|

काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आउन ९ दिनमात्र बाँकी छ। देशभर निर्वाचनको वातावरण बनेको छ। उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न गाउँबस्ती धाइरहेका छन्। 

देशका सशक्त युवा तथा मतदाता भने रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। राजनीतिक दलले हरेक पटकको निर्वाचनअगाडि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लोकप्रिय घोषणा गर्छन् तर चुनावपछि यो विषय उठाउँदैनन्। त्यसैले नेपाली युवा रोजी रोटीको जोहो गर्न खाडीमा पसिना बगाउन बाध्य छन्।  

मतदान गर्ने दिन नजिकिए पनि रोजगारीका लागि विदेश जानेको लाइन भने कम छैन। शुक्रवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सधैँजसाे भीडभाड थियो। विमानस्थलको प्रस्थान गेट नजिकै चितवन घर भएका आत्मराम लम्साल भेटिए। पिठ्युमा कालो झोला बोकेर विमानस्थलभित्र प्रस्थानको तयारीमा रहेका थिए। लम्साल कतार रोजगारीमा जान लागेका हुन्। उनी ५ वर्षदेखि कतारको ‘होरम एग्रिकल्चर’ कम्पनीमा काम गर्छन्। बिदामा घर आएका लम्साल देशमा चुनावको माहोल चलेकै वेला विदेश जान लागेका हुन्। 

यस पाला मत दिने रहर हुँदाहुँदै पनि रोजगारीका लागि विदेश जानुपर्ने अवस्था आएको उनले बताए। उनलाई यसअघि निर्वाचनमा मतदान गर्न रहर नै लाग्दैनथ्यो। जुन राजनीतिक दलले जिते पनि देशमा परिवर्तन भएन।
 

रोजगारीका लागि देश परिवार छोडेर जानुपर्ने अवस्था छ। उनले भने, ‘अहिलेको निर्वाचनमा मेरो मतदान क्षेत्रमा नयाँ उम्मेदवार रवि लामिछाने छन्। मलाई भोट हाल्ने साह्रै इच्छा थियो तर मतदान गर्न पाइएन।’ लम्साललाई चुनावमा भोट हाल्न पर्खिएर बस्दा हुँदाखाँदाको रोजगारी गुम्ने चिन्ता छ। मताधिकारबाट वञ्चित भएर झोला बोकेर विदेशिनुपर्दा दुःख लागेको उनले सुनाए।

त्यसैगरी सर्लाही घर भएका महन्त यादव साउदी अरब उड्ने तयारीमा छन्। आइतबार बिहानको टिकट लिएका यादव दाइको बिदाइका लागि विमानस्थल आएका हुन्। निर्वाचन आए पनि देशमा बस्ने रहर नभएको उनले सुनाए। उनले भने, ‘यसअघि देशको विकास होला भन्ने आशामा भोट दिएर जिताइयो। उनीहरू लखपति भए हामी आज पनि पेट भर्नका लागि खाडी धाउनुपर्ने अवस्था छ।’   

भोट हाले पनि देशको मुहार नफेरिने उनले बताए। उनले भने‚ ‘भोट चाहिँ जसलाई दिए पनि हुन्छ। गाउँमा विकास हुनुपर्‍यो। हामीलाई रोजगारी र विकास हो। यही काम गर्नेलाई भोट दिन परिवारलाई भनेको छु। देशमा विकास भएको हेर्ने ठूलो रहर छ।’

उपर्युक्त घटना प्रतिनिधि मात्र हुन्। करिब ५० लाख नेपाली रोजगारीको खोजीमा विदेशिएका छन्। दुःख जति विदेशी भूमिमा गएर गर्नुपर्छ निर्वाचनका लागि बसेर केही नहुने धादिङका अमिष तामाङ बताउँछन्। आफू जस्तो विदेशिने नागरिकलाई विदेशमा कसरी काम पाउने भन्ने मात्र चिन्ता हुने गरेको उनको भनाइ छ। निर्वाचनअघि जनतालाई रोजगारी दिने लगायतका धेरै प्रतिबद्धता गर्ने गरेका छन् तर निर्वाचनपछि राजनीतिक दलहरूले जनताको उत्तरदायित्व बोध नगरेको उनको आरोप छ।  

सरकारले मतदानबाट वञ्चित गर्‍यो

सरकारको लापर्वाहीले विदेशमा रहेका नेपाली भोट हाल्न वञ्चित बनाएको जानकारहरू बताउँछन्। विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषय ६० वर्षदेखि चर्चामा छ। २०१५ सालको संसदीय निर्वाचनमा सहभागी गराउन भन्दै घोषणापत्र बनाइएको थियो। ‘विदेशबाट भोट, विकासको अठोट’ भन्ने नारासहित विभिन्न देशमा प्रचार गरिएको थियो तर ६० वर्षसम्म सरकारको लापर्वाहीका कारण विदेशमा रहेका नेपालीले योपटक पनि भोट हाल्न नपाएको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। 

यो वर्ष पनि राप्रपा नेपालले विदेशमा रहेका नेपालीलाई मताधिकार गर्न पाउने व्यवस्था गर्ने उल्लेख गरेको छ। विश्वका विभिन्न मुलुकले अनलाइन प्रणालीमार्फत मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेका छन्। विकास तथा प्रविधिले यति धेरै फड्को मार्दा पनि नेपाल सरकारले भने नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गर्न सकेन। 

बेलायत, अमेरिका, क्यानडा, भारत, बंगलादेश, चीन र युरोपका केही देशले विदेशमा रहेका आफ्ना नागरिकलाई अनलाइन प्रणाली, हुलाक सेवा र नियोगमार्फत मतदान गराउँदै आएका छन्। नेपालमा बसोवास गर्दै आएका यी देशका नागरिकले समेत नेपालबाट मतदान गर्ने गरेको गुरुङले सुनाए। नियोगमा सहभागी भएर मतदान गर्ने र नियोग नभएकाले अनलाइन प्रणालीबाट मतदान गर्छन्।
 
 
राजनीतिक दलले हरेक निर्वाचनअघि देशमा रोजगारी सिर्जना गर्ने घोषणा गर्दै आएका छन्। रोजगारीका लागि स्वदेश फर्काउने उल्लेख गर्दै आएका छन्। यसरी रोजगारीलाई हरेकपटक चुनावी एजेण्डा बनाउने प्रचार गर्ने तर पेट पाल्नका लागि खाडी  धाउनुपर्ने अवस्था आएकाले राजनीतिक दलसँग वितृष्णा बढेको गुरुङ बताउँछन्। नेपालमा राजनीतिदेखि जनता नै वाक्क भएका छन्। त्यही भएर भोटप्रति मतलब नहुने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.