|

जुम्ला : निर्वाचनको सुरक्षा अवस्था बुझ्न मुख्य सचिव शंकरदास वैरागी सहितको टोली जुम्ला आएको छ।

निर्वाचन अनुगमन तथा सुरक्षा व्यवस्थाबारे बुझ्न सचिव स्तरको टोली जुम्ला सहित कर्णालीका अन्य जिल्ला पुगेको हो। मुख्य सचिव वैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देल सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल गरी आवश्यक निर्देशन समेत दिएको बताए। प्रजिअ केसरीका अनुसार नेपाली सेनाको २४ नम्बर वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनीपति राजेन्द्र केसीले साविक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारी बारे प्रस्तुति गरे।

नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ। मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासन सहित सबै सुरक्षानिकायका प्रमुखहरू समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन्।

त्यस्तै नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिव सहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका छ। सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिमतिर लाग्नेछ।

यसैबीच प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८४८ कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले १०८ मतदान केन्द्रका लागि उनीहरूलाई खटाएको हो।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार १०८ जना मतदान अधिकृत र १०८ जना सहायक मतदान अधिकृत सहितका कर्मचारी खटाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.