चुनावी सभामा हिँडेका एमाले कार्यकर्ता अलपत्र

|

धनगढी  : दार्चुलामा नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन्। जिल्लाको गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरुले हिजो आइतबार रातिदेखि सडक अवरुद्ध पारेका हुन्।

हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेका एमाले कायकर्ताबीच झडप भएको थियो। गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नखुलाउने बताएका छन्।

गठबन्धनले जिल्लाभरका सयौं कार्यकर्तालाई धुलीगडा खेडा क्षेत्रमा उतारेर सडकमा चक्काजाम गरेको एमाले दार्चुलाले जनाएको छ। एमाले नौगाड गाउँपालिकाका अध्यक्ष जनकसिंह ठगुन्नाका अनुसार सडक बन्द गरिएपछि नौगाडमा भएको एमालेको चुनावी सभामा गएका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणहरु घर फर्कन सकिरहेका छैनन्। कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागी स्थानी तथा कार्यकर्ताहरु होपरीगाड जामिर क्षेत्रमै थुनिएका छन्।

यता, गठबन्धनमा रहेको नेकपा माओवादी दार्चुलाले भने एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्ताहरुमाथि घरमै गएर समेत कुटपिट गरेको जनाएको छ।

कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई कारबाही गरिनुपर्ने गठबन्धनको माग छ। यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन्। हिजोदेखि प्रयास भइरहेकोमा गठबन्धनले नमानेका कारण अहिले पनि प्रयास जारी रहेको उनको भनाइ छ।

यस्तो थियो घटना

हिजो नौगाड गाउँपालिका वडा नम्बर ६ बाट एमालेका कार्यकर्ताहरु चुनावी सभामा जान लागेका थिए। त्यस क्रममा एमालेको गाडी तथा कार्यकर्तालाई रोकेपछि झडपको अवस्था पैदा भएको थियो। झडपमा परी नौगाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका थिए।

आक्रमणमा घाइते भएका धामी नेकपा ९माओवादी केन्द्र० दार्चुला काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष समेत हुन्। धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको थियो। उनको अहिले धनगढीमा उपचार भइरहेको छ।

दोस्रो झडप

दार्चुलामा यसअघि पनि गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो। अस्ति कार्तिक २४ गते अपि हिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो।

एमाले प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि झडप भएको थियो। उक्त झडपमा एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपि हिमाल गाउँपालिका९६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.