|

म्याग्दी   म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सब स्टेसन र प्रसारण लाइन निर्माण सुरु भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माण थालेको हो। सब स्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्धक सक्रिय भएका छन्।

विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सब स्टेसनका उपकरण राख्ने ठाउँ बनाउन सुरु भएको र प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालेको जानकारी दिए।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सब स्टेसन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। 

आयोजनाको ठेक्का अवधि ३० महिनाको छ। ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्र पारेको जनाएको छ। २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन्। टावर निर्माण हुने जग्गाको पहिचान र नाचजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणभइरहेको छ। 

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछ । डाँडाखेत सब स्टेसनमा १३३–३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने भएको छ। 

२२०–१३२–३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सब स्टेसन जीआईएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए। एसियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सब स्टेसन निर्माण गर्न लागिएको हो।

डाँडाखेतमा सब स्टेसन बनाउन पाँच वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ। 

दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। 

संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन्। थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन्। 

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन्। ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन्।

म्याग्दी खोला जलविद्युत् निर्माणका लागि आठ अर्ब लगानी सम्झौता

म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँचवटा बैंकले करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बै‌क, कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बै‌कले लगानी गर्ने सहमति भएको छ।

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ। हस्ताक्षर कार्यक्रममा हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्धक सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्ति भएकाले आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।

त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैङ्कको साझेदारीमा आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए। उनले देशको आर्थिक संवृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत् आयोजनासँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताए।

म्याग्दी खोला जलविद्युत् आयोजनाबाट स्थानीय निकायसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गर्ने कम्पनीले जनाएको छ।

आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ। आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ। आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुटाइएको छ।

आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षा याममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.