४ वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगरमा छाडेर फर्केको गाडीले ठक्कर दिँदा छोराको मृत्यु

|

विराटनगर : चोकको चिया पसल होस् या अन्यत्र सबैतिर चर्चा मंसिर ४ मा हुने निर्वाचनकै हुन्छ। प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधिको ५ वर्षे कार्यकालको लेखाजोखा गरिसकेका मतदाताका लागि अब आउने निर्वाचनमा कसले जित्ला भन्ने खुलदुली छ।

मंसिर लाग्नै लाग्दा पनि रापिलो घामले नछोडेको इटहरी चोक‚ त्यसलाई अझै तताएको छ चुनावी माहोलले। 

चोक हुँदै गाउँबस्ती चुनावी चर्चाले ओगट्दै गर्दा इटहरीको विराटनगर लाइनमा भेटिएकी कालिका चौधरीलाई भने चुनावको चर्चा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैँ बनेको छ। उनलाई  परिवारको जिम्मेवारी र आफ्नो कामको मात्रै चिन्ता छ ।

कोइला र मकैसँग तीन दशकदेखि दरिलो नाता जोडिएको छ कालिकाको। इटहरी-८ मा बस्दै आएकी उनको मकै व्यवसायले पतिसहित ४ जनाको परिवारको गर्जो टारिरहेको छ।

चौधरीले जुनसुकै महिनाको राप र तापसँगै कठांग्रिने चिसोमा सडक किनारमा मकै पोलेर बेच्दा आउने पैसाले घरखर्च टार्ने मात्रै होइन यो व्यवसाय उनको परिवारको भरथेगको माध्यम बनेको छ।

‘३० वर्षदेखि यही ठाँउमा मकै पोल्दै बसेकी छु, अरु कमाई छैन। यसैले जसोतसो खान पुगेको छ,’ उनी सुनाउँछिन्, ‘यसले म र श्रीमानसहित ४ जना परिवारको जिम्मेवारी धानेको छ।’

४ वर्षअगाडि कमाउने छोरा सवारी दुर्घटनामा परेर मृत्यु भएपछि पारिवारिक जिम्मेवारीको गह्रौं भारी उनको काँधमा परेको छ।

कामबाट फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल छाडेर झापा फर्कंदै गरेको गाडीले ठक्कर दिँदा २२ वर्षको लक्का जवान छोराको उपचारका क्रममा मृत्यु भएको उनले आँखाका डिलमा आँशु टिलपिल पार्दै सम्झिइन्।

‘मेरो छोरा र उसको साथी कामबाट फर्किँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले मोटरसाइकललाई हानेपछि उपचारका क्रममा छोराको मृत्यु भयो। उसको मृत्युपछि क्षतिपूर्ति ५ लाख त पाएँ तर सन्तानभन्दा पैसा ठूलो थिएन‚ के गर्नु दैवको खेल यस्तै भयो,’ उनले दुखःको पोको फुकाइन्, ‘श्रीमानको कमाई छैन, हातमुख त जोड्नै पर्‍यो। त्यसैले मकै बेचेरै जेनतेन गुजारा चलेको छ।’

उनी आफ्नो व्यापार, परिवारको जिम्मेवारीसँगै मंसिर ४ गने हुने चुनावबारे पनि राम्रैसँग जानकार छिन्।

चोकको धुलो, मध्य दिउँसो तालु फुट्ने रापिलो घाम, झरी बादल र शीतको सामनासँगै परिवार धानिरहेकी उनका लागि निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैँ भएको छ।

हुन त नेताहरूले पूरा गर्न नसकेको प्रतिबद्धताबाट दिक्क बनेकी चौधरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय निर्वाचनमा जस्तै स्वतन्त्र उम्मेदवारलाई मत हाल्ने तरखरमा रहेको बताउँछिन्।

वेलाबखत घरदैलो कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरीको पार्टीको झण्डा फहराएको गाडी कुद्दै गर्दा उनी मकै पल्टाउँदै भन्छिन्, ‘जुन पार्टीले जिते पनि हुने केही होइन‚ जुन जोगी आए पनि खरानी नै घसेका।’

सुनसरी क्षेत्र ३ जहाँ तेस्रो पटक दुईजना थारु समुदायका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा एमालेका नेतृ भगवती चौधरी तेस्रो पटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

यसअघिका दुईवटा निर्वाचनमा बाजी मारेका गच्छदार यो निर्वाचनमा पनि जित्ने दौडमा छन्। यता, हार बेहोर्दै आएकी चौधरी पनि बदला लिने सुरमा लागिपरेकी छिन्।

त्यसका लागि चौधरी र गच्छदार दुवै उम्मेदवारले कालिका जस्ता सडक व्यापार गरेर घरगृहस्थी चलाउँदै आएका धेरै ‘कालिकाहरू’को समस्या समाधानको माग र प्रतिबद्धता पूरा गर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.