|

विराटनगर : अघिल्लो निर्वाचनमा जीतको स्वाद चाखिसकेका माओवादी केन्द्रका नेता अमनलाल मोदी यो निर्वाचनमा पनि जित्ने दौडमा यति वेला निर्वाचन अभियानमा व्यस्त छन्।

उनी ०७४ मा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दै सांसद बनेका थिए। यस पटक भने मोरङ क्षेत्र ४ बाट एमाले नेता विनोद ढकालसँग चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्।

०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखमा ढकाल काँग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए। ढकाल पनि जित्ने दौडमा उत्तिकै सक्रियतापूर्वक चुनावी कार्यक्रम गरिरहेका छन्।

गएको निर्वाचनमा एमालेसँगको गठबन्धन र थारु, राजवंशीको बाहुल्य रहेका कारण मोदीले सहजै निर्वाचन जितेका थिए। यो पटक भने नेपाली काँग्रेस र एकीकृत समाजवादीले मोदीलाई साथ दिनेछ भने ढकाललाई जसपा नेपालको साथ रहनेछ।

मोदीले पाँचवर्षे कार्यकालमा गरेका कामको मूल्यांकनले पनि उनलाई क्षेत्र ४ का जनताले मत दिन कुनै कन्जुस्याइँ नगर्ने भए पनि यता ढकालको पनि सो क्षेत्रका जनतासँग उत्तिकै निकट रहेकाले यो निर्वाचनमा ढकाल र मोदीबीच कडा प्रतिस्पर्धा हुने नेता कार्यकर्ता बताउँछन्।

मोदीको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको आफ्नो सांगठनिक आधार कमजोर रहेको र ढकालको एमालेको सांगठनिक आधार बलियो भएकाले पनि मोदीलाई ढकालको चुनौतीको सामना गर्न निकै सकस पर्ने एमालेका एक नेताले बताए।

स्थानीय निर्वाचनमा एमालेको वर्चस्व

पाँचदलीय गठबन्धन हुँदा पनि सो क्षेत्रमा १८ वटा वडामा एमालेले अध्यक्ष जितेको छ भने काँग्रेसले ३, माओवादी र जसपाले १/१ जना वडाध्यक्ष जितेको छ।

यस्तै पालिकामा विराटनगर महानगरपालिका, कटहरी र ग्रामथान गाउँपालिकाका प्रमुख तथा अध्यक्ष काँग्रेसबाट विजयी भएका छन् भने  बेलबारी नगर प्रमुखमा  एमालेले बाजी मारेको थियो।

मोदीलाई ५ वर्षे कार्यकालको भर

व्यक्तिगत सँगै सामुदायिक मत र एमालेसँगको गठबन्धन हुँदा बाजी मारेका मोदी यो निर्वाचनमा आफूले पाँचवर्षे कार्यकालमा गरेका कामका आधारमा मतदाताको घरदैलोमा पुगेका छन्।

उनको निर्वाचन अभियानमा उनकै निर्वाचन क्षेत्रको प्रदेश (क) बाट उम्मेदवार रहेका काँग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरे र क्षेत्र (ख) का उम्मेदवार विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीले साथ दिएका छन्। 

आफूले पाँचवर्षे कार्यकालमा  सुकुम्बासीलाई आवाससहितको पक्की घर‚ पुलसहित आफ्नो पाँचवर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको बताए।

उनले केही शुरुवात गरेको काम निर्माणाधीन अवस्थामा रहेको बताउँदै उनले संंविधानसभा र संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोश र जाँगर तथा थारू, मधेशी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित आफू उम्मेदवार बनेको बताए।

एमालेलाई नजिताए जीवनस्तर उकासिँदैन : ढकाल

एमाले नेता विनोद ढकालले निर्वाचन विशेष कार्यक्रममा एमालेलाई नजिताएसम्म समग्र जनताको जीवनस्तर उकास्न नसकिने दाबी गरे।

एउटा मात्रै दलले सरकार बनाउन सक्ने अवस्थामा गठबन्धनका कुनै दल नरहेको भन्दै उनले बहुमतका साथ सरकार बनाउन सक्ने दलका रुपमा एमाले मात्रै रहेको दाबी गर्दै उनले स्थायी सरकार बनाउन एमालेलाई भोट हाल्न आग्रह गरे।

उनले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सारेर एमाले चुनावी मैदानमा उत्रिएको दाबी गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन जनताले मत दिए अरु कसैले रोक्न नसक्ने बताउँछन्। 

मोरङको क्षेत्र ४ मा ६ जना उम्मेदवारसहित १६ जनाले प्रतिस्पर्धा गर्दैछन्। सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.