा नगरेको काम ५ वर्षमा गर्ने दाबी गर्दै मतदाता समक्ष मतको अपिल गरिन्। उनले आफूले  जनताको समक्ष प्रत्यक्ष विकासका कामको सुरुवात आफ्ने गाँउबाट गरेको दावी गरिन्। उनले ग्रामीण अर्थतन्त्र देखि राष्ट्रिय पुँजीको निर्माण गर्ने काममा पनि लाग्ने आफूहरूको योजना रहेको बताइन्।

उनले निर्वाचनले तोकिदिएको समय अनुसार सबै मतदाताको घर दैलो जान नसक्दा ठाउँठाउँमा कोणसभा गर्दै चुनावी कार्यक्रम गर्ने गरेको बताउँदै उनले दिनमा  १० वटासम्म निर्वाचन विशेष कार्यक्रम भ्याउने गरेको सुनाइन्।

पहिले र अहिलेको चुनावी प्रतिस्पर्धामा के भिन्नता पाउनुभयो? भन्ने प्रश्नमा उनले  प्रतिस्पर्धा उस्तै भए पनि गच्छदार सत्तामा हुँदा निर्वाचन लडेको अहिले आफ्नो सरकार नभएको हुँदा यो निर्वाचनमा गच्छदार कमजोर भएको उनले दावी गरिन्।

उनले आफूलाई जनताले सघाउनेमा ढुक्क भएको बताउँदै उनले आफूले यो निर्वाचन जित्ने कन्फिडेन्ट रहेको दावी गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.