|

हेटौंडा : सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरिरहेका हुन्थे।

तर लिखित रुपमा भएको सहमति पाँचदलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन्।

प्रदेशसभाको पहिलो कार्यकालमा मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका बानियाँ दोस्रो इनिङमा उक्त अवसर पाउनका लागि यति वेला चुनावी मैदानमा छन्।

मकवानपुरको निर्वाचन क्षेत्र २ को ‘ख’ बाट बानियाँ प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्। कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतासमेत रहेका बानियाँका लागि यो चुनाव प्रदेशको मुख्यमन्त्री बन्ने ‘गोल्डेन गेट’का रुपमा रहेको छ।

यदि उनले यो चुनावमा जीत हात पारेमा नेपाली कांग्रेसबाट बागमती प्रदेशको आगामी मुख्यमन्त्री बन्ने निश्चित छ। मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले उनलाई दोहोर्‍याएर प्रदेशको चुनावमा उतारेको चर्चा पनि छ। अघिल्लो निर्वाचनमा पनि बानियाँ सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए।

साढे ३ वर्षसम्म एमालेका डोरमणि पौडेलले प्रदेश सरकारको नेतृत्व गरे। पछि राष्ट्रिय राजनीतिमा आएको हलचलले गर्दा एमालेको सरकार ढल्यो।

कांग्रेससहित प्रतिपक्षमा रहेका अन्य दलसँगै एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार बन्यो। समाजवादीले बागमती सरकारको नेतृत्व लिँदा कांग्रेससँग आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति गरेको थियो।

समाजवादीका उपाध्यक्षसमेत रहेका हालका मुख्यमन्त्री राजेन्द्र पाण्डे र बानियाँले लिखित रुपमा नै प्रदेश सरकारको बाँकी रहेको कार्यकाल आधा–आधा नेतृत्व गर्ने सहमति गरेका थिए तर उक्त सहमति कार्यान्वयन गर्न पाण्डेले मानेनन्।

जबरजस्ती गर्दा देशकै राष्ट्रिय राजनीतिमा असर पुग्ने भएपछि बानियाँले सहमति बिर्सिएर मुख्यमन्त्रीको दाबीबाट पछि हटे। उक्त सहमति कार्यान्वयन भएको भए यति वेला बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुन्थे।

निर्वाचनपछि पनि गठबन्धनको सरकार कायम रहने शीर्ष नेताहरूले दाबी गर्दै आएका छन् । दाबीअनुसार निर्वाचनपछि पनि गठबन्धनको सरकार गठन भए बागमती प्रदेश नेपाली कांग्रेसको भागमा पर्ने प्रबल सम्भावना छ।

हाल समाजवादीले प्रदेशको नेतृत्व गरिरहेको र सहमतिअनुसार कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने भए पनि नपाएकाले आगामी सरकारको नेतृत्व कांग्रेसले पाउने चर्चा चल्न थालेको छ। यसको निर्णय भने गठबन्धनको शीर्ष तहबाट हुनेछ।

तर बागमती प्रदेशको मुख्यमन्त्री बन्नका लागि चुनाव जित्नैपर्ने दबाबमा बानियाँ छन्। हाल उनलाई गठबन्धनको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगाायत सत्ता गठबन्धनको ५ दलको समर्थन छ।

उनको प्रतिष्पर्धी बनाएर नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ। थापा एक्लै मैदानमा होमिएका छन्।

यसअघि ०७४ सालमा भएको निर्वाचनमा बानियाँले एमाले उम्मेदवार राजाराम स्याङ्तानलाई पराजित गरेका थिए। माओवादीको बलबुतामा चुनावमा उठेका स्याङ्तानलाई बानियाँले १ हजार ४११ मतान्तरले पराजित गरेका थिए।

त्यति वेला बानियाँ एक्लै चुनावी मैदानमा थिए। अहिले चुनावी सेरोफेरो बद्लिएको छ। अघिल्लो चुनावमा एक्लै नेकपाको उम्मेदवारलाई पराजित गरेका बानियाँलाई यो पटक माओवादीको साथ छ। जसले उनलाई चुनाव जित्न सहज भएको छ।

०७४ को निर्वाचनमा बानियाँले १९ हजार २४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएका थिए।

यस्तो छ अंकगणित

बानियाँको निर्वाचन क्षेत्र मकवानपुर–२ प्रदेशसभा ‘ख’ मा ६७ हजार ४६९ मतदाता छन्। हेटौंडाको ३ र १९ नम्बर वडासहित मनहरी गाउँपालिका,राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहका ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७/७ वटा वडामा विजयी भएका थिए।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाहरूका वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ।

स्थानीय तह चुनावमा मकवानपुर-२ प्रदेशसभा ‘ख’ क्षेत्रमा कांग्रेसका वडाध्यक्षले १९ हजार ७२, एमालेका वडाध्यक्षले १३ हजार ५८३ र माओवादीका वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए।

यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत ३० हजार १४३ पुग्छ।

यसरी हेर्दा गठबन्धन एमालेभन्दा १६ हजार ५६० मतले अगाडि छ। यसमा एकीकृत समाजवादीको मत जोडिँदा गठबन्धन एमालेभन्दा अझै मजबुत देखिन्छ। त्यसैले आसन्न निर्वाचनमा बानियाँलाई चुनाव जित्न सहज हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.