|

दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ९ दिन बाँकी छ। ‘आम’ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन्।

निर्वाचन आफ्नो पक्षमा पार्न मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका दैलेखका राजनीतिक दलहरूले योपटक भने प्रदेशसभा सदस्यमा नयाँ अनुहारलाई अघि सारेका छन्। २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले, कांग्रेस, माओवादी र स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा नयाँ अनुहार निर्वाचनमा होमिएका हुन्।

दुईवटा स्थानीय तह रहेको दैलेख–२ (क) मा एमालेले हालसम्म संसदीय निर्वाचन नलडेका तिलकप्रसाद रिजाललाई प्रदेशसभा सदस्य पदका लागि निर्वाचनमा होमाएको छ। ०५४ मा तत्कालीन गाविस अध्यक्ष निर्वाचित भएका रिजाल पहिलो पटक प्रदेशसभा निर्वाचनमा होमिएका हुन्।

सोही प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी चुनावी मैदानमा छन्। ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिकाका प्रमुख निर्वाचित भएका भण्डारी समेत प्रदेशसभा सदस्यका लागि नयाँ अनुहार हुन्।

दैलेख–२ (ख) मा गठबन्धन दलले माओवादीले प्रदेशसभा निर्वाचनमा नयाँ अनुहारलाई अघि सारेका छ। हालसम्म संसदीय अभ्यासको अनुभव नसँगालेका माओवादीका योगेन्द्रबहादुर शाही र यस अघि सङ्घीय सरकारको राज्यमन्त्री खाइसकेका एमालेका विनोद कुमार शाह चुनावी प्रतिस्पर्धामा छन्। शाह एमाले कर्णाली प्रदेशका अध्यक्ष समेत हुन्।

एमालेमा रहेर लामो समय सहकार्य गर्दै आएका शाह र शाही योपटक भिन्नाभिन्नै दलबाट चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। एमालेले टिकट नदिएपछि घनश्याम भुसालसँगै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई निर्वाचनको मुखमा माओवादीले प्रदेशसभा सदस्य पदका लागि टिकट दिएको थियो।

६ वटा स्थानीय तह रहेको दैलेख–१ मा समेत राजनीतिक दलहरूले प्रदेशसभा सदस्यमा नयाँ अनुहारलाई निर्वाचनमा होमाएका छन्। दैलेख–१ प्रदेशसभा (ख) मा एमालेका तर्फबाट प्रेमबहादुर थापा चुनावी मैदानमा छन्। यस अघि जिल्ला समन्वय समिति दैलेखको प्रमुख भइसकेका थापा जिल्लामा राम्रो प्रभाव रहेका नेता मानिन्छन्।

थापासँग दैलेख–१ (ख) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसमा पूर्व जिल्ला सभापति कृष्णकुमार बिसी चुनावी प्रतिस्पर्धामा छन्। बिसी यसअघिको प्रदेशसभा निर्वाचनमा दैलेख–१ (क) मा एमाले÷माओवादी गठबन्धन दलका साझा उम्मेदवार धर्मराज रेग्मीसँग पराजित भएका थिए।

दैलेख–१ (क) मा गठबन्धन दलबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चुनावी मैदानमा छन्। उनीसँग एमालेका धर्मराज रेग्मी प्रतिस्पर्धामा छन्। निर्माण व्यवसायी पृष्ठभूमिसँगै राजनीतिमा होमिएका कांग्रेसका खत्री र एक पटक प्रदेशसभा सदस्य भइसकेका रेग्मीबीच योटकको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

दैलेख–१ प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका चित्रबहादुर खत्री समेत प्रदेशसभा सदस्यका लागि नयाँ अनुहार हुन्। दैलेख–१ प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार टेकबहादुर खाँण समेत प्रदेशसभाका लागि नयाँ अनुहार हुन्।

माधव नेपाल नेतृत्वको समाजवादी पार्टीका केन्द्रीय सदस्यसँगै दैलेख इन्चार्ज समेत रहेका खाँणले पार्टी भित्रका इमानदार कार्यकर्ता भन्दा नेतृत्वले आफ्नो अघि पछि लाग्नेलाई मात्र समेट्ने गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताउने गरेका छन्। खाँणलाई समाजवादीले साधारण सदस्य नरहने गरी कारबाही समेत गरिसकेको छ।

यस्तै, दैलेख–२ अन्तर्गत प्रदेशसभा (क) मा पुरुषोत्तम रिजाल स्वतन्त्र उम्मेदवार हुन। रिजालले राजनीतिक दलहरूले दुर्गमको विकास, यहाँका जनताका आवश्यकताभन्दा पनि आफ्ना कार्यकर्ता पोस्न राजनीति गर्ने गरेकाले यहाँको विकास र परिवर्तनका लागि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका छन्।

२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखका ६ पदका लागि स्वतन्त्र सहित ३३ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभातर्फ २ पदका लागि १३ जना चुनावी मैदानमा छन् भने प्रदेश सभाका ६ पदका लागि २० जना चुनावी प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.