|

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘हेभीवेट’ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ मा प्रतिस्पर्धा गर्न उक्लिएपछि उनी चर्चामा छन्।

गोरखा-२ मा सत्तारुढ गठबन्धन बाहेकका अन्य दल तथा उम्मेदवार भने आफूलाई बलियो बनाउन ‘टुरिस्ट’ नेता आएकाले प्रचण्डलाई पराजित गर्नुपर्ने भन्दै घरदैलो अभियानमा जुटिरहेका छन्।

सत्तारुढ गठबन्धन भने चितवनमा जस्तै विकासको गति गोरखामा पनि ल्याउनका लागि गोरखावासीले प्रचण्डलाई जिताउनै पर्ने बताउँदै आएको छ। गठबन्धनको साथ पाएकाले आफूलाई बलियो ठानिरहेका प्रचण्ड बाबुरामको समेत साथ पाएपछि चुनावी नतिजा आफ्नो पक्षमा आउने कुरामा विश्वस्त रहेको देखिन्छ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उक्त क्षेत्रमा तत्कालीन नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराईले ३१ हजार ८०७ मत ल्याएर विजयी भएका थिए।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए। उनीहरूबीच ६ हजार ८७४ मतको अन्तर रहेको थियो।

२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा ९ जना उम्मेदवार यो क्षेत्रमा चुनावी मैदानमा रहेकोमा भट्टराई र श्रेष्ठले बाहेक अरूले २ सय मत पनि पाएनन्।

यस पटकको निर्वाचनमा महत्त्व दिइएका ६६ वर्षीय प्रचण्डसँग अन्य ११ जना उम्मेदवार पनि चुनावी मोर्चामा डटेका छन्।

प्रचण्डसँग प्रतिस्पर्धी रहेकाहरूमध्ये २ जना उम्मेदवारका नाम अगाडि आउँछ। पहिलो हुन्- सत्तारुढ गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले) बाट उम्मेदवार रहेका अब्दुस सलाम मियाँ।

२०५० सालमा गोरखामा जन्मेका अब्दुसले २०७४ सालमा रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीतिक यात्रा शुरु गरेका थिए। गोरखामा जन्मिए पनि परिवारसहित काठमाडौंमा बसाइँ सरेका उनी एमालेको राजनीतिमा छिरे। विवेकशील नेपाली पार्टी हुँदै एमालेमा पुगेका उनलाई एमालेले प्रचण्डसँग भिडाएको छ।

स्वतन्त्र तथा युवा उम्मेदवारहरूको चर्चा र मागको बीचमा प्रचण्डलाई आफूले पराजित गर्ने कुरामा ढुक्क रहेको अब्दुस बताउँछन्। थाहाखबरसँगको कुराकानीमा उनले आफू युवा भएकाले पनि गोरखाका मतदाता आफूप्रति आशावादी रहेको दाबी गरे।

आफू घरदैलो जाने क्रममा गोरखावासीबाट पुराना नेताहरूले आश्वासन मात्रै बाँडेर पूरा गर्न नसकेको भनेर धेरैले दुःख बिसाएको पनि उनको भनाइ छ।

‘आश्वासन बाँडेकाहरूले पूरा गर्न सकेनन् भनेर मतदाताले चिन्ता व्यक्त गर्नुभएको छ। उनीहरू फर्किएर गाउँ नगएका कारण मुख देखाउन पनि समस्या रहेछ। मतदाताले मलाई पुरानै शैलीका नेता जस्तो नहुनुहोला हामी तपाईंलाई जिताउँछौँ भन्नुभएको छ’, अब्दुसले भने, ‘इमान्दार भएर देशको सेवा गर्नुहोस्, गर्न सक्ने काम मात्रै बोल्नुहोस् तर आश्वासन कतै नदिनुहोस् भन्नुभएको छ। असाध्यै राम्रो अवस्था बन्दै गइरहेको छ। मैले जति अपेक्षा गरेको थिएँ त्योभन्दा राम्रो अवस्था देखेर म र मतदाता दुवै उत्साहित भएका छौँ। अब युवाको पालो आउनुपर्छ।’

आफू चुनावी कार्यक्रममा जाँदा कतिपय मतदाताले ‘हामी मत त दिउँला, तर तिमीले मत कसरी जोगाउँछौ?’ भनेर सोध्ने गरेको उनले बताए। आफ्नो पक्षमा नतिजा ल्याउनका लागि जेसुकै पनि गर्न सक्ने नेता पनि सोही क्षेत्रबाट लडेकाले नागरिकले मतगणनासम्म मत जोगाउन पनि चुनौती देखेको अब्दुसको भनाइ छ।

सबैभन्दा कान्छा प्रतिस्पर्धी २९ वर्षे अब्दुसलाई भोगिरहेका प्रचण्डले सबैभन्दा बढी उमेर भएका सय वर्षका टीकादत्त पोखरेलसँग पनि एकैसाथ प्रतिस्पर्धा गरिरहेका छन्।

सिरानचोक गाउँपालिका–४ माझगाउँका पोखरेल नेपाली काँग्रेस (बिपी) बाट चुनावीमा मोर्चामा उत्रिएका छन्। एक त प्रचण्डसँगको प्रतिस्पर्धा दोस्रो एक शताब्दीका मान्छे भएर पनि उनले मतदातादेखि सञ्चारमाध्यमसम्मको ध्यान तानिरहेका छन्।

नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्ति सेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ गरेको बताउने उनले अहिलेका नेताहरूमा मातृभूमिप्रति कुनै जिम्मेवारी बोध नभएको तर्क गर्छन्।

देश लुटेर आफूले कमाएका, शहीदको सपना लत्त्याएका, सबै काम विदेशीको इशारामा गरेका लगायतका समस्या अहिलेका नेताहरूमा रहेको पोखरेलको दाबी छ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आए पनि सिंहदरबारको ढोका जनताका लागि सधैं बन्दको बन्द नै रहेकाले त्यसलाई खुलाउनुपर्छ भनेर आफू उमेरको प्रवाह नगरी चुनावमा होमिएको उनको भनाइ छ।

बिपी कोइरालाको साथमा रहेर काम गरेका उनले अहिलेका नेतामा बिपीको सन्देश नै कायम नरहेकाले बिपीको भाव जोगाउन पनि आफू चुनावमा आएको टीकादत्त बताउँछन्। परेवा चुनाव चिह्न लिएर उठेका उनी आफ्नो लक्ष्य हिन्दु राष्ट्र स्थापना गर्नु रहेको बताउँछन्।

सोही क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटी पनि चुनावी मैदानमा छन्।

अन्य प्रतिस्पर्धीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्त, नेपाल मजदुर किसान पार्टीका प्रह्लाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ तथा स्वतन्त्र गणेश देवकोटा र विनोदकुमार गुरुङ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.