|

विराटनगर : पाँच वर्षअघि अर्थात् २०७४ को निर्वाचनमा एमाले नेता लालबाबु पण्डित भोट माग्दै सुन्दरहरैँचा ५ पुग्दा लहरी ऋषिदेवले एक दशकअघि बेपत्ता भएकी बहिनी खाजिदिन आग्रह गरेकी थिइन्।

खोजीका लागि पहल गर्ने भनेर मत मागेर फर्किएका पण्डित फर्किएर उनको आँगनमा पुगेका छैनन्। १० वर्षदेखि सम्पर्कविहीन आफ्नी बहिनी विजया ऋषिदेव कहाँ छिन्, कस्तो अवस्थामा बाँचेकी छिन् उनी बेखबर छिन्। बहिनीको खोजीका लागि राज्यका हरेक निकायसम्म ढोका ढक्ढक्याउन नपुगेकी पनि होइनन्, उनी। तर, अझै पत्ता लागेको छैन।

निर्वाचन आएसँगै उनलाई अघिल्लो निर्वाचनमा मत माग्न आँउदा  खोजी कार्यमा पहल गर्ने पण्डितको प्रतिबद्धता लहरीले भुलेकी छैनन्। फेरि भोट माग्न आए हराएकी बहिनीको अवस्थाबारे सोध्ने उनको इच्छा छ। त्यसो त उनले पण्डितलाई मात्रै बेपत्ता बहिनीको खोजीका लागि आग्रह गरेकी होइनन्। आँगनमा मतको अपेक्षा बोकेर आउने सबै उम्मेदवारलाई उही माग राख्दै आएकी छिन्।

‘लालबाबु पण्डित भोट माग्न आए मेरी बहिनी खै? भनेर प्रश्न गर्छु, र अरु भोट माग्न आउँदा सबैलाई  मेरी बहिनी ल्याउनेलाई भोट दिन्छु,’ उनले भनिन्। उनले बहिनी नभेटएसम्म कसैलाई भोट नदिने बताएकी छिन्। निर्वाचनको वेला भोट माग्न गाउँ पसेका नेताको बोली आफ्नो एकै शर्तले बन्द हुने उनी बताउँछिन्।

घरको  कमजोर आर्थिक अवस्थाका कारण सानै उमेरमा लगनगाँठो कसेकी थिइन्, विजयाले। २० वर्षको उमेरमा दुई छोरीकी आमा बनेकी उनी श्रीमानको घरमा पनि सुखसाथ जीवन व्यतित गर्न पाएकी थिइनन्। उनको श्रीमान मजदुरी गर्थे।

श्रीमानको कमाइले बिहान बेलुकाको छाक टार्न सकस भएका कारण वैदेशिक रोजगारीका लागि नेपाल छोड्ने निधो गरेकी थिइन्। लहरीका अनुसार गाँउकै रुपक राईले काजगपत्र मिलाइदिएका थिए।

घरबाट हिँडेको ६ महिनासम्म सम्पर्कविहीन थिइन्। ओमान पुगेको खबर ६ महिनापछि आयो।  तर त्यो खबर नै अन्तिम बन्यो। लहरी भन्छिन्, ‘त्यसपछि उनको खबर आएन। कहाँ छिन्, के गर्दैछिन्। केही खबर छैन।’

‘गरिबका लागि निसाफ नै रहेनछ’ लामो श्वास फेर्दै उनी गुनासो गर्छिन्। बहिनीको बाटो हेर्दै झिनो आश लिएर बसेका विजयाका दाइ मनोज ऋषिदेव गत असारदेखि खोजी कार्यका लागि विभिन्न संघसंस्थाका साथै व्यक्तिहरूलाई हारगुहार गरेको तर सहयोग नपाएको गुनासो गरे।

‘सरकार, प्रहरी प्रशासन र मिडिया पैसा हुनेका लागि मात्रै रहेछ’, उनी भन्छन्, ‘त्यो पहुँचसम्म पुग्न हामीसँग पैसा छैन। पैसा नभएपछि गरिबको बोली विलिन हुने रहेछ।‘

काखका दूधे नानी छोडेर धन कमाउने सपना बोकेर परदेशिएकी विजयाको छोरी विस्तारै हुर्किँदैछिन्। उनी अहिले १२ वर्षकी भइन्।  स्थानीय श्रीलाल प्राविमा कक्षा ४ मा पढ्छिन्।

विजयालाई ओमान पठाउने रूपक कहिलेकाँही गाँउ पस्छन्। उनी आफूले लगेका जति सबै नेपाल फर्किसकेको दाबी गर्छन्। स्थानीय महिला नेतृ लता न्यौपाने भने विजयालाई ओमान भन्दै भारत लगेर बिक्री गरेको हुनसक्ने बताउँछिन्। उनले विजयाको खोजी गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन आफूहरू लागिपरेको बताउँछिन्।

लहरीको घर रहेको सुन्दरहरैँचा ५ मोरङ निर्वाचन क्षेत्र न‍ं. ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित चुनावी मैदानमा उत्रिएका छन्। अघिल्लो निर्वाचनमा बाम गठबन्धनको मतले विजयी हासिल गरेका पण्डितले  थोरै मतले कोइरालालाई हराएका थिए।

यो निर्वाचनमा भने राजनीतिक समीकरण फेरिएको छ। माओवादी केन्द्रले यो निर्वाचनमा कोइरालालाई सघाँउदा पण्डित र कोइरालाबीचको प्रतिस्पर्धा रोचक हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.