|

काठमाडौं :  सडक सुरक्षाका लागि काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई भर पर्दो बनाउनुपर्ने र यसका लागि वहुपक्षीय जिम्मेवारी पूरा हुनु पर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले बताएका छन्। सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख साहले सो कुरा बताएका हुन्। 

ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन्। जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ। यस कारण सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भयो। सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा भएको उनको भनाइ छ। यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ। यसो गर्न सकेमा अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र  दुर्घटनामा कमी आउने उनको भनाइ थियो।

कार्यशाला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको सहयोगमा सञ्चालन  गरिएको थियो। 

कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको जरुरी भएको बताए।  उनले भने,‘इञ्जिनियरिङ् (सडक निर्माण), इन्फोर्समेन्ट (सडक सञ्चालन र यातायात व्यवस्थापन) र एजुकेसन (सचेतनाका कार्यक्रम) बाट सडक सुरक्षा बढाउन सकिन्छ।’ 

अहिले सडक वर्गीकरण, राष्ट्रिय यातायात नीति लगायत केही कानुनी व्यवस्थामा काम भइरहेका उनको भनाइ थियोे। नेपालमा मानवीय मृत्युको कारणमध्ये पहिलो नसर्ने खालको रोग हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले भने, ‘चोटपटक जनस्वास्थ्यका दृष्टिले गम्भीर विषय हो। यति भइकन पनि दुर्घटना घटाउनमा एकीकृत काम हुन सकेको छैन।’

 नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटना जन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक बर्ष करिब ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन्। विश्वमा हरेक २४ सेकेण्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्कले देखाएको छ। 

भिडियो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.