|
फाइल तस्वीर

काठमाडौं : वर्षा सकिएर सुक्खा मौसम लागे पनि मेलम्चीको पानी राजधानीमा नआउँदा काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढ्न थालेको छ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले बर्खामा सुरुङको ढोका बन्द गरिन्छ र पानी आउँदैन। 

विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो। यसपटक बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिकभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेका भए पनि यो महिनाभित्र पानी नआउने निश्चित भएको छ।

गत वर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो।

सडक बनाएर पानी ल्याउन सहयोग गरे पनि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन बेवास्ता गरेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए।

‘गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैँले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ, मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेभी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौँ। यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ। महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ,’ उनले भने।

राजधानीवासीलाई पानी खुवाउने हेलम्बुको सडकमा बर्खा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी आएर धनजनको क्षति भएको डेढ वर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ।

मेलम्ची बाढीको विषय सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो।

अध्यक्ष शेर्पाले प्रश्न गरे, ‘हामीले मात्र सहयोग गरिरहने? मेलम्ची पीडितलाई केही गर्न नपर्ने? राजधानीलाई पानी खुवाउने हेलम्बुमा बर्खामा आउन सकिन्न। राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन?’

स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने माग उनले गरे।
 
गत वर्ष पानी पठाउँदा खानेपानीमन्त्रीमार्फत् पठाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई नबुझाएकोमा पनि स्थानीयवासी आक्रोशित छन्।

स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ। पानी रोक्दा भने योभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले सरोकारवालासँग आग्रह गरे।

यता मेलम्चीको पानी काठमाडौं ल्याउन पूर्वाधार पुनःनिर्माणको तयारी सरकारले गर्न थालेको छ।

वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको समूह आज आयोजनास्थल पुगेको छ। मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उनले बताए।

राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ। पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकाका ३ जिल्लाका विभिन्न ठाउँमा वितरण गरिन्छ।

मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट सुन्दरीजलसम्म साढे २७ किलोमिटर सुरुङ मार्ग हुँदै राजधानी ल्याइन्छ।

विसं २०७७ चैतमा बहुप्रतीक्षित मेलम्चीको पानी राजधानी आइपुगेको हो। करिब साढे २ महिनापछि वर्षाले असर गर्न सक्ने अनुमानका कारण २०७८ साल जेठ अन्तिम साता सुरुङमा पानी हाल्न बन्द गरिएको थियो।

सुरुङमा पानी बन्द गरेको भोलिपल्ट नै असार १ गते आएको गेग्रानसहितको बाढीले मुहानस्थलमा क्षति पुगेको थियो।

विसं २०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी ५ महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो। यस वर्ष भने सुरुङमा पानी बन्द गरिएको ५ महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल नगर्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.