|

धनगढी :  कैलाली क्षेत्र नम्बर ४ मा संसदीय निर्वाचनको माहोल गर्माएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हेभिवेट नेताहरूले सक्रियता बढाएसँगै माहोल गर्माएको हो।

यहाँ मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उम्मेदवार छन्।

नेताद्वय भट्ट र बलायरको पुर्ख्यौली घर डोटी हो। कांग्रेसका बलायर एमालेका भट्टसँग मुकाबिला गर्न डोटीबाट कैलाली झरेका छन्। यहाँ भट्ट र बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई उम्मेदवार बनाउने निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको इन्ट्रेष्टमा बलायर कैलाली–४ झरेका थिए। जसरी पनि डोटीबाट चुनाव लड्ने रटान लगाएका बलायर देउवाकै निर्देशनमा यहाँ उम्मेदवार बनेका हुन्। 

पुर्ख्यौली घर एउटै जिल्ला, फरक–फरक पार्टीको सुदूरपश्चिम प्रदेश कमान्डर रहेका उनीहरू एउटै समय (२०६४ साल) देखि संसदीय चुनाव लड्न थालेका थिए। उनीहरू दुवैजना पूर्वमन्त्रीसमेत हुन्।

भट्ट नेपालमा जनयुद्ध सुरु भएका बेला प्रचण्डलाई सुरुमा बन्दुक दिने जनयुद्धका ओपनर खेलाडी हुन्। नेकपा विभाजन भएपछि उनी नेकपा एमालेमा लागेका थिए। अहिलेको एमाले भनेको वाम एकता पछिको नेकपाकै स्वरूप भएको भट्ट बताउँछन्।

शान्ति प्रक्रियापछि २०६४ सालको संविधानसभा निर्वाचनमा भट्टले त्यतीबेलाको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए। नेपाली कांग्रेसका दीर्घराज भाट र नेकपा एमालेका हरिशंकर योगीलाई हराउँदै भट्टले पहिलो संविधानसभा चुनाव जितेका थिए।

तर, दोस्रो संविधानसभा निर्वाचनमा भने भट्टले पराजय व्यहोरे। उनले नेपाली कांग्रेसका उनै दीर्घराज भाटसँग चुनाव हारे। संविधान सभाको निर्वाचन २०६४ पछि मन्त्री भइसकेका भट्टले, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र धनगढी–खुटीया–दिपायल फास्ट ट्रयाकजस्ता मुद्दा समातेका थिए। तर उनले ती मुद्दा स्थापित गर्न सकेनन्। भट्ट भन्छन्, ‘सुख्खा बन्दरगाह भनेको के हो भन्थे ? मानिसहरू। थाहै थिएन। तर जब कार्यान्वयनको चरणमा गयो, बल्ल सबैले बुझे।’

भट्ट आफ्नै पहलमा कञ्चनपुरको दोघाराचाँदनीमा सुख्खा बन्दरगाहको कार्य अगाडि बढेको दाबी गर्छन्। ‘नेपाल र भारत बन्दरगाह कुन ठाउँमा राख्ने भन्नेमा सहमत भएका छन्। भारतबाट नेपालतर्फको चारलेनको सडकको पनि जिरो प्वाइन्ट तय भएको छ,’ उनको भनाइ छ। उनले निर्वाचन क्षेत्र मात्रै होइन, सुदूरपश्चिमका अरू परियोजनाका बारेमा पनि चासो राख्ने गर्छन्। उनले आफू जिम्मेवारीमा रहँदा थुप्रै योजनाहरूमा कार्यान्वयनको चरणमा लगेको बताए।

२०७४ को चुनावमा भट्टले फेरि चुनाव जिते। उनले त्यतीबेला नेपाली कांग्रेसका नेता सुनील कुमार भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका थिए। भट्टले ३१ हजार ३५९ मत पाउँदा भण्डारीले २० हजार ९६० मत मात्रै पाएका थिए।

तर यसपालि भट्टको लडाइँ सत्ता गठबन्धनका बलायरसँग परेको छ। बलायर डोटीका स्थापित नेता हुन्। उनले २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा डोटी २ बाट चुनाव जितेका थिए। त्यसबेला उनी केही महिना मन्त्री समेत भएका थिए।

२०७० सालमा प्रतिनिधि सभाका लागि डोटीमा २ निर्वाचन क्षेत्र थिए। तर २०७४ सालमा डोटी एक निर्वाचन क्षेत्र भयो। २०७४ सालमा त्यतिबेला नेकपाका उम्मेदवार प्रेम आलेमगरसँग बलायर पराजित भए। आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाए।

आलेसँग १६ सय ३२ ले मात्रै पराजित भएका बलायरलाई यसपाली डोटीबाट चुनाव जित्न सहज थियो। तर डोटीको प्रतिनिधि सभाको सिट समाजवादीले नछोड्ने भनेपछि बलायर चुनाव लड्न कैलाली ४ आएका हुन्।

कसको अवस्था कस्तो?

अहिले यो क्षेत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीको साथ पाउँदा कांग्रेस बलियो देखिएको छ। तर गठबन्धनकै नेताहरू भने बाहिरबाट हेर्दा गठबन्धन बलियो देखिए पनि आन्तरिक असन्तुष्टिले बलायरलाई चुनाव जित्न सहज नभएको बताउँछन्।

‘गठबन्धनका अरू दलले सहयोग गर्ने कुरामा निर्भर छ। आन्तरिक विवादका कारण बलायरजीले आफ्नै पार्टीको मत पनि समस्या छ। उहाँलाई के भनेर मत हाल्ने भन्ने आम प्रश्न छ’, एक नेताले भने, ‘डोटीको मान्छे भोट माग्न र चुनाव जित्न मात्र कैलाली आउने। के यहाँ राजनीति गर्ने नेता छैनन्?’

ती नेताका भनाइमा पार्टी सभापति देउवाले फेरि प्रधानमन्त्री बन्नकै लागि बलियो संगठन नै नभएको समाजवादीलाई डोटी सुम्पिएर बलायरलाई कैलाली पठाएको भन्ने आक्रोश नेतादेखि कार्यकर्तासम्म छ। कार्यकर्ता तहसम्मै देखिएको असन्तुष्टिले बलायरले आफ्नै पार्टीबाट अपेक्षित मत नपाउन सक्छन्।

यहाँ पूर्वमन्त्री दीर्घराज भाट र नेता सुनिल भण्डारीको प्रभाव बलियो छ। पूर्वमन्त्री भाट यसपटक भण्डारीले टिकट पाउनुपर्ने पक्षमा थिए। टिकटकै लागि भाटले पार्टी नेतृत्वसँग लबिङ गरेका थिए। तर भण्डारीको टिकट खोसेर बलायरलाई दिइएपछि उनी असन्तुष्ट बनेका छन्। तर भण्डारी र भाट स्वयंले भने यो विषयमा बोलेका छैनन्।

बलायरले यी दुवै नेताको असन्तुष्टि व्यवस्थापन गर्न नसकेमा कांग्रेसको जम्मा मतको आधा पनि प्राप्त गर्न मुस्किल हुने दाबी गरिएको छ।

यहाँ १० हजारभन्दा बढी मत भएको नेकपा माओवादी केन्द्रले भागबण्डाका क्रममा प्रदेशसभाको सिट समेत नपाएकाले पनि बलायरलाई केही समस्या हुने विश्लेषण गरिएको छ। खासगरी प्रतिनिधिसभा वा प्रदेशसभा कतै पनि आफ्नो पार्टीको उम्मेदवार नभएको अवस्थामा माओवादीको मत पनि बाँडिने जोखिम रहेको नेताहरू बताउँछन्। तर त्यसलाई गठबन्धन र स्वयं माओवादीले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले अर्थ राख्छ।

अर्को कुरा नेपाली कांग्रेसले प्रदेशसभा (२) मा टिकट दिएका प्रकाश बम प्रदेशसभा (१) का बासिन्दा हुन्। कांग्रेसले एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई व्यवस्थापन गर्ने क्रममा बमलाई प्रदेशसभा (२) मा ल्याएपछि पनि त्यहाँ थप असन्तुष्टि सिर्जना भएको छ।

बलायर स्वयंका लागि कैलाली–४ नयाँ भूगोल भएका कारणले समेत यहाँ उनलाई डोटीमा जति सहज नहुने नेताहरू बताउँछन्। प्रदेशसभामा बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरूले पनि उनको मत काट्न सक्ने अनुमान गरिएको छ।

एमालेमा पनि विवादै

आफ्नो मत जोगाएर सत्तारुढ गठबन्धनको मत तान्दै जित हासिल गर्ने रणनीति लिएको नेकपा एमालेभित्र पनि आन्तरिक किचलो छ। पार्टीभित्र उम्मेदवार बन्न आकांक्षा राखेका तर विभिन्न कारणले पाउन नसकेका नेताहरू नेतृत्वप्रति असन्तुष्ट छन्।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमालेका प्रदेश कमिटी सदस्य मानबहादुर रावलले त राजीनामा नै दिएका छन्। उनी कैलाली–४ को प्रदेशसभा (२) मा टिकटको आकांक्षी थिए तर गोदावरी नगरपालिकाका पूर्वमेयर हरिसिंह साउदले टिकट पाएपछि असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन्।

एमालेमा प्रतिनिधिसभामा भट्टको एकल सिफारिस भएपनि प्रदेशसभातर्फ धेरै जना आकांक्षीको नाम सिफारिसमा परेको थियो। तीनै आकांक्षीहरू टिकट नपाएपछि असन्तुष्ट बनेकाले कतै चुनावमा असहयोग गर्ने त होइनन् भन्ने आशंका उब्जाएको नेताहरू बताउँछन्। यहीँ आशंकाले भट्टको जित असहज रहेको बताइन्छ।

हाम्रोमा धेरै ठूलो असन्तुष्टि भन्ने कुरा छैन। तर केही साथीहरू हामीले टिकट नपाएर अन्याय भयो भनिरहनुभएको छ। उहाँहरूसँग निरन्तर छलफल जारी छ’, एमालेका एक नेताले भने, ‘सम्भवतः चुनावसम्म सबै कुरा ठीक भइहाल्छ। यसले त्यति ठूलो असर गर्दैन। हामी व्यवस्थापन गरेर अघि बढ्छौँ।’

जित्ने आआफ्नै दाबी

गठबन्धनका बलायर र एमालेका भट्ट दुवैले आफैंले जित्ने दाबी गरेका छन्। कैलाली–४ आफ्नो रोजाइ नभएको तर पार्टीले निर्णय गरेपछि यहाँबाट उम्मेदवारी दिएको बलायरले बताउने गरेका छन्। यद्यपि यस क्षेत्रको मतदाताले आफूलाई चुनाव जिताउनेमा आशावादी भएको बताए।

‘मैले यहाँ उम्मेदवारी मागेको होइन। पार्टीले निर्णय गरि सकेपछि त्यसलाई अवज्ञा गर्न मिल्दैन। मैले प्रारम्भिक राजनीतिक जीवन बिताएको र आफन्त तथा इष्टमित्र बस्ने ठाउँ भएकाले पनि पार्टीले यहाँ पठाएको हुनसक्छ’, बलायरले भने।

उनले आफू डोटीबाट कैलाली आउँदा उत्पन्न राजनीतिक परस्थिति आफ्नो कारणले नभएर पार्टीको निर्णय भएकाले सबैले स्वीकार गरेको विश्वास व्यक्त गरे।

‘म आउँदै गर्दा यहाँका नेताहरू, विशेष गरेर प्रत्यासी नेताहरूप्रति सद्भाव र सम्मान नै छ। मेरा कारणले यस्तो भएको होइन पार्टीका कारणले हो’, उनले भने, ‘गठबन्धन भइसकेपछि मलाई डोटीबाट आउनुको पीडा पनि होला । तर पार्टीको निर्णय स्वीकार्नुको विकल्प छैन।’

पार्टीभित्रको अन्तरविरोधले चुनावमा समस्या नपार्ने दाबी गर्दै बलायरले कैलाली–४ बाट विजयी हुने बताए।

यता, भट्ट भने समग्र सुदूरपश्चिमको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै विगतमा जस्तै यहाँको जनताले साथ दिने विश्वास गर्छन्।

‘मैले सुरु गरेका दोधारा चाँदनीको सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, हरैया विशेष व्यापार क्षेत्र, धनगढी गोदावरी औद्योगिक क्षेत्र, सेती लोकमार्ग, खुटिया दिपायल द्रूत मार्ग लगायतका दीर्घकालीन योजनाहरूको काम अधुरै छ’, भट्टले भने, ‘यी योजना पूरा गरेर यहाँको विकास र औद्योगिकरणमा फड्को मार्नुपर्ने भएकाले मेरो उम्मेदवारी हो। मलाई सम्पूर्ण विचारसँग जोडिएका आम जनताले सहयोग र समर्थन गर्दै जिताउनेमा विश्वस्त छु।’

पार्टीभित्र अहिले कुनै पनि नेता कार्यकर्तामा दुविधा नभएकाले एमाले एक ढिक्का भएर चुनावमा होमिएको र जित निश्चित रहेको उनको दाबी छ। पार्टी एकजुट रहेको भट्टको दाबी छ।

स्थानीय तहको हिसाबकिताब

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ५०२, नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार १६०, नेकपा माओवादी केन्द्रका उम्मेदवारले १० हजार ५८७, एकीकृत समाजवादी पार्टीका उम्मेदवारले ३ हजार १८० र राप्रपाका उम्मेदवारले ३ हजार ७३४ मत प्राप्त गरेका छन्।

यस आधारमा सत्तारुढ गठबन्धनमा आबद्ध दलको मत ३५ हजार ९६९ पुग्छ भने नेकपा एमालेको मत २० हजार १६० छ। अर्थात् सत्तारुढ गठबन्धन भन्दा नेकपा एमाले १५ हजार ८ सय मतले पछि छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.