|

पर्वत :  प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यमा २ जना गरी ३ जना निर्वाचित हुने पर्वतमा २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। ‘मिसन मंसिर ४’ का लागि सकेसम्म प्रयास गरिरहेका उनीहरूमध्ये ३ जनाले मात्रै संसदमा स्थान पक्का गर्ने छन्।

प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा ९ जनाको र प्रदेशसभा ‘ख’ मा ७ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का पदम गिरी, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर मल्ल, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापा, नेपाल सुशासन पार्टीकी भगवती पौडेल, ​मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा पुन र नेपाली कांग्रेस (बिपी) का देवाखर भट्टराई उम्मेदवार छन्।

प्रतिनिधिसभा सदस्यमा नै सावित्री शर्मा, सीतादेवी शर्मा र अरुण पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेशसभा ‘क’ मा नेकपा (एमाले) का भक्तबहादुर कुँवर, नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवर, हाम्रो नेपाली पार्टीका रमेश पौडेल, नेपाल सुशासन पार्टीका थम बहादुर क्षेत्री, राष्ट्रिय जनमुक्ति पार्टीकी सौभाग्य थापा पुन, मंगोल नेशनल अर्गनाइजेशनका शेरबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमकुमार गुरुङ र नेपाली कांग्रेस (विपी) का कमलराज पौडेलले उम्मदेवारी दिएका छन्।

प्रदेशसभा ‘ख’ मा नेकपा (एमाले) का मित्रलाल बस्याल, नेपाली कांग्रेसका ऋषिकेश तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्याय, हाम्रो नेपाली पार्टीका नारायण खत्री तथा स्वतन्त्रबाट वसन्तकुमार श्रेष्ठ र चन्द्रकुमारी मल्ल चुनावी मैदानमा छन्।

२८ जनामध्ये सबैको ध्यान भने प्रतिनिधिसभा सदस्यका दुईजना प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका जोशी र एमालेका गिरीमाथि केन्द्रित भएको छ।

उनीहरू २ जनाबीचको प्रतिस्पर्धा अन्य उम्मेदवारको तुलनामा बढी नै रोचक छ। जोशी र गिरी दुवैजना ‘टेस्टेड’ अर्थात् यसअगाडि पनि निर्वाचित भएका नेता हुन्।

जोशी २०५६, २०६४ र २०७० सालका चुनाव जितेका नेता हुन् भने गिरीले २०७४ को निर्वाचनमा जोशीलाई पराजित गरेका थिए।

एक त प्रतिनिधिसभा, अर्को दुवैजना अनुभवी र त्यसपछि दुवै जना दुई मुख्य राजनीतिक दलका उम्मेदवार भएकाले जिल्लावासीको ध्यान यी दुई जनामा केन्द्रित भएको हो।

प्रदेशसभा सदस्यमा पनि गठबन्धन र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। अन्य साना दलसहित स्वतन्त्र उम्मेदवारहरू समेत रहेको भए पनि समाचारका स्रोतदेखि सामाजिक सञ्जालमा गठबन्धन र एमालेकै उम्मेदवार हाबी देखिन्छन्।

यसमा पनि रमाइलो के छ भने गठबन्धन र एमाले दुवैबाट चुनावमा उत्रिएका उम्मेदवारहरू ‘नन टेस्टेड’ अर्थात् संसदीय निर्वाचनमा पहिलो पटक होमिएका नेता हुन्।

प्रदेशसभा ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदीप कुँवर र नेकपा (एमाले) का भक्तबहादुर कुँवर प्रतिस्पर्धामा छन् भने प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट नेपाली कांग्रेसका ऋषिकेश तिवारी र एमालेबाट मित्रलाल बस्याल चुनावी मैदानमा छन्।

यीमध्ये तिवारीले भने यस अगाडि नै ३ महिना संसद्को अनुभव गर्न पाएका छन्। पर्वतमा कांग्रेसबाट निर्वाचित भएका नेता डिल्लीराज शर्माको मृत्यु भएपछि उनको ठाउँमा मनोनीत भएर ३ महिना संसद् पसेका भए पनि प्रत्यक्ष निर्वाचन लडेर संसद् पुगेको अनुभव उनीसँग पनि छैन।

आफू निर्वाचित भएर नै संसदीय भूमिकामा पुग्ने विश्वासमा तिवारी छन्। 

‘३ महिना मात्र मनोनीत भएर काम गरेको अनुभव छ, त्यो बारेमा त के कुरा गर्नु र? तर वर्षौँंदेखि गाउँको विकास र उद्यमशीलताबारे मैले उठाउँदै आएका मुद्दाका कारण मलाई जनताले प्रदेशसभामा पठाउने कुरामा म ढुक्क छु’, उनले भने, ‘प्रदेशबाट हुन सक्ने र गर्न सकिने विकासको बारेमा जनतालाई कुरा बुझाइरहेको छु। युवाहरूलाई उद्यममा जोडेर रोजगारीको अवसर सिर्जना गर्न सकिने र त्यसका लागि पर्वतमा रहेको सम्भावनाका बारेमा वर्षौंदेखि बहस गरिरहेको छु। त्यसलाई साकार पार्न मलाई मतदाताले आफ्नो मत दिनुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.