'मकवानपुरमा विकासका काम गर्न मेरो जित आवश्यक छ'

|

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले मकवानपुर–२ बाट पाँचौँपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

खतिवडाले यसअघि विना अवरोध चार वटा निर्वाचन जिते।  २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी भएका उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए।

फरक पार्टीलाई लिएर गठबन्धनबाट पुनः चुनाव जित्ने उनको दाउ छ तर एमाले छाडेर नयाँ दलबाट चुनावी मैदानमा उत्रिएका उनका लागि आगामी निर्वाचन अवसर र चुनौती दुवै छ।

खतिवडाले आफ्नो कडा प्रतिस्पर्धीको रूपमा आफ्नै चेला महेश बर्तौलालाई पाएका छन्। गत निर्वाचनमा उनलाई जिताउन चुनावी मैदानमा खटिएका उनकै चेला आगामी निर्वाचनमा उनलाई हराउन मैदानमा उत्रिएका छन्।

एमाले युवा नेता बर्तौला कुनै समय राजनीतिमा खतिवडाका चेला थिए। कुनै समय गुरुचेलाका रूपमा रहेका उनीहरू मंसिर ४ को चुनावमा एकअर्काविरुद्ध उभिएका छन्। चुनावी सेरोफेरोमा केन्द्रित रहेका उनै खतिवडासँग थाहाखबरकर्मी श्रीजना नेपालले गरेको कुराकानी :

पाचौँ पटक तपाईँको उम्मेदवारी किन?

हाम्रो संविधानले ५-५ वर्षमा आवधिक चुनाव तय गरेको छ। कतिपटक के भन्ने कुनै प्रावधान कानुनी रूपमा केही पनि छैन। त्यसैले म जस्तै अरु कयौँ उम्मेदवारहरू पनि उठेको देख्नु भएको होला। किन भन्नुपर्दा, स्वाभाविक रूपमा नै मैले जे जति काम गरेको छु। त्यो आधारबाट पनि मलाई पार्टीले,यहाँको मतदाताले र गठबन्धनले पनि मकवानपुर क्षेत्र नं. २ मा ‘विरोधजी उठ्ने हो, अरु होइन’ भन्ने कुरा भयो। स्वयं प्रचण्डजीले पनि भन्नुभयो।

त्यसैले अन्य जिल्लामा जस्तो यहाँ कांग्रेस माओवादीबाट पनि केही सुन्नु भएको छैन होला। निर्वाचन जित्ने हिसाबले म सजिलो हुन्छु भनेर मलाई उम्मेदवार बनाएको हो। नेपालको आवश्यकता अनुसार हाम्रो ग्रामीण जीवन ,पहाडी जिल्ला भएकाले ठूलो ठूलो कुरा भन्दा पनि जनताको प्राथमिक आवश्यकता भनेको स्वास्थ्य,शिक्षा,खानेपानी र पुल लगायत नै मुख्य प्राथमिकतामा छन्।

ती कामहरू कति भएका छन्,कति हुन बाँकी छ। दुर्गम भेगबाट डाडाखर्क आसपासबाट धादिङ लाने सडक ९८ करोड राखेर नयाँ परियोजना गर्ने,मनहरीबाट कैलाश जोड्ने सडकहरू निर्माण गर्ने,दुई वटा गाउँमा अहिलेसम्म पक्की सडक पुगेका छैनन्।

राक्सिराङको सदरमुकाम र कैलाशको सदरमुकामको काम मैले फत्ते गर्नुपर्ने छ। चित्लाङमा मैले बहु प्राविधिक विश्वविद्यालयमा दुई अर्ब १० करोड लगानी गरिसकेको छु। अर्को वर्षबाट त्यहाँ पढाइ सञ्चालन हुने गरी काम सम्पन्न गर्नुपर्नेछ।

कैयौँ अधुरा योजना सञ्चालन गर्ने र अरू थप आवश्यकता पूरा गर्दै जानको लागि मेरो उम्मेदवारी हो। नयाँ अभियानको रूपमा अहिले मैले गाँजाको मुद्दालाई दुई वर्षदेखि संसदमा पनि उठाइरहेको छु। त्यसलाई निष्कर्षमा पुर्‍याउने क्रममा म छु।

संयुक्त राष्ट्र संघले पनि गाँजालाई लागूऔषधबाट हटाएको छ। हामीले नेपालको तर्फबाट मतदान पनि गर्‍यौँ। गाँजा औषधिजन्य बिरुवा हो। यसको नेपालमा विधेयक बन्ने क्रममा छ। गृहले विधेयक बनाइसकेको छ।अर्थले पनि सहमति दिइसकेको छ।

कानूनमा यसको भाषा हेर्ने क्रममा छ। यो पटकको संसदमा त्यो ल्याउन सकिएन। केपी ओली सरकारमा हुँदा नै मैले यो प्रयत्न गरेको हुँ। तर,उहाँले म उहाँको विपक्षमा भएकोले प्राथमिकतामा राख्नुभएन। पछि गठबन्धनको सरकार बनेपछि गर्न खोज्दा ९ महिना संसद्‍ अवरुद्ध गरियो।

अत्यावश्यक प्रकृतिका विधेयकबाहेक अरु त्यहाँ प्रवेश गर्ने र छलफल गर्ने वातावरण थिएन। त्यसैले गाँजाको विषयलाई मैले निष्कर्षमा पुर्‍याउनु छ। समग्रमा भन्नुपर्दा निर्वाचन क्षेत्रको जनप्रतिनिधिको नाताले यहाँको केही आवश्यकता पूर्ति गर्दै जाने र अर्को विधेयकको हिसाबले आवश्यक कानुन निर्माण गर्ने कुरामा मुख्य रूपले केन्द्रित हुन मैले उम्मेदवारी दिएको हुँ।

मकवानपुरे जनताले तपाईँँलाई ४ पटक जिताएर पठाए। तपाईँले के गर्नुभयो मकवानपुरका लागि?

मैले थुप्रै काम गरेको छु। चित्लाङको बहु प्राविधिक विश्वविद्यालयमा दुई अर्ब १० करोड निकासा भइसकेको छ, ९८ करोड लागतमा गोगने हुँदै मोहरिया हुँदै धादिङ जाने बाटोको काम सुरु भएको छ। ४० करोडमा पकनी हुँदै दक्षिणी भेग आउने सडकको ५–६ दिनमा टेण्डर हुन्छ होला।

कैयौँ ठाउँमा खानेपानीका ठूला ठूला योजना सञ्चालन भएका छन्। थाहा नगरपालिकामा १७ करोडको खानेपानीको योजना सम्झौता भएर काम सुरु भइसकेको छ।

थाहामै १८ करोडको लागतमा अक्सिजन प्लान्टसहित अस्पताल बन्दैछ। मकवानपुरको दुर्गम क्षेत्र ईपा कोगटेमा जाने ३० करोडको लागतको दुई वटा पुलसहितको सडक निर्माण भएर अहिले यातायात सञ्चालनमा आइसकेको छ।

वासुदेव मार्ग भनेर बूढीचौर हुँदै सिस्नेरी निकाल्ने बाटोको लागि रातो किताबमा बजेट छुट्याउने क्रम सुरु गरेको छु। त्यहाँ ९ करोड खर्च भइसकेको छ,अब धेरै बाँकी छैन।

रजैयाबाट दरदरा हुँदै मसिने,चकरी,मकरी पुग्नको लागि बाटो निर्माण गर्न रातो किताबमा बजेट राख्न लागेको छु। ‘चेपाङलाई उज्यालो’ भन्ने मैले अभियान नै सुरु गरेको हुँ। त्यसअन्तर्गत अहिले पनि १२-१५ करोडको काम राक्सिराङमा भइरहेको छ।

इन्द्रसरोवरको ताललाई पोखराको फेवातालकै रुपमा पर्यटक आउने गरी अगाडि लैजान केन्द्र सरकारले ‘एक प्रदेश एक पर्यटकीय स्थल’ भन्ने नीति अनुरूप मैले मकवानपुर जिल्लाको इन्द्रसरोवर ताललाई एक मात्रै पर्यटकिय स्थलको रूपमा विकास गर्ने केन्द्र सरकारले निष्कर्षमा पुर्‍याएको छ। आमभञ्ज्याङ र गढीको बीचमा रहेको सामरी पुलमा ३ वटा पुल बनेको छ।

मनहरीको राप्ती खोलामा म निर्वाचित हुने बेलामा एउटा केही पनि थिएन अहिले त्यहाँ २ वटा झोलुङगे पुल र ३ वटा पक्की पुल चालु अवस्थामा छ। मकवानपुर जिल्लाबाट काठको पोललाई विस्थापित गर्ने भन्ने अभियानमा पनि लागेको छु। त्यो लगभग ८० प्रतिशत सम्पन्न भएको छ।

परेवाभीरजस्तो संकटकालीन अवस्थामा ठाँउमा बाटो निर्माण हुने काम सुरु भइसकेको छ। यो ढंगले मैले शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युतीकरण यी सबै क्षेत्रमा काम गरेको छु। त्यो पनि मैले लाख,२० लाख ५० लाखको कुरा गरिरहेको छैन, करोडौँको कुरा गरिरहेको छु।

विगतको निर्वाचनको तुलनामा अहिले जनताहरूमा उत्साह देखिएन नि!

०२८ सालदेखि नै हेर्दा पनि यो घटनाक्रम देखिन्छ। एकपटक मान्छेले हेरेपछि केही सुधार गर्न सकिन्छ कि भन्ने पाटोबाट हेरिरहेको हुन्छ। अहिले मान्छेमा चेतनास्तर पनि बढेको छ। ४०-५० सालतिरको चेतनास्तर र अहिलेको  विज्ञानप्रविधिले धेरै सूचना प्राप्त गर्न सक्ने हुनाले जागरुकता बढेको छ।

त्यो वेला त्याग थियो। पञ्चायत व्यवस्थाविरुद्व लडेर आएकाहरू सबै दुख पाएकाहरू थिए। जेलनेल खाएका थिए। जनताले नेताको त्याग देखेका थिए। पार्टीप्रति अगाध विश्वास पनि थियो। त्यो कारणले गर्दा निर्वाचन जनताकै बलमा ,जनताकै खर्चमा लडिएको थियो भने त्यसपछिका निर्वाचनहरू क्रमशः खर्चिलो बन्दै गए।सरकारहरू बन्ने र बिग्रने क्रममा अनेकौं भ्रष्टाचारका कुरा बाहिर आउने थाले। यसका कारण जनमानसमा पार्टी र नेताहरू भनेको भ्रष्टाचारी हुन्,पैसा विना यिनीहरूले काम गर्दैनन् भन्ने छवि बनेको छ। त्यो कारणले गर्दा पनि चुनाव आयो भनेपछि ‘खर्च बढ्छ, निर्वाचित भएपछि नेताले भ्रष्टाचार गर्छ’ भन्ने मानसिकता विकास भएको छ।

पहिलाको चुनाव निष्ठासँग,त्यागसँग र विश्वाससँग गाँसिएको थियो। अहिलेको चुनाव त्यो पाटोबाट घट्दै गएर चुनावमा यही हो मौका भन्ने ढंगले खर्चलाई बढाउने प्रवृत्ति बढेको छ। केही नेताले यो प्रवृत्तिलाई प्रोत्साहन पनि गरेका छन्। चुनाव जित्नैपर्छ भन्ने एक प्रकारको उत्कट आकांक्षाको कारण पनि चाहिने भन्दा बढी खर्च गरेका छन्। त्यसैले समग्रमा अहिले चेतना बढेको छ। निष्ठा घटेको छ।

तपाईँ स्वास्थ्यमन्त्री पनि बन्नुभयो। स्वास्थ्य मकवानपुरमा प्रमुख समस्याको रुपमा रहेको छ। त्यो समस्या समाधान गर्न तपाईँले केही पहल गर्नुभएन भन्ने गुनासो छ नि!

यो बेकारको कुरा हो। प्रत्येक जिल्लामा वीर हस्पिटल,टिचिङ हस्पिटल बन्न सक्दैन। त्यो सम्भावना हुँदैन। हामीसँग आर्थिक पक्ष बलियो भएपछि ५० वर्षपछि बन्ला। हामीले नीतिगत रूपमा सातवटै प्रदेशमा ५०० बेडको अस्पताल निर्माण गर्ने भनेर निर्णय पनि गरेका छौँ।

मकवानपुरमा पहिलाको भन्दा धेरै सुधार भएको छ। हाम्रो अस्पतालको भवन पनि राम्रो बनेको छ। त्यो वेलामा अनावश्यक रूपमा विवाद खडा गरिएको थियो। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई लिएर तत्कालीन एमालेको सरकारले विवाद सिर्जना गर्‍यो।

एउटा जिल्लामा एउटा सरकारी अस्पताल अनिवार्य  चाहिन्छ। हेटौंडा अस्पताल पुरानो अस्पताल हो। उसको आफ्नै भवन छ।कर्मचारी छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यो सबै जनशक्ति,भवन,जमिन सित्तैमा लिएर त्यसलाई निजी ढंगले मनोनित गरेको मान्छेबाट चलाउने र बिरामीलाई महँगो उपचार पर्ने गरी चलाउन खोज्यो।

विना पुँजी हेटौंडा अस्पतालको सम्पत्ति लगेर बिरामीलाई महँगो उपचार लैजाने षड्यन्त्रलाई चिरियो। स्वास्थ्य क्षेत्रमा मकवानपुरको ग्रामीण भेगमा भन्ने हो भने लगभग सबै पालिकामा १५ बेडको अस्पताल तयार भएका छन्। वडामा पनि सामुदायिक स्वास्थ्य केन्द्र लैजाने भन्ने अन्तर्गत म स्वास्थ्य मन्त्री भएको बेलामा जिल्लाका साथीहरूलाई भनेँ। केही आउनुभयो र हामीले वडा वडामा सामुदायिक स्वास्थ्य केन्द्र खडा गर्‍यौँ। खाली ठाउँमा अझै पनि गर्न सकिन्छ।

तपाईँको प्रतिस्पर्धीको रूपमा तपाईँको आफ्नै चेला हुनुहुन्छ। यसलाई कसरी हेर्नुभएको छ?

चुनावमा हामीले चाहेको नै यही हो। दलीय व्यवस्था स्थापना गर्न,पञ्चायत व्यवस्था ढाल्न,गणतन्त्र ल्याउन प्रतिस्पर्धाको राजनीति चाहिन्छ भनेर हामीले ल्याएको हुँदा पाँच वर्षमा आउने चुनावमा दलीय, व्यक्तिले वा स्वतन्त्र उनीहरूको अधिकार हो।

 यसलाई म स्वागत गर्छु। त्यसकारण बा उठ्यो,छोरा उठ्यो वा भतिजा उठ्यो भन्ने कुरा होइन। कुन पार्टीबाट उठ्यो भन्ने पनि ठूला कुरा होइन। यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ। त्यसै अन्तर्गत कुनै एउटा खास पार्टीबाट महेश पनि उम्मेदवार भएका छन्।

यसलाई मैले कुनै अनौठो रूपमा लिएको छैन। अन्य १० जना उम्मेदवार जस्तै मैले लिएको छु। म आफैँ पनि त्यही भीडको एउटा उम्मेदवार हुँ।

अघिल्लो पुस्तासँग पछिल्लो पुस्ता रुष्ट रहेको कारण 'नो नट अगेन' अभियान नै चलिरहेको छ। तपाईँ पनि धेरै पटक विजयी भइसक्नु भयो। यसले तपाईँप्रतिको क्रेज अलि घट्दो जस्तो देखिँदैन?

‘फूलको आँखामा फूलै संसार,काँडाको आँखामा काँडै संसार’ भने जस्तो हो। विरोध हारोस् भन्ने आँखाले विरोधलाई कम भोट पर्छ भनेर मूल्यांकन गरेर बसेका हुन्छन्।

‘पुरानो अनुभवी,जनताको काम गरिरहेको छ,विकास निर्माणमा चासो लिएको छ,हामीसँग सधैँ हाँसेर बोल्छ,जुन पदमा भए पनि फुलेर बस्दैन’ भनेर सपोर्ट गर्ने पनि छन्। त्यसले गर्दा पनि मलाईअघिल्लो पटक भन्दा यो पटक सहज छ र यो पटक म मत पनि बढी ल्याउँछु भन्ने विश्वास छ।

त्यो गठबन्धनको कारण पनि हो। बाँकी चाहि भोट दिने,नदिने भन्ने मान्छेको रोजाइको कुरा हो। पुरानालाई नदिने भन्ने को भने कुन पार्टीले भनेको हो? एमालेले भनेको हो भने केपी ओलीलाई किन दोर्‍याएको? ईश्वर पोखरेल, शंकर पोखरेल किन दोर्‍याएको?उनीहरू कहिले युवा भए? एमालेको लागि केपी ओली चाहि युवा हुने विरोध खतिवडा चाहि बूढो हुन्छ?

यहि राप्ती खोला पारि युवा चाहिने,खोला वारि आएपछि कमल काका भए पनि हुने। खोलापारी गएपछि युवा चाहिन्छ पुरानालाई हटाउनुपर्छ भन्ने अनि खोला वारि आएपछि काका नै चाहिन्छ, यो हुँदैन भन्ने!

म भन्दा कमल थापा ५\६ वर्षले जेठो हुनुहुन्छ। बारम्बार भन्ने हो भने म भन्दा कमलजी २ चोटी बढी चुनाव उहाँ नै उठ्नु भएको छ। त्यो पार्टीलाई यी पात्रहरू चाहिँ स्वीकार हुने,खास एउटा विन्दुमा चाहिँ देशैभरी युवा ल्याउनुपर्छ भनेर माहोल बनाउन खोजिएको छ।

यो चुनावी फण्डा मात्रै हो। ‘नो नट अगेन’ भन्ने स्वतन्त्रताको कुरा हो। भनिरहनै पर्दैन, मतदान गर्न नगए भइगयो नि! स्वतन्त्र उम्मेदवारको कुरा भनेको प्रत्येक चुनावमा थिए। ०४८ सालमा पनि स्वतन्त्र उम्मेदवार थिए र जितेर आएका थिए। ०५१, ०५६, ०६४ र ०७४ मा पनि थिए। अहिले पनि स्वतन्त्र उम्मेदवार संसदमा आउँछन्।

अहिले स्वतन्त्र भनेको ठुलो हौवा भन्ने ढंगले खडा गरियो। तर,हरेक चुनावमा स्वतन्त्रले जितेका थिए। यो पटक चाहिने भन्दा बढि चर्चा किन भयो भन्दा  राजधानी काठमाडौंजस्तो ठाउँमा जहाँ नेपाल र विश्वका सबै मिडिया केन्द्रित हुन्छन्। त्यहाँ जितेको भएर स्वतन्त्र भनेर चाहिने भन्दा बढि हल्ला भएको हो। त्यसले गर्दा एमाले,कांग्रेस ,गठबन्धनलाई हराउन सकिँदो रहेछ भन्ने मनोबल बढेको छ।

त्यो पनि एकजुट संगठित भएर होइन। ‘सेलिब्रेटी’ भएपछि जित्न सकिन्छ भन्ने परेको छ। घण्टी,लौरो ,करुवा सबै स्वतन्त्र भनेर उठेका छन्। कुनै वेला नयाँ शक्ति भनेर आएका थिए। अहिले राप्रपामा विलय भइसकेका छन्।

संगठित भएर उनीहरू आउन सकेको भए पनि केही न केही नतिजा आउन सक्थ्यो होला। उनीहरू आफै विवादित छन्। खरेलजी आफैँ हिरो। रवि आफैँ हिरो। अरु को–को उठेका छन् आफैँ हिरो बनेको छन्।  त्यसले गर्दा स्वतन्त्र भनेर एउटा जुन लहर ल्याउन खोजिएको थियो, उनीहरू आफैँ विभाजित भएकाले म यो सम्भावना कम देख्छु।

तपाईँले चुनाव जित्ने आधार चाहि गठबन्धन नै हो कि अरू पनि केही छ?

अहिले हामी गठबन्धनमा छौँ।झन् आधार बलियो भयो। म एक्लै पनि चुनाव जितिरहेको थिएँ। एमालेमा म नै नेता भएर ३५ सालदेखि निर्माण गरेको हो। मेरो विश्वासमा कैयौँ साथी एमालेका लागेका थिए। अहिले म गएपछि एमालेको आधा जति मतदाता मसँग आएका छन्। गठबन्धनको कांग्रेस र माओवादीको मत पनि मलाई सपोर्ट भएपछि पहिला भन्दा मैले सजिलो ढंगले जित्ने बाटो खुल्यो नि!

जनताले तपाईँलाई किन भोट दिने?

यो अनुत्तरित प्रश्न हो। चुनाव गरेकै मत दिन र नदिन पाउनको लागि हो। ५-५ वर्षमा तिमीले भोट दिएको पार्टीसँग तिमीलाई चित्त बुझेको भए दोर्‍याएर देऊ, जिताएको उम्मेदवार चित्त नबुझेको भए ‘आउट गर’ भनेरै हामीले यो व्यवस्था गरेको हो। अहिले पनि मलाई चारचोटी जिताएका जनताले ‘हामी जिताउछौँ, आउनु’ भने।

व्यक्ति आफैँ चुनावमा गए त १००-५० भोट पनि नआउला। त्यसले गर्दा मलाई यो क्षेत्रको मतदाताले पुनः तपाईँ उठ्नुपर्छ,अरू हुँदैन भने। मेरो पार्टीले स्वीकार गर्‍यो। शेरबहादुर र प्रचण्डजीले पनि विरोध जी नै उठ्नुपर्छ भनेर ‘माइन्युट’ गरेपछि म उठेको हुँ।

अघिल्लो चुनावमा तपाईँलाई जिताउन हिँडेकाहरू अहिले हराउन हिँडेका छन्। केही चुनौती पनि देख्नुहुन्छ कि?

म एमालेमा थिए। एमालेले मलाई जिताउन हिँडेको थियो। एमालेले चार पटकसम्म विरोध खतिवडालाई जिताउँदा मलाई एकदम लायक, योग्य, वरिष्ठ, ज्ञानीगुणी, विकासप्रेमी भनेर ०७४ सम्म नारा लगाएर हिँडेकै हो।

अब अहिले आएर पाचौँपटक उठ्दा चाहिँ विरोधजतिको रद्दी, काम नलाग्ने, सिन्को नभाँच्ने भयो? अघिल्लो चुनावमा मलाई जिताउन हिँडेकाहरू अहिले हराउन हिँडेका छन्। एमालेले मलाई हराउन हिँड्नु स्वाभाविक हो। म पनि एमालेलाई हराउन हिँडेको छु।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.