|

काठमाडौं : चिसो शुरु भएसँगै डेंगुका बिरामीको संख्या घट्दै गए पनि पछिल्लो समय बिरामीमा डेंगु निको भइसकेपछिका समस्या बढ्न थालेको पाइएको छ।

डेंगु संक्रमण दर घट्दै गएको समयमा डेंगु निको भइसकेको १/२ महिनापछि पनि बिरामीहरू विभिन्न स्वास्थ्य समस्या लिएर आउने गरेको बताउँछन् काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन।

उनका अनुसार पछिल्लो एक सातायता केही समयअघि डेंगु भएकाहरूले आफूलाई पूर्ण रुपमा सन्चो नभएको भन्दै आउने गरेको र कतिपयले त फोनबाटै परामर्श लिने गरेका छन्।

डा पुनले भने‚ ‘यसअघि कोभिडमा पोस्ट कोभिड समस्या देखिएजस्तै यस पटक आजभोलि पोस्ट डेंगु समस्या भएका बिरामी बढ्न थालेका छन्। अहिले डेंगु संक्रमण घटे पनि केही दिनयताका बिरामीसँगको कुराकानीका आधारमा पोष्ट डेंगु समस्या भएका बिरामीहरू विस्तारै बढ्न थाले जस्तो देखिएको छ।

यसकारण बढिरहेको छ 'पोस्ट' डेंगु समस्या

विगत वर्षहरूमा नेपालमा देखिएको डेंगु संक्रमणभन्दा यस वर्ष डेंगुका बिरामीमा कडा खालको लक्षण देखिएको, संक्रमणका वेला शारीरिक दुखाइ, उच्च ज्वरो जस्ता लक्षण कडा देखिएकाले डेंगुमुक्त हुन र स्वस्थ हुन बिरामीलाई लामो समय लागेको अनुभव डा पुनको छ। 

त्यसैले डेंगु लागेर निको भएपछि पनि लामो समय विभिन्न खालका स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ। ‘यो वर्ष हाम्रोमा डेंगुका कडा लक्षण भएका बिरामीहरू धेरै भए जसले गर्दा उनीहरूलाई लामो समयसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिएको छ‚’ डा पुनले भने।

निको भएको कति पछिसम्म ‘पोस्ट डेंगु’ समस्या भन्ने

डेंगु सन्चो भएको १/२ महिनापछि पनि थकित हुने, स्याँ-स्याँ हुने, वाक्-वाक् लाग्ने, मुटुको धड्कन बढे जस्तो हुने र मुख्य रुपमा शारीरिक तापक्रम सामान्य अवस्थाभन्दा अलि बढी तातो जस्तो हुने लक्षण देखिए पोष्ट डेंगु समस्या भएको बुझ्नुपर्ने डा पुनको भनाइ छ।

‘डेंगु संक्रमणमुक्त भएको १/२ महिना भयो तर स्याँ-स्याँ हुने, वाक्-वाक् लाग्ने, मुटुको धड्कन बढे जस्तो हुने, शरीर तातेजस्तो हुने गर्छ भन्दै परीक्षणमा आउनेहरूको परीक्षण गर्दा खासै स्वास्थ्य समस्या देखिँदैन‚ जसलाई हामीले पोष्ट डेंगु समस्या भन्ने गरेका छौँ,’ उनले भने‚ ‘अहिले यस्ता समस्या लिएर आउने बिरामी बिस्तारै बढ्न थालेका छन्। दैनिक ५/६ जनासम्म परीक्षणमा आउनुहुन्छ धेरैले त फोनबाट सोध्ने गर्नु भएको छ।‘

हाल पोस्ट डेंगु समस्या भएकाहरूमा टाउको भारी हुने, अत्यधिक थकान महसुस हुने, एकाग्रता नहुने, शारीरिक तथा मानसिक रुपमा कमजोरी हुने र कसै कसैलाई आत्महत्याको सोचसमेत आउने, मांशपेशी दुख्ने तथा गिजा (दाँत) दुख्ने र अत्यधिक कपाल झर्ने, मटु ढुकढुक हुने, कसैलाई निद्रा नलाग्ने, कसैलाई निद्रा बढी लाग्ने, कसै कसैमा बिर्सने जस्ता समस्या भएको बिरामीले सुनाउने गरेको डा पुनले बताए।

‘सामान्यदेखि केही जटिल खालका पोस्ट डेंगु समस्या लिएर परीक्षणमा आउने धेरैले फोनबाट परामर्श लिने गर्नु हुन्छ, पोस्ट डेंगु समस्याबारे‚’ उनले भने।

अन्य देशले अध्ययन गरेका भए पनि हाम्रोमा यसबारे खासै अध्ययन नभएको डा पुनले बताए। ‘डेंगु निको भएका बिरामीमा यस्तो समस्या देखिने त्यहाँ भएका अध्ययनहरूले देखाएका छन्। यस्ता समस्या देखिएका आधा बिरामीमा केही दिन वा हप्तामा आफैँ निको भएर जान्छ तर अलि जटिल प्रकारका समस्या देखिनेहरूलाई भने समस्याअनुसारकै विशेषज्ञ उपचार सेवा पनि आवश्यक पर्छ‚’ उनले भने।

एडिस एजिप्टी प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबाट यो वर्ष साउनदेखि डेंगु संक्रमण तीव्र गतिमा फैलिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लाबाट ५० हजारभन्दा बढीमा डेंगु पुष्टि भइसकेको छ भने ५५ जनाको मृत्युसमेत भएको छ।

साउनको पहिलो हप्ता ललितपुरबाट फैलिएको डेंगुका बिरामी यस वर्ष काठमाडौं उपत्यकामा सबैभन्दा धेरै देखिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.