दुवैको जित्ने कसरत

|

काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। 

२०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। 

उनी नेपाली कांग्रेसका नेता नरहरी आचार्यसँग पराजित भएका हुन्। २०७४ सालमा भने वाम गठबन्धनको समर्थन पाएका पोखरेल यसपटक एक्लै चुनावी महासंग्राममा होमिएका छन्। उनका लागि गठबन्धनका साझा उम्मेदवार पौडेलले टक्कर दिँदैछन्।

​यतिबेला दुवै उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन्। निर्वाचन आयोगले मंसिर १ गते रातीदेखि मौन अवधि लगाएका उम्मेदवारहरूलाई मत माग्न भ्याइनभ्याइ छ। 

सोमबार बिहान काठमाडौं–५ को वडा नम्बर ७ मा रहेको धापासी चोक पुग्दा वरिष्ठ उपाध्यक्ष पोखरेलको घरदैलो कार्यक्रम थियो। कार्यकर्ताहरूलाई ७ बजे नै दाहालगौडा चोक बोलाएका पोखरेल आफू भने ९ बजे मात्रै आइपुगे। पोखरेलले आफूहरूलाई कुराएकोमा कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिन्थ्यो।

२०७४ सालको निर्वाचनमा पोखरेललाई भोट हालेका प्रल्हाद गुरुङले भने, ‘बिहान ७ बजेका लागि बोलाएर ९ बजेसम्म कुराउने? अझै पनि नेताहरू नसुध्रिएकाले हामी विकल्प खोज्न बाध्य भएका हौँ। यसपटक मैले चै विकल्प खोज्छु।’

जे होस उनले हामीसँग असन्तुष्टि राखे पनि पोखरेलको घरदैलो अभियान सुरु भयो। पोखरेलको घरदैलो कार्यक्रम केही अनौठो किसिमको थियो। उनी मतदाताको घरमा गएर गुनासो सुन्ने भन्दा पनि वडा परिक्रमा गर्न व्यस्त भए। बाटोमा भेटिएका मतदातासँग अभिवादन र नमस्कार गर्दै पोखरेल अघि बढे। 

उनको घरदैलो कार्यक्रम यति तीव्र थियो कि एकै दिन ५ नम्बर क्षेत्र सकिदिउँ। कार्यक्रमस्थलमा दुई घण्टा ढिलो गरी पुगेका पोखरेल हतारमा थिए। उनी मतदाताका घरघरमा पुग्न सक्ने अवस्थामा थिएनन्।

बाटोमा भेटिएका एक वृद्धसँग अंकमाल गर्दै पोखरेल विदा भए। तर, उनले भोट चाहिँ मागेनन्। हतारमा रहेका पोखरेलले हामीसँग केहीबेर कुराकानी गर्न राजी भए। तर, यात्रा भने रोकिएको थिएन। साँघुरो गल्ली दुई जना हिँड्न असहज भए पनि सहज बनाउने प्रयत्न गर्‍यौं।

कार्यकर्ताको होहल्लाका बीच केही बेर कुराकानी गर्ने प्रयास गरे पनि प्रभावकारी लागेन। हामी वार्तालापलाई बीचमै रोकेर त्यहाँबाट विदा भयौं।

यस्तो छ पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईँले चुनाव जित्ने आधार के–के हुन्?

म नेकपा एमालेको नेता भएको हुनाले एमालेका विचारहरू, एमालेका योजना र एमालेले गरेका कामहरू महत्वपूर्ण आधार हुन्। दोस्रो म यो क्षेत्रका जनतासँग चिरपरिचित मानिस हुँ। हामीले यो क्षेत्रमा विकास निर्माणका कामहरू गरेका छौँ। सुखदुःखका साथीको रुपमा रहेका छौँ। आगामी दिनमा कसरी काम गर्ने भनेर केही योजनाहरू बनाएका छौँ। यो क्षेत्रमा हाम्रो अत्यन्त राम्रो उपस्थिति छ। संगठनको स्थिति राम्रो छ। मेरा एजेण्डा पार्टीका घोषणापत्र र हामीले सार्वजनिक गरेका २८ वटा प्रतिबद्धतापत्र नै हुन्। यी प्रतिबद्धतापत्र पूरा गर्ने योजना छ। यी नै आधारमा हामी जनताबीचमा मत माग्दैछौँ। 

प्रतिस्पर्धीलाई कमजोर आँक्न हुँदैन भनिन्छ। तपाईँले आफ्ना प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ? 
बहुदलीय प्रतिस्पर्धा र प्रतिस्पर्धाको राजनीतिमा जो सुकै आउने कुरालाई अस्वभाविक रुपमा लिनु हुँदैन। यो स्वाभाविक कुरा हो। तर, प्रतिस्पर्धामा आउनेहरूले आफ्ना विचार र योजना र कार्यक्रमहरू आफ्नो विगत सबै कुराहरू जनता समक्ष प्रस्तुत गर्नुपर्छ।

त्यसआधारमा जनताले मत दिने हो।  आउने बित्तिकै प्रतिस्पर्धामा छन् भन्ने होइन। मेरो प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवारसित हो। तर, हाम्रो संगठनात्मक स्थिति, काम, विचारका आधारमा यो ठाउँमा धेरै अगाडि छौँ। 

युवाहरू राजनीतिमा आउने क्रम बढेको छ। पछिल्लो समय दल र स्वतन्त्रबाट युवाको लहर आउँदैछ नि!
युवाहरूले खोज्नुभएको परिवर्तनको कुरालाई हामीले बुझ्नुपर्छ। युवा भन्नाले विचार युवा होकि होइन? मान्छे फिजिकल्ली युवा छ। तर, विचार बुढो छ, उसको सक्रियता बुढोको जस्तो छ अनि उनका काम र योजनाहरू बुढा जस्ता छन् भने त्यो फिजिकल्ली युवा भएर मात्र हुँदैन। विचार र काममा युवा हुनुपर्छ।

प्रदीप पौडेल : उत्साह, सभ्य तर, थकित अनुहार

नेपाली कांग्रेसले तनहुँका प्रदीप पौडेललाई काठमाडौं–५ बाट उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा प्रदेशसभामा पराजित पौडेललाई कांग्रेसले काठमाडौंमा ईश्वर पोखरेलविरुद्ध मैदानमा उतारेको हो। पौडेल यतिबेला मतदाताको घरदैलोमा पुग्ने प्रयास गरिरहेका छन्।

सोमबार हामी लाजिम्पाटस्थित खुर्सानेटार क्षेत्रमा पुग्दा उनी घरदैलोमा व्यस्त थिए। मिलेसम्म सबै मतदाताको घरसम्मै पुगेर मत मागिरहेका पौडेल केही उत्साहित थिए भने निरन्तरको धपेडीले थकित पनि देखिन्थे। उनी मतदातालाई भेट्नासाथ नमस्कार गर्दै निर्वाचनमा भोट हाल्न आग्रह गर्थे।

पौडेलले वृद्ध व्यक्तिहरूलाई हातमा गएर ढोगिदिन्थे भने अर्थवैैंशे र युवालाई नमस्कार गर्दथे। पहिलो पटक संघीय निर्वाचनमा होमिएका पौडेललाई केही डर र उत्साह बराबर थियो। उनको भाव हामीले उनको अनुहारमा हेर्न सक्थ्यौं। केहीबेर खुर्सानेटारका मतदातालाई भेटेपछि पौडेल हामीसँग केही कुराकानी गर्न राजी भए। 

तपाईँले चुनाव जित्ने आधार के–के हुन्?
मैले चुनाव जित्छु, म ढुक्क छु भन्नु मतदातालाई अपमान गर्नु हो। चुनाव जित्ने आधार हामीले प्रस्तुत गरेका छौँ। हामी मौका नपाएका त, लामो समय नेपालको राजनीतिमा वैकल्पिक विषयहरू उठाएर यथास्थितिलाई बदल्नका लागि प्रयत्न गरिरहेका मान्छेहरू हौं। त्यसैले यो कुरालाई मतदाताले राम्ररी बुझ्नु भएको छ। मतदाताले सबैका बारेमा खोज बिन गर्नुहुन्छ। त्यसआधारमा हामीले जे कुरा प्रस्तुत गरेका छौँ। हाम्रो विगत जे जस्तो छ त्यसआधारमा मतदाताले हामीलाई विश्वास गर्ने परिस्थिति छ भन्ने लाग्छ। 

तपाईँले चुनाव जितेपछि यहाँका जनताले के विषयमा प्रत्यक्ष अनुभूत गर्न पाउँछन्?
धेरै कुरा छन्। सुशासन अन्त्यका लागि भ्रष्टाचार अन्त्य, प्रतिभा पलायनले क्षमता, प्रतिभा भएका व्यक्तिहरू देशमा बस्ने परिस्थिति बन्नुपर्छ। उत्पादनमूलक उद्योगहरू स्थापना गर्ने गरी नीतिहरू निर्माण गरिनुपर्छ। पर्यावरण संरक्षणका निम्ति राज्यसँग उपर्युक्त नीति हुनुपर्छ।

उहाँका विद्यालय सुधार, स्वास्थ्य संस्थाहरू व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ। विशेष गरी राजधानी र राजनीति सफा गर्ने भनेर लागेका छौँ। 

युवा जोश तर, पर्यटक उम्मेदवारको आरोप खेपिसक्नु भएको छ। यद्यपी आफूलाई परिवर्तनको संवाहक युवा नेताका रुपमा चित्रण गर्नुहुन्छ। तपाईँ पहिलो संसद यात्राको दौडमा हुनुहुन्छ। राष्ट्रिय राजनीतिका गेम चेन्जरसँगको भिडन्तलाई कसरी लिनुभएको छ?

टेस्टेट मान्छेहरूले कसरी काम गरे आम नागरिकलाई थाहा छ। म त्यता तिर जान चाहन्न। खाली जनताको पक्षमा कसले काम गर्यो, कसले गर्छ भन्ने कुरा मुख्य विषय हो। त्यसैले यो निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा  को कति पटक मन्त्री भएको थियो भन्ने कुरासँग खासै सरोकार राख्दैन।

मन्त्री हुँदा या अरू पदमा बस्दा कसले कस्तो काम गरेको थियो। त्यसका आधारमा मूल्यांकन गरिन्छ। त्यसरी मूल्यांकन भइरहँदा हामी मौका नपाएका, मौका पाउँदा पर्खिएर बसेको र मौका पाउँदा गर्ने भनेर हामीले धेरै कुरा प्रस्तुत गरेकाले हामीलाई प्रतिस्पर्धामा सहज छ भन्ने लाग्छ। 

तपाईँले यहाँको मुख्य समस्या के देख्नुभयो ? 
यहाँ धेरै समस्या छन्। काठमाडौं बाहिरबाट देखे जस्तो छैन। भित्र अनेकौं खालका समस्याहरू छन्। त्यसैले एउटा सांसदले विकासको नेतृत्व गर्न पनि जरुरी छ र नीति को नेतृत्व गर्न पनि जरुरी छ।

हामीले यहाँका तमाम विषयहरूलाई हल गर्ने गरी अगाडि बढ्छौँ। हामी गएर यहाँका तमाम विषयहरू हल भएनन् भने आम मतदातालाई लगेर दबाब सिर्जना गरेर जसरी पनि यो काम गर्ने स्थिति निर्माण गर्छौँ।  राष्ट्रिय राजनीतिमा पनि हामीले नेतृत्वदायी भूमिका निर्वाह गर्छौँ।

यस्तो छ स्थानीय तह निर्वाचनको अंकगणित

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणामअनुसार नेकपा एमाले सबैभन्दा बलियो दल देखिएको छ। एमालेका वडाध्यक्षहरूले १९ हजार ७०३ मत पाएका छन्। वाम लोकतान्त्रिकको मतभार १७ हजार ९०६ मतमात्र रहेको छ। 

प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले १४ हजार ८५३ मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १ हजार ८२७ मत र नेकपा एकीकृत समाजवादी पार्टीले १ हजार १६१ मत पाएको थियो। यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८२२ मत प्राप्त गरेको थियो भने अन्य साना पार्टीले ४ सय ७१ मत र स्वतन्त्रहरूले ७८१ मत प्राप्त गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं.५ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन्।

तस्वीर : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.