|

धनगढी : कैलाली निर्वाचन क्षेत्र ५​ संसदीय निर्वाचन घोषणासँगै चर्चामा आएको क्षेत्र हो। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताएकी थिइन्।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उनको नाम एकल सिफारिश भएको पनि थियो तर उनले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिन्।

‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनु भएकाले कैलाली–५ बाट आगामी चुनाव लड्न नसक्ने हुँदा समानुपातिक रोजेँ’, उनले भनेकी थिइन्।

लगत्तै उनले कैलाली निर्वाचन क्षेत्र-५ छाडेर समानुपातिकमा बस्ने निर्णय लिइन्। उनी अहिले डडेल्धुराबाट प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार छिन्।

उनले आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई भने यही क्षेत्रको प्रदेशसभा (ख) मा टिकट दिलाएर चुनावी मैदानमा खडा गरेकी छन्। यस्तै यस्तै राजनीतिक घटनाक्रमले कैलाली क्षेत्र-५ चर्चाको केन्द्रमा तानिएको हो।

आरजुले यहाँबाट छाडर चुनावी मैदान खाली भएपछि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ।

उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सर्मथन छ। पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

यस्तै, एक्लै चुनावमा होमिएको नेकपा एमालेले नारदमुनि रानालाई फेरि उम्मेदवार बनाएको छ।

पूर्वमन्त्रीसमेत रहेका राना गत संसदीय निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले त्यस वेला नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गरेका थिए।

पन्त र रानालाई चक्मा दिँदै जित निकाल्ने घोषणा गरेका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा पनि सशक्त उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्।

उनी यस क्षेत्रको नेपाली कांग्रेसको पुरानो नेता तथा पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री हुन्। २०३४ सालमा कक्षा ८ मा त्रिनगर मावि धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएका थिए।

निर्वाचित भएपछि उनी त्यही वेला राज्यमन्त्री बनेका थिए तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र-५ मा कांग्रेसका तर्फबाट नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोप लागेका कारण कांग्रेसबाट ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो। 

कारबाही फुकुवा नभएपछि ओझाले स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका हुन्। उनलाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १० जना उम्मेदवार चुनावी मैदानमा छन्।

यहाँ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेबाट नारदमुनि राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीबाट नन्दाकुमारी दर्लामी मगर र लोकतान्त्रिक समाजवादीबाट दानबहादुर विश्वकर्मा चुनावी मैदानमा छन्।

पुष्करनाथ ओझा, गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

तर यो क्षेत्रमा मुख्य ३ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

यहाँ प्रतिनिधिसभा सदस्यमा एमालेका राना, गठबन्धनका पन्त र स्वतन्त्र उम्मेदवार ओझाबीच प्रतिस्पर्धा हुने देखिएको हो। उनीहरू यति वेला आफ्ना एजेण्डा लिएर संगठन परिचालन गर्न र मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्।

आफूले जित्ने सबैका दाबी

२०७४ सालमा कांग्रेसलाई पराजित गरेका एमालेका राना दोस्रो कार्यकालका लागि खटेका छन्। रानाले आफू चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरे।

उनले विकास, समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमालेले जित्नुपर्ने र पार्टीले आफूलाई उम्मेदवार बनाएकाले मतदाताले जिताउने दाबी गरे।

'अहिले हामीले धेरै भनिरहनुपर्ने अवस्था नै छैन। एमालेले उठाएका मुद्दालाई मात्रै हेरेर पनि जनतालाई हामीलाई ढुक्कसँग जिताउँछन् भन्नेमा हामी विश्वस्त छौँ। विकास, समृद्धि र राष्ट्र र राष्ट्रियताको रक्षाका लागि नेकपा एमालेले जित्न जरुरी छ, मैले यो क्षेत्रमा विकास निर्माणका थुप्रै काम गरेको छु। जनताले मलाई फेरि जिताउँछन्’, उनले भने।

कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार पन्तले पनि आफू जित्ने दाबी गरे। उनले बलियो संगठन र जनमत आफ्नो पक्षमा रहेकाले चुनाव जित्न सहज भएको बताए।

उनले भने, 'हाम्रो संगठन बलियो छ, जनाधार पनि छ। चुनावमा उठेका सबै उम्मेदवार मेरा लागि उत्तिकै प्रतिस्पर्धी हुन् तर मतदाताले गठबन्धनलाई नै जिताउने छन्।’

यता, सत्ता गठबन्धन र एमालेलाई टक्कर दिने भनिएका स्वतन्त्र उम्मेदवार ओझाले पनि चुनाव जित्न नै मैदानमा उत्रिएको दाबी गरेका छन्। उनले आफू जित्नेमा ढुक्क रहेको जिकिर गरे।

'म धनगढी र धनगढीवासीको आत्मसम्मान र विकासका लागि मत माग्दै छु, दलहरू जनताका सम्पत्ति हुन्। तर केही वर्षयता व्यक्तिगत सम्पत्ति भए, त्यसैले दलसँग जनता रूष्ट छन्’, उनले भने, 'कैलाली निर्वाचन क्षेत्र-५ को समग्र विकास र आत्मसम्मानका लागि मतदाताले मलाई भोट हाल्छन् र म चुनाव जित्छु।’

कैलाली निर्वाचन क्षेत्र-५ मा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका २ वटा वडासहित २१ वटा वडा रहेका छन्। गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार अहिले चुनाव प्रचारप्रसारमा छन्। उनीहरू सबै वडामा मतदातासँग भेटघाट गर्न व्यस्त छन्।

स्थानीय तहको अंकगणित

धनगढी उपमहानगरका १९ वडा, कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्ने कैलाली क्षेत्र-५ मा १ लाख ५ हजार ७९३ मतदाता छन्। ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई आधार मान्दा कांग्रेस सबैभन्दा ठूलो दल छ भने एमाले दोस्रो।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार ७७९ मत पाउँदा एमालेका उम्मेदवारहरूले १७ हजार ४२० मत प्राप्त गरेका छन्। माओवादीले ८ हजार १७६, एकीकृत समाजवादीले २ हजार १, राप्रपाका उम्मेदवारले १ हजार ७९७ मत पाएका छन्।

वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धनसँग ३२ हजार ९५२ मत छ भने एमालेसँग १७ हजार ४२० मत मात्र छ।

तर ९५ हजारभन्दा बढी मतदाता रहेको धनगढी उपमहानगरको मेयरमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका थिए।

हमाल २६ हजार ८६५ मतका साथ निर्वाचित कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ र एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका थिए। उपमेयर भने एमाले जितेको थियो।

त्यसैले कैलाली क्षेत्र-५ को नजिता धेरै हदसम्म स्वतन्त्र उम्मेदवार ओझाले पाउने मतमा निर्भर हुने देखिन्छ। २०७४ मा धनगढीको मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको कांग्रेसका उम्मेदवार आरजुलाई हराएका राना अहिले पनि पुष्करले काट्ने मत र कांग्रेसको असन्तुष्टिको लाभ उठाउने रणनीतिमा छन्।

सत्ता गठबन्धनका नेताहरू पनि कांग्रेसको मत शत प्रतिशत पन्तले नपाउने स्वीकार गर्छन् तर माओवादीसहित गठबन्धनमा आबद्ध दलहरूको मतले त्यसलाई पूर्ति गर्ने दाबी गर्छन्।

‘विविध कारणले हाम्रो उम्मेदवारले कांग्रेसको शत प्रतिशत मत नपाउने नकार्न मिल्दैन तर गठबन्धनमा आबद्ध दलको मत बाहिर जाँदैन। त्यो अवस्थामा हामी नै चुनाव जित्छौं’, कांग्रेस कैलालीका एक नेताले भने।

स्वतन्त्र उम्मेदवार ओझा पक्षधरले भने स्थानीय निर्वाचनदेखि धनगढीका स्वतन्त्रको लहर आएकाले चुनाव जितिने दाबी गरिरहेका छन्।

राजनीतिक दलभित्र बढ्दो असन्तुष्टिलाई मतमा बदल्न चाहेको यो पक्षले धनगढी उपमहानगरका मेयर हमालको पनि साथ पाउने आश गरेको छ।

स्थानीय चुनावमा ओझाले साथ दिएका कारण पनि हमालले गुन तिर्नेमा ओझा पक्ष आशावादी देखिन्छ। तर यो विषयमा मेयर हमाल स्वयंले भने मुख खोलेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.