|

इलाम : जुलाई १३ अर्थात् विश्वकप फुटबलको जन्म भएको दिन। सन् १९३० आयोजक टोली उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै पहिलो विश्व विजेताको उपाधि हात पार्न सफल रह्यो।  पहिलो विश्वकप आयोजना गर्न पाँच राष्ट्रले निवेदन दिएका थिए। इटाली, स्वीडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफासँग माग गरेका थिए।

उरुग्वेको स्वतन्त्रताको १०० सय वर्षलाई मध्यनजर गर्दै फिफाले उसलाई यो अवसर दिएको थियो। त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो। सहभागी टोलीलाई सामेल गर्न फिफालाई चुनौती थियो। दक्षिण अमेरिकासम्म लामो यात्रा तय गर्नुपर्ने भएकाले चार युरोपेली राष्ट्रले मात्र सहभागिता जनाए। त्यस्तै एसिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रको सहभागिता रहेन। 

उरुग्वेको राजधानी मोन्टेभिडियोमा सम्पन्न ‘ड्र’ मा उरुग्वे, ब्राजिल, अर्जेन्टिना र अमेरिकालाई भिन्न समूहमा राख्दै समूह चरणको प्रतिस्पर्धाको ढाँचा तयार गरियो। १९३० को विश्वकप एक मात्र त्यस्तो विश्वकप हो जसमा सहभागी टोलीले छनोट चरण पार गर्नु परेन। समुद्री बाटो हुँदै फ्रान्स उरुग्वे पुगेको थियो। करिब तीन साता आन्ध्र महासागरको यात्रा तय गर्दै उरुग्वे पुगेको फ्रान्सेली टोलीले विश्वकपको इतिहासमा पहिलो गोल गरेको थियो। लुसियन लाउरेन्टले मेक्सिकोविरुद्ध ४–१ को जितमा पहिलो गोल गर्दै विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बने।

फ्रान्सले समूह १ को दोस्रो खेलमा अर्जेन्टिनाको सामना गर्दा अर्जेन्टिना १–० को अग्रतामा रहेको अवस्थामा रेफ्रीले खेलमा ६ मिनेट बाँकी रहँदै समाप्तिको घोषणा गरे। खेलपछि पुनः सञ्चालन गरिए पनि फ्रान्सले बराबरी गोल गर्न सकेन। सो खेलमा लाउरेन्टको घुँडाको चोट लागेको थियो र पोजिसन चेन्ज गर्दै लेफ्ट विंगरको रूपमा खेल्नुपरेको थियो। त्यो चोटले उनलाई फ्रान्सको चिलीसँगको तेस्रो र अन्तिम खेलबाट बाहिर राख्यो, जुन अर्को १–० को हारमा समाप्त भयो। समूह १ मा ४ टोलीको सहभागिता थियो भने अन्य तीन समूहमा समान ३ टोली थिए।

पहिलो दिनको अर्को खेलमा अमेरिकाले समूह ४ मा बेल्जियमलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। समुह २ को  पहिलो खेलमा योगोस्लाभिया ब्राजिललाई २–१ ले स्तब्ध बनाउन सफल रह्यो। समूह ३ मा पेरुलाई रोमानियाले ३–१ ले हरायो।  समूह विजेताको रूपमा अर्जेन्टिना, अमेरिका, उरुग्वे र योगोस्लाभियाले सेमिफाइनलमा स्थान बनाए। दुवै सेमिफाइनलमा ६–१ को नजिताले जित हासिल गर्दै उरुग्वे र अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरे।

उरुग्वेले योगोस्लाभियालाई तथा अर्जेन्टिनाले अमेरिकालाई पराजित गरेको थियो। ३०​ जुलाई १९३० मा पहिलो विश्वकपको फाइनल सम्पन्न भयो। कुन टोलीको बलले फाइनल खेलाउने भन्ने विवाद चर्किएपछि फिफाले पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गर्ने निर्णय लिएको थियो।

खेलको १२ औँ मिनेटमा पाब्लो डोराडोले उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। २० औ मिनेटमा कार्लोस प्युसेल्सले फरेराको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। ३७ औ मिनेटमा गुइलिर्मो स्टेबिलले अर्जेन्टिनाको अग्रता २–१ बनाए। उरुगवेका कप्तान होसे नाजीले स्टेबिल अफसाइड भएको दाबी गरे पनि रेफ्रीले गोल भएको निर्णय दिएका थिए।

दोस्रो हाफमा उरुग्वेले खेलमा अग्रता लिएको थियो। खेलको ५७ औँ मिनेटमा जोसे पेड्रो सिएले खेल २–२ को बराबरीमा ल्याए। त्यसको १० मिनेटपछि सान्तोस इरिआर्टेले गोल गर्दै खेललाई उरुग्वेको पक्षमा पुर्‍याए। खेलको अन्तिम समयमा हेक्टर क्यास्ट्रोले फिनिसिङ गोल गरेपछि ९३ हजार दर्शकको माझमा ४–२ गोल अन्तरको जितका साथ उरुग्वे प्रसिद्ध जुल्स रिमेट कप प्राप्त गर्दै पहिलो विश्वकप च्याम्पियन बन्यो।

फिफाका तत्कालीन अध्यक्ष जुल्स रिमेटले सुनौलो ट्रफी उरुग्वेका कप्तान होसे नासाजीलाई हस्तान्तरण गरे। जुलाई ३१ उरुग्वेमा सार्वजनिक विदा घोषणा गरियो। जबकि अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा भीडले उरुग्वेको दूतावासमा ढुंगा प्रहार गर्दै नाराबाजी गरेका थिए। आठ गोलसँगै गुइलेर्मो स्टेबिल प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उपाधि विजेता टोलीका कप्तान नासाजी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए।

पहिलो विश्वकपको फाइनललाई फुटबल इतिहासले सदैव स्मरण गर्नेछ। सेन्टेनारियो रंगशालामा सम्पन्न उक्त खेलमा ९३ हजार समर्थकको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.