आयोग भन्छ- अब स्पष्टीकरण होइन, जरिवाना गराइन्छ

|

काठमाडौं : दाङ क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वली कात्तिक १५ गते चुनावी अभियानका दौरान एउटा विद्यालयका बालबालिकासँग बसेर भोट मागेको समाचार बाहिरियो।

दाङको बबई गाउँपालिका-१ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीहरूसँग कोमल वली सँगै भएको तस्वीर सार्वजनिक भएपछि उनको निकै आलोचना भयो। त्यसपछि कात्तिक १९ गते निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?,’ आयोगको स्पष्टीकरणमा भनिएको छ।

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि सो गरेको देखिएकाले ऐनबमोजिमको कारबाही किन हुनु नपर्ने हो? भनी आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन पनि आयोगले वलीलाई निर्देशन दिएको छ।

आयोगले चुनावी प्रचारमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (एमाले) का प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र ३ (ख) का उम्मेदवार हुकुमबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई समेत सोमबार स्पष्टीकरण सोधेको छ।

ठाकुर प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र ३ का उम्मेदवार हुन्। आयोगका अनुसार ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिह्न अंकित पम्पलेट दिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको थियो।

बस्नेतले आफ्नो चुनावी प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्रीसमेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको थियो। 

स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिएको छ।

बस्नेतलाई भने आयोगले २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पेश गर्न निर्देशन दिएको छ।

विभिन्न राजनीतिक दलका नेताहरूले आसन्न निर्वाचनमा मात्र नभई निर्वाचनका वेला सधैं नै बालबालिका प्रयोग गरेर प्रचारप्रसार गर्ने गरेका छन्।

यस्ता निर्वाचन आचारसंहिताको उल्लंघन सबैभन्दा बढी मधेश प्रदेशमा हुने गरेको छ। वैशाखमा भएको स्थानीय तह निर्वाचनका वेला पनि ठूला राजनीतिक दलका नेताहरूले बालबालिका प्रयोग गरी चुनाव प्रचारप्रसार गरेका थिए।

यस्तो छ नियम

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ।

त्यसैले बालबालिका जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरे सो कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहने देखिन्छ। 

शिक्षाविद् भन्छन् : यसले शैक्षिक क्षेत्रमा सधैं समस्या ल्याउँछ

विभिन्न राजनीतिक दलले खुल्लमखुल्ला बालबालिका प्रयोग गरी चुनावी प्रचारप्रसार गर्नुले बालबालिकाको पढ्ने अधिकार सरासर हनन भएको शिक्षाविद् प्राडा विनय कुसियत बताउँछन्।

​यस्ता गलत क्रियाकलाप भए तुरुन्तै निर्वाचन आयोगले कारबाही गर्नुपर्ने उनको माग छ। ‘चुनावको वेला विद्यालय नै बन्द गरि बालबालिका प्रयोग गरिनु निकै दुःखद कुरा हो,’ उनले भने, ‘पार्टीको झण्डा बोकाउने होइन, पढाउने वातावरण पो मिलाउने हो।’ उनले यस्तो प्रवृत्तिले लोकतन्त्र बलियो नपार्ने र शिक्षा क्षेत्रमा सधैं समस्या निम्त्याउने बताए।

आयोगको चेतावनी- आचारसंहिता उल्लंघन गरे हामी चुप बस्दैनौं

निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता उल्लंघन गरि बालबालिकाको प्रयोग तथा चुनावी प्रचारप्रसार गरे त्यस्ता राजनीतिक दलका उम्मेदवारलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवारहरूलाई उनले आग्रह गरे। 

उनले भने, ‘आयोगले मात्र भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन, यसमा राजनीतिक दल, उम्मेदवार, सरोकारवालाहरूको हातेमालो जरुरी छ। आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन।’

उनले अब स्पष्टीकरण मात्र सोधिने नभएर आयोगले जरिवाना गर्न शुरु गरिसकेको जानकारी दिए। 

आयोगले केही दिनअघि आचारसंहिताविपरीत काठमाडौं जिल्ला क्षेत्र ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रूपैयाँ जरिवाना गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुनै पनि उम्मेदवार तथा राजनीतिक दलले बालबालिका प्रयोग गरि चुनाव प्रचारप्रसार गरेको पाए उजुरी दिन सक्ने बताए।

उनका अनुसार जुनसुकै आचारसंहिता उल्लंघनका घटनाविरुद्ध उजुरी दिन चाहनेले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग वा मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.