म्यादी भन्छन् : सवारीचालकले टेर्दैनन्

|

काठमाडौं : काठमाडौं उपत्यकाभित्र यतिखेर चोक चोकमा होस् या जेब्रा क्रसिङमा म्यादी प्रहरी देखिन्छन्‚ ट्राफिक प्रहरी देखिँदैनन्।

म्यादी प्रहरीले नै सवारीसाधनको आवागमनमा सहजीकरण गरिरहेका छन्। पैदल यात्रुलाई बाटो पार गर्न पनि सघाइरहेका छन्। सडकको दृश्य हेर्दा केही म्यादी प्रहरीले कडाइ गरेको देखिन्छ भने केहीलाई सर्वसाधारणले अटेर गरेको पनि देखिन्छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पैदल यात्रुलाई सुरक्षित बाटो पार गराइदिने, ट्राफिक जाम व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्ने जिम्मेवारी म्यादी प्रहरीलाई दिइएको छ।

सर्वसाधारणहरूको सुरक्षा, निर्वाचनलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन सहयोग गर्नुपर्ने जिम्मेवारी पनि म्यादी प्रहरीलाई छ। 

म्यादीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मे-हम्मे 

म्यादी प्रहरीहरूलाई ट्राफिक जाम व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ। कतिपय सवारीचालकले समेत अटेर गर्ने गरेको गुनासो ट्राफिक नियन्त्रणमा खटिएका म्यादी गर्छन्।

गौशालामा तैनाथ एक म्यादी प्रहरी भन्छन्, ‘सवारीसाधन जाम नगराउन र पैदलयात्रीलाई सुरक्षाका लागि मलाई यहाँ खटाइएको छ। ट्राफिक प्रहरीलाई जस्तो चालकहरूले हामीलाई नटेर्ने रहेछन्, कराउँदा र सिठी बजाउँदै हैरान भइसकियो।’

उनका अनुसार ट्राफिक प्रहरी जस्तो तालिम प्राप्त नभएकाले ट्राफिक व्यवस्थापन गर्न कठिन पर्ने गरेको ती प्रहरीले अनुभव सुनाए। तर पनि आफ्नो ड्युटी समयभरि जसरी पनि खटिने उनको प्रतिबद्धता छ।

बौद्धतिर खटिएकी अर्की म्यादी प्रहरी रञ्जना अधिकारी (नाम परिवर्तन) ले पनि सडकमा खटिन भने धेरै गाह्रो पर्ने गरेको बताइन्। ‘सडकमा उभिने बानी नभएकाले होला दिनभरि त उभिन पनि समस्या हुन्छ। खुट्टा दुख्छ, त्यसमाथि सर्वसाधारणले टेर्दैनन्, सवारीचालकले पनि टेर्दैनन्,’ उनले भनिन्।

उनका अनुसार ट्राफिक जाम कसरी व्यवस्थापन गर्ने, कस्ता इशारा गर्ने लगायत कुरामै समस्या आउने गर्छ। ‘सरकारले हामीलाई यस्तै समस्याको समाधान गर्न खटाएको हो, हामीले पनि यस्तै जनताकै सेवा गर्न म्यादी भएकी हुँ। त्यसैले जस्तोसुकै समस्या, बाधा आए पनि इमानदार तरिकाले मेरो ड्युटी पालना गर्छु,’ उनले भनिन्।

१३ सय ट्राफिक प्रहरी जिल्लाबाहिर 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी निर्वाचनमा खटिएकाले उपत्यकामा म्यादी प्रहरीलाई सवारीसाधनको ट्राफिक व्यवस्थापनमा खटाइएको जानकारी दिए।

उनका अनुसार निर्वाचन आयोगको आग्रहअनुसार यहाँका १ हजार ३ सय ट्राफिक प्रहरी उपत्यकाबाहिर गएका छन्। ‘मतदान केन्द्रमा खटिनको लागि ट्राफिक प्रहरी गइसके,’ उनले भने, ‘त्यही भएर म्यादी प्रहरी, प्रहरीलाई ट्राफिक प्रहरीको ठाउँमा खटाइएको हो।’

ट्राफिक जाम व्यवस्थापनबारे म्यादी प्रहरीहरूलाई सचेतना दिएको उनको भनाइ छ। सवारीचालकले गल्ती गरे तुरुन्तै नियमअनुसार कारबाही गरिने उनले बताए। कति म्यादी प्रहरी खटिए भन्ने यकिन तथ्यांक आफूलाई जानकारी नभएको तर पर्याप्त संख्यामा नै खटाइएको उनको भनाइ छ।

उनका अनुसार उपत्यकामा यसअघि १ हजार ७ सय ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा खटिने गरेका थिए। प्रहरी प्रधान कार्यालयका अनुसार मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन्।

सुरक्षाकर्मीबाहेक कुल २ लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतमा शिक्षक, निजामती कर्मचारीलगायत जनशक्ति परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.