८ महिना बित्दा पनि बाँडिएन चुलो

|

काठमाडौं : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आएका विद्यार्थीलाई सित्तैमा इन्डक्सन चुलो दिने भनेको ८ महिना बित्यो। चुलो भने अहिलेसम्म कसैले पनि पाएको छैन। घोषणा गरेको आठ महिनासम्म पनि चुलो पाउने कुनै छाँटकाँट नदेखिएपछि विद्यार्थीले आशा त्याग्न थालेका छन्।

सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आएर भाडामा बसेर सरकारी वा सामुदायिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलन सम्बन्धी सूचना जारी गरेको थियो। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्याँसको बढ्दो मूल्यको समस्याबाट राहत दिन भन्दै उक्त चुलोका लागि २०७८ फागुन २५ गतेभित्र निवेदन दिन सूचना जारी गरेको थियो। 

ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार दुर्गम क्षेत्रका लागि ८ हजार चुलो दिइने भनिएकोमा ७ हजार ६ सय जनाको आवेदन पर्‍यो। त्यसैगरी लोपोन्मुख आदिवासी‚ जनजाति तथा दलित वर्गका लागि ५ हजार चुलो दिइने भनिएकोमा करिब ८ हजार विद्यार्थीले निवेदन दिए।

सरकारले १३ हजार चुलो वितरण गर्नेछ। यसका लागि करिब २ करोड बजेट विनियोजन गरेको केन्द्रले जनाएको छ। राज्यले यसअघि जारी गरेको सूचनाअनुसार चुलो वितरण गर्न नसकिरहेका वेला फेरि ०७९।८० का लागि चुलोका लागि आवेदन खुला गरिसकेको छ।

ऊर्जा केन्द्रले आव ०७९।८० का लागि केन्द्रमार्फत कार्यान्वयन हुने जैविक ऊर्जा प्रणालीसम्बन्धी विभिन्न कार्यक्रमका लागि माग संकलन सम्बन्धी सूचना भदौ २० गते जारी गरेको थियो। काठमाडौँ बाहिरबाट उपत्यका आएर घरभाडा लिई स्नातक वा त्यसभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलोका लागि गत असोज ९ गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख थियो।

उक्त सूचनाका आधारमा करिब ७ हजार निवेदन परिसकेको ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख रणबहादुर थापाले जानकारी दिए। उनका अनुसार ७ हजार जनालाई नै चुलो वितरण गरिनेछ। पहिलो र दोस्रो चरणको संख्याको आधारमा राज्यले कुल २० हजार विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो दिनुपर्ने छ।

यसरी विद्यार्थीलाई झुलाउँदै छ सरकार

चुलो पाइन्छ कि भन्ने अझै केही विद्यार्थी आशा लिएर बसिरहेका छन्। सरकारले भने विद्यार्थीलाई झुलाउँदै आएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भदौको पहिलो साताबाटै चुलो वितरण गर्ने भनेको थियो। त्यो दिन अझै आएन।

​केन्द्रले चुलो बाँड्ने प्रक्रियामा रहेको भन्दै पुनः छिट्टै वितरण गर्ने भने पनि हालसम्म वितरण नै शुरु गरिएन। अखिल युथ फोर्स आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्का लगायत निवेदकले यसरी राज्यले झुलाउन नपाउने भन्दै तत्काल राज्यले चुलो वितरण गर्नुपर्ने माग राखेका छन्। 

चुलो वितरणबारे यसो भन्छ केन्द्र

ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख थापाले चुलो खरिद प्रक्रियामै ढिलाइ भएकाले समयमा वितरण गर्न नसकिएको तर्क राखे। उनले भने, ‘चुलो बाँड्नका लागि टेन्डर आह्वान गर्‍याैँ, कम्पनीले सामान ल्याउने प्रक्रिया थाल्यो तर चुलाबारे कम्पनी केही कुरामा स्पष्ट नभएकाले मापदण्डअनुसारको चुलो ल्याउन सकेन, कम्पनीले सामानका लागि पेश त गर्‍यो तर पास नै भएन।’

चुलो बाहिर देशबाट ल्याउने अन्तिम चरणमा रहेको जानकारी दिँदै यहाँ ल्याइसकेपछि वितरण गर्ने उनको भनाइ छ। ‘पछि सूचना जारी गरिएको चुलोको पनि समान ल्याउन टेण्डर आह्वान गरी समान मगाउनेछौँ। त्यसपछि वितरण गरिनेछ’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.