भ्रष्टाचारको मुद्दा दायर

|

काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन कमलेश डिसी र अंग्रेजी विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासमाथि प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोप लागेको छ।

उनीहरूले प्रश्नपत्रको गोपनीयता भंग गरेको र परीक्षा परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

अख्तियारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयबाट २०७७ माघ १९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको भन्दै उजुरी परेको थियो।

साथै उजुरीमा विज्ञको छनोट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनोट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अङ्क थपघट गरिएको उल्लेख गरिएको थियो।

उजुरीमाथि अनुसन्धानका क्रममा अंग्रेजी विषयका विज्ञ दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क दिँदा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे गराएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार अन्तरवार्ताका क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तरवार्तामा अङ्क प्रदान गर्ने योजना बनाई सोहीबमोजिम अङ्क प्रदान गर्न पहिले दिएको अङ्क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको पाइएको छ।

यस्तो काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसुर गरेको देखिएकोले निज अंग्रेजी विषयका विज्ञ एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहप्राध्यापक डा. दासलाई सोही ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले माग दाबी लिएको छ।

यसैगरी परीक्षा समितिका संयोजक एवं सहायक डिन डिसीले अंग्रेजी विषयको छानबिन बोर्डको तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक–पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको भन्दै मुद्दा दायर गरिएको छ।

अन्तरवार्तामा छनोट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तरवार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तरवार्ताको अङ्कसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिणाम फेदबदल गरे गराएको समेत देखिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.