|

काठमाडौं : सुरज बडजात्याले आफ्नो तीन दशकभन्दा लामो करिअरमा ७ वटा फिल्ममात्र निर्देशन गरेका छन्।

‘हम आपके हैं कौंन’, ‘हम साथ साथ हैं’, ‘विवाह’, ‘प्रेम रतन धन पायो’ जस्ता व्यावसायिक रुपमा सुपरहिट पारिवारिक फिल्म दिएका बडजात्याको सातौँ फिल्म ‘उचाइ’ हो, जुन यति वेला प्रदर्शनरत छ। 

उनका फिल्म मन पराउनेहरू ‘उचाइ’को व्यग्र प्रतीक्षामा थिए। ‘प्रेम रतन धन पायो’ प्रदर्शनमा आएको ७ वर्षपछि बडजात्याको कुनै फिल्म प्रदर्शनमा आउनुको एउटा कारण थियो फिल्मका मुख्य कलाकार।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, नीना गुप्ता, सारिका ठाकुर जस्ता कलाकार उचाइमा एकसाथ देखिएका छन्। 

नेपाली दर्शकका लागि भने उचाइ हेर्नका लागि अरु पनि कारण छन्। फिल्मको कथा, पात्र र लोकेशनसँग नेपाल प्रत्यक्ष रुपमा जोडिएको छ। वृद्ध अवस्थामा रहेका ४ साथीको मित्रता फिल्मको केन्द्रीय विषयवस्तु हो।

जहाँ ४ साथीमध्ये एकजना नेपाली हो। उसको सपना छ- मर्नुभन्दा अगाडि एकपटक सगरमाथा पुग्ने र आफ्नो बाल्यकाल एकपटक फेरि बाँच्ने। पात्रहरूको सगरमाथा बेस क्याम्पसम्म पुग्ने यात्रा नै फिल्मको कथा सार हो।

विश्वभरि १ हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले व्यावसायिक रुपमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।

‘उचाइ’लाई राम्रो सन्देश बोकेको फिल्म भनिए पनि समीक्षकले भने धेरै कमी कमजोरी निकालेका छन्।

पात्र निर्माणमा मेहनत भएको र कलाकारको काम तारिफयोग्य हुँदाहुँदै पनि पनि फिल्मको कथा खँदिलो नहुँदा यसको लम्बाइ बढेको, भावनात्मक रुपमा दर्शकलाई बाँध्न खोज्दा यसको मूलभाव छायामा परेको र पार्श्वध्वनि आवश्यकताभन्दा बढी चर्को भएको प्रतिक्रिया समीक्षकले दिएका छन्। 

‘उचाइ’मा नेपाल

डेनीले निर्वाह गरेको चारजना साथीमध्येको एक पात्र भूपेन नेपाली हो। जसको निधन हुने र उसको अन्तिम इच्छास्वरुप अन्य साथीले हिमालयको यात्रा गर्ने कुरा फिल्मको ट्रेलरमै खुलाइएको छ। 

फिल्मको शुरुदेखि अन्त्यसम्म नेपाल जोडिएको छ। यसका पात्र, पात्रको उद्देश्य, उद्देश्य पूरा गर्न पात्रहरूले गर्ने एक्सन सबै नेपालमा छ।

केही ठाउँमा लेखक तथा निर्देशक र कथाबीच भौगोलिक दूरीको असर फिल्ममा परेको प्रष्ट देखिए पनि क्यामेरामा कैद भएका सगरमाथा र त्यहाँसम्म पुग्दाको यात्राका दृश्यले भने नेपालीलाई खुशी बनाउन सक्छ। 

भारतीय फिल्ममा नेपाल र नेपालीलाई स्थान दिएको यो पहिलो पटक होइन। तर बहादुर, कान्छा जस्ता उपनामसँग नेपाललाई आफ्नो फिल्ममा स्थान दिँदै आएको बलिउडबाट ‘उचाइ’ जस्तो सिनेमा बन्नु नेपाल र नेपालीका लागि सुखद कुरा हो।

जहाँ कथाको केन्द्रमा नेपालले स्थान पाएको छ साथै नेपाली पात्रलाई पनि मुख्य स्थान दिइएको छ। जसका कारण कथाले गति पाएको छ र फिल्म त्यसकै सेरोफेरोमा बनेको छ। 

देखिने दृश्यका हिसाबले नेपाललाई प्रतिनिधित्व गर्ने हिमाल (खासगरी सगरमाथा) ले स्थान पाएको छ। जुन फिल्मको मियो पनि हो। ​सँगै ढाका टोपी र नेपाली झण्डा पनि फिल्ममा देखाइएको छ।

नेपालमै रहेर नेपालमा खिचिएको फिल्मको रुपमा मात्रै हेर्दा यसको असर त्यस्तो ठूलो नदेखिए पनि भारतलगायत विश्वका विभिन्न देशबाट फिल्म हेरिरहेका भारतीय तथा विदेशीहरूमा ‘उचाइ’मार्फत नेपालको राम्रो प्रचार भएको छ।

साथै अन्य देशबाट हेर्ने नेपालीलाई पनि विदेशी फिल्ममा आफ्नो देश र थोरै भए पनि यहाँको कथा देख्न पाउँदा आनन्द महशुश हुनेछ।

फिल्मले पहिलो ४ दिनमा विश्वभरिबाट झण्डै ११ करोडको कमाइ गरेको छ। जसमध्ये १ करोडभन्दा माथिको कमाइ नेपालबाट मात्रै गरेको छ। फिल्ममा दर्शकको चाप कामकाजी दिनमा पनि उच्च देखिएको छ। दिवा र रात्रिकालीन शो सोमबार र मंगलबार पनि हाउसफुल रहेका छन्। 

फिल्मको बक्स अफिस कलेक्सन अन्य हिट बलिउड फिल्मको तुलनामा आकर्षक नलागे पनि यो फिल्ममार्फत नेपालको विज्ञापन भने राम्रो भएको छ।

यो फिल्मले नेपालको पर्यटकिय क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने र फिल्म छायांकनका लागि नेपाल एउटा राम्रो विकल्प हुन सक्छ भन्ने सन्देश पनि फैलने पक्का देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.