|

माधव बेल्वासे

चन्द्रौटा : ठूलाठूला साउन्ड सिष्टममा गीत घन्काउँदै। मोटरसाइकलमा युवाहरूको र्‍यालीसहित शक्ति प्रदर्शन। मङ्सिर ४ गते हुने निर्वाचनको अहिले यस्तै भइरहेको छ। उम्मेदवारहरूले आफूले जित्ने दाबी गर्दै मतदाताको घरघरमा मात्र होइन खेतबारीमा पुगेर मतदाता फकाइरहेका छन्।

कपिलवस्तुको क्षेत्र न. ३ मा दैनिकजसो चुनावी सभा हुने गरेका छन्। चुनावी सभामा उम्मेदवारहरूले आफ्ना एजेन्डाभन्दा पनि विपक्ष दलका उम्मेदवारलाई आरोप लगाउने गरेका छन्। क्षेत्र तथा गाउँका विकासका कामको विषयमा नबोल्ने उम्मेदवारले विपक्ष उम्मेदवारका विषयमा भने चर्को आलोचना गर्ने गरेका छन्।

क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र जनता प्रगतिशील पार्टीका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका अभिषेकप्रताप शाह, नेकपा एमालेबाट मङ्गलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीबाट ईश्वरदयाल मिश्र चुनावी मैदानमा छन्।

शनिवार कृष्णनगर क्षेत्रमा तीन दलको चुनावी सभामा सबै उम्मेदवारले एक अर्कालाई आरोप प्रत्यारोप लगाए।

नेकपा एमालेका उम्मेदवार गुप्ताले निवर्तमान सांसद शाहले १५ वर्षमा केही काम गर्न नसकेको आरोप लगाए। जातीय र धार्मिक एजेन्डा उठाएर निर्वाचन जित्ने गरे पनि अब जनता सजग भएकाले ती एजेन्डाले काम नगर्ने उनले बताए।

‘काम नगर्ने चुनाव जित्छु भन्ने यो कसरी सम्भव छ, मङ्सिर ४ गते जनताले देखाइदिन्छन्’, गुप्ताले भने। चुनावी सभामा अधिकांश समय गुप्ताले शाह र मिश्रको विपक्षमा भाषण गरे। कतिपय भाषणमा दर्शकको ताली बज्थ्यो त कतिपय भाषणमा सुनसान हुन्थ्यो।

एमालेको चुनावी सभाभन्दा ५० मिटरको दूरीमा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा भइरहेको थियो। उक्त सभामा उम्मेदवार अभिषेकप्रताप शाहले एमालेका मङ्गल गुप्ताविरुद्ध दर्शकलाई सुझाइरहेका थिए।

८० वर्ष पुग्न लागेका गुप्ता अन्तिम पटक भन्दै जनतामा मत माग्न जाने तर जनताले भोट भने नदिने गरेको शाहले बताए। शाहले निर्वाचन हारेमा गुप्ता छोराहरूसँग अमेरिका जाने आरोप लगाए।

‘चुनाव लड्न नेपाल आउने र हारेपछि अमेरिका जाने यस्ता टुरिष्ट नेतालाई जनताले ठेगान लगाउनुपर्छ’, शाहले भने। शाहले एमालेलाई जनतासँग भोट माग्ने अधिकार नै नरहेको टिप्पणी गरेका छन्।

नागरिकता विधेक रोकेर नागरिकताबाट वञ्चित गराउने पार्टीलाई भोट माग्ने कुनै अधिकार नरहेको बताए। आफू जनताको सुखदुःखमा साथ रहेकाले आफ्नो जित सुनिश्चित रहेको शाहले बताए।

जनता प्रगतिशील पार्टीका उम्मेदवार ईश्वरदयाल मिश्रले आफूले जित्ने दाबी गरेका छन्। उनले विगतका निर्वाचनमा जिताएका उम्मेदवारले कामै गर्न नसकेकाले योपटक जनताले आफूलाई रोज्ने दाबी गरेका छन्।

संसद् विकास कोषको बजेटको विषयमा कडा टिप्पणी गर्दै विकासको बाधक हुने व्यक्तिलाई जिताउन नहुने उनले बताए। जनता सचेत भएर काम नगर्नेहरूलाई मङ्सिर ४ पछि बिदा गर्नुपर्ने बताए। एमालेका उम्मेदवार मङ्गल गुप्ता बूढो भइसकेको र काँग्रेसका उम्मेदवार शाहले काम गर्न नसकेकाले योपटक आफ्नो जित हुने दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.