|

काठमाडौं : मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुँदैछ। देश यतिखेर चुनावी माहोलमा व्यस्त छ। राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो गरिरहेका छन् र भोट आफूतिर आकर्षित गर्ने कसरतमा रहेका छन्।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ९१ स्थानबाट उम्मेदवारी दिएको छ भने अन्य स्थानमा गठबन्धनका अन्य पार्टीलाई सहयोग गर्नेछ।

यसैबीच पार्टीको चुनावी तयारी, उम्मेदवार हुन नपाएका सदस्यको व्यवस्थापन र निर्वाचनपश्चात् पार्टीबाट आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतसँग गरिएको कुराकानी।

प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारहरूलाई सबैले भोट दिने अवस्था कस्तो छ ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन्। निर्वाचनका कसरी परिचालन र काम भइरहेको छ?

यसै त हाम्रो ठूलो पार्टी, अरू पार्टीजस्तो उम्मेदवार खोजी खोजी ल्याएर उठाउनुपर्ने स्थिति होइन। धेरै योग्य साथीहरू यहाँ प्रौढदेखि युवा नेतृत्व पंक्ति छ। त्यसमाथि गठबन्धन भएपछि यसै सिट कम हुने नै भयो। त्यसले गर्दा ति सम्पूर्ण महत्वाकांक्षालाई सम्बोधन गरेर पार्टीको मत एकीकृत गर्ने कुरा आफैँमा पनि चुनौतीपूर्ण कुरा हो।

गठबन्धनका औचित्यका कुरालाई बुझाएर र आन्तरिक असन्तुष्टिलाई पनि उम्मेदवार नपाएको कारणले आएका असन्तुष्टिलाई पनि सम्बोधन गर्न अवश्य पनि हामीलाई केही समय लाग्यो। ति कुरा करिब करिब सम्बोधन भएको अवस्था छ।

१६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधिसभा तर्फमा ९१ ठाउँमा हामी लडेका छौँ। त्यस्तै प्रदेशसभामा पनि त्यही अनुपातको अवस्था छ। समग्रमा हेर्दा हाम्रो उम्मेदवार नै नभएको, कहीँ प्रतिनिधिसभामा नभएको, तल दुईवटामा नभएको, कहीँ माथि नभएको प्रदेशसभामा पनि एउटा नभएकोले गर्दा ६१ ठाउँमा हाम्रो उम्मेदवार नै छैनन्।

त्यसो हुनाले निर्वाचन प्रक्रियामा सामान्यतया के हुने गर्थ्यो भने प्रत्यक्ष उम्मेदवारले नै त्यो मतदाताहरूलाई परिचालन गरेर मतदान केन्द्रमा पुर्‍याउँथ्यो।

त्यहाँ उम्मेदवार नभएको हुनाले पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको छ- त्यहाँको सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने। किनकि समानुपातिकमा त रुखमै मतदान गर्ने हो। प्रतिनिधिसभामा पनि रुखमै मतदान गर्ने हो।

प्रदेशसभामा पनि ३३० नै रुखमै मतदान गर्ने हो। ४० प्रतिशत सिट समानुपातिकबाट चुनिन्छ। समानुपातिक सिट हाम्रो लागि उत्तिकै महत्वपूर्ण छन्।

त्यसो हुनाले हाम्रा मतदाताहरूलाई पूर्ण रुपले परिचालन गर्नका लागि त्यहाँ हाम्रो प्रत्यक्ष उम्मेदवार नभए पनि सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनु आवश्यक छ। त्यसको लागि हामीले केन्द्रबाट पनि प्रतिनिधि पठाएर परिचालन गर्ने प्रबन्ध मिलाएका छौँ।

समानुपातिकमा कांग्रेसलाई मत हाल्ने कुराले पनि त्यो जरुरी छ। त्यहाँ अरू गठबन्धन दललाई समर्थन गरेका कारणले पनि उहाँहरूलाई पनि मत हाल्नु जरुरी छ, किनभने हामीले अन्य गठबन्धन दललाई मत हाल्यौँ भने न उहाँहरूले पनि हामीलाई समर्थन गरेको ठाउँमा रुख चिह्नमा मतदान गर्नुहुन्छ।

यो त लिने पनि हो‚ दिने पनि हो। पारस्परिक सहयोगबाट ‘विन–विन’ अवस्था प्राप्त गर्ने हो। नेपाली कांग्रेस नि फाइदामा रहने‚ गठबन्धनमा रहेका अन्य दलहरू पनि परिणामको हिसाबले फाइदामा रहने। र‚ समग्रमा नेपाली कांग्रेसको नेतृत्व सु–स्पष्ट ढंगबाट विजय हासिल गर्ने अवस्था आउने हो।

यो कुरा हामीले बुझाइरहेका छौँ। समग्र रुपमा केन्द्रबाट आह्वान गरेका छौँ। समानुपातिकतर्फ १६५ क्षेत्रमा नै प्रतिनिधिसभाका लागि, प्रदेशसभामा ३३० क्षेत्रमा नै रुखमै मतदान गर्ने हो।

त्यसमा कुनै गठबन्धन छैन। प्रत्यक्षतर्फमात्र गठबन्धन हो। प्रत्यक्षतर्फ जे सहमति भएको छ‚ नेतृत्व बीचमा, सहमतिअनुसार हामीले एक–अर्कालाई मतदान गर्ने हो। यिनै कुराहरू बुझाइरहेका छौँ।

मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिने दिने गर्न गाह्रो छ, यसमा अझै पनि जोडबल पुगिरहेको छैन भन्ने रिपोर्टिङ छ। त्यस्तो ठाउँहरूमा नेतृत्वले के गरिरहेको छ?

परिचालन कमिटी, प्रचार समितिले त्यस्ता केन्द्रीय प्रतिनिधिहरू जो प्रत्यक्ष उम्मेदवार छैनन् तर महत्वपूर्ण केन्द्रीय तहको नेता साथीहरू हुनुहुन्छ‚ उहाँहरूलाई हामीले खटाएका छौँ सम्बन्धित ठाउँमा।

सम्बन्धित ठाउँको पार्टी संरचनाको मिटिङ राख्ने, अन्य दलहरूसँग पनि समन्वय गर्ने, हामीले सहयोग गर्‍यौँ भने मात्रै उहाँहरूको पनि हामीले सहयोग पाउँछौं। सहयोग लिनु र दिनु आवश्यक छ।

त्यसो भयो भने मात्रै परिणाम हाम्रो पक्षमा हुन्छ। उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन। परिणाम ज्यादा ल्याउनु चाहिँ महत्वपूर्ण कुरा हो। पार्टी निर्वाचनमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानको लागि हो।

सत्तामा हामी किन जान्छौँ भने हाम्रो नीति, कार्यक्रम कार्यान्वयन गरेर जनता र देशको सेवा गर्नका लागि हो। यी कुराहरू हामीले बुझाइराखेका छौँ।

यद्यपि‚ आफ्नै पार्टीहरू मात्रै लड्दा पनि केही असहयोग, असन्तुष्टि हुने गरेको छ। गठबन्धनमा त झन् अलिकति भयो कि समस्या आउँछ। तर मलाई लाग्छ, मूल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दा पनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरूलाई पुर्‍याउनु चुनौतीपूर्ण काम हो।

पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीको सामना गर्छौं भन्ने हामीलाई विश्वास छ। ल ठिक छ‚ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन्।

प्रवृत्ति एउटै हो। तिनीहरूलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरूलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न।

खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोडबल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशील नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महसुस गरेर त्यसको यथेष्ट प्रबन्ध, परिचालित गरेर मतदाताहरूलाई पुर्‍याउने सम्पूर्ण कोसिस हामीले गरिराखेका छौँ।

केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी कायमै रह्यो। अहिले नेतृत्वले ती उम्मेदवारका विषयमा के सोचिरहेको छ? भोट काटिने भएपछि कारबाहीले मात्रै केही नहुने भयो नि?

यस्तो असन्तुष्टि, सीमित मात्रामा विद्रोह एक्लै हामी चुनाव लड्दा पनि हुने गर्थ्यो। केही न केही मार्जिन हामीले हरेक चुनावमा बेहोर्नुपर्छ। तथापि अहिले गठबन्धनका बाबजुद, धेरै ठाउँमा हाम्रो उम्मेदवार नहुनाको बाबजुद, जुन धेरै विद्रोह हुन्छ भन्ने मान्छेले अपेक्षा गरेका थिए त्यो भएन- जहाँ विद्रोहमा उम्मेदवारी दिइयो।

अधिकांश ठाउँमा उहाँहरूले फिर्ता लिनुभयो। उहाँहरूलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ। बाँकी जुन ठाउँमा विद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडि बढेर निलम्बन, निष्काशन भइसकेको अवस्था छ। उनीहरू पार्टीमा नरही सकेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरूले त्यही रुपमा उनीहरूलाई हेर्दैनन्।

त्यसकारण उहाँहरूले क्षति गराउने सम्भावना अत्यन्त न्यून भएर जान्छ। कत्ति पनि हुँदैन भन्ने त कुरो भएन। केही थोरैतिनो त अवश्य पनि हुन्छ। अरू दलमा पनि त्यस्तो हुन्छ। त्यसको क्षतिपूर्ति बराबर नै हुन्छ। किनभने हाम्रो दलमा मात्रै त्योखाले विद्रोहको अवस्था छैन। हरेक दलमा केही न केही असन्तुष्टि छ, त्यो सन्तुलन हुन्छ भन्ने हामीले सोचेका छौँ।

नेपाली कांग्रेसले यो निर्वाचनबाट कति सिटमा विजय प्राप्त गर्छ?

ठ्याक्कै संख्या भन्नुभन्दा पनि मंसिर ४ मा नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्छन्। त्यसलाई सीधै अवमूल्यन गरेर यति नै हुन्छ, उति नै हुन्छ भनेर भन्नुभन्दा पनि म के भन्न चाहन्छु भने हाम्रो आँकलनमा, हामीले बुझेसम्म, जानेसम्म अधिकांश सिटमा विजय प्राप्त गर्छौ। गठबन्धन दलका उम्मेदवारहरूको पनि धेरै संख्यामा उहाँहरू निर्वाचित भएर आउनुहुन्छ।

त्यही अनुपातमा प्रदेशसभामा पनि निर्वाचित भएर आउनुहुन्छ। हाम्रो समानुपातिकतर्फको मत घट्दैन‚ बरु केही बढ्ला। यद्यपि उम्मेदवार नभएको ठाउँमा त्यो चुनौतीलाई हामीले वैकल्पिक प्रबन्ध गरिराखेका छौँ- त्यो कम नहोस् भनेर, बढ्छ नै। समग्रमा हामी सु–स्पष्ट बहुमत प्रतिनिधिसभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर। र‚ प्रदेशसभाहरूमा पनि ७ वटा प्रदेशमा हामी सु–स्पष्ट बहुमत ल्याउँछौँ।

सरकार गठबन्धनकै बन्यो भने प्रधानमन्त्री को हुन्छ भन्ने व्यापक चासो छ। तपाईंहरूको पार्टी सभापति नै हो कि? गठबन्धन दलका अन्य शीर्ष नेताहरूले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टीभित्रका केही युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ। तपाईंहरूको बुझाइ र तयारी के हो?

स्वाभाविक रुपमा गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। १६५ सिटमध्ये ९१ सिटमा कांग्रेसले लडेको छ। बाँकी ४ दलले ७४ सिट लडेका छन्। त्यसबाट नै नेतृत्वदायी भूमिका नेपाली कांग्रेसकै हो भन्ने स्वाभाविक नै छ। नेपाली कांग्रेसको स्वाभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली कांग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्ने पनि सु–स्पष्ट छ।

किनकि अहिले देशले जोड्ने नेतृत्व खोजेको छ। पार्टीभित्र पनि सर्वसहमतिबाट कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनु भएको छ। चाहे गठबन्धनको निर्णय होस् चाहे टिकट वितरण गर्ने निर्णय होस्। यति मात्रैले नपुगेर उहाँले अन्य दलहरूलाई पनि विश्वासमा लिएर कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन।

अहिलेको आवश्यकता पनि हो त्यो। धेरै कुरा मात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ। यद्यपि बजारमा अनेकखाले कुराहरू गरिन्छ- सामाजिक सञ्जालको जमानामा। त्यसलाई अन्यथा लिने कुरा छैन। तर वास्तविकता भने यही नै हो। फेरि शेरबहादुरजीको स्वभाव के छ भने आफूलाई म हुँ भनेर न भनिरहने‚ सबैको विश्वास जितेर अगाडि बढ्ने स्वभाव।

अस्ति प्रचण्डजीले नै भन्नुभयो नि कि नेतृत्वको समस्या नै छैन हाम्रो बीचमा। मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ। मैले पनि केही भनेँ भने उहाँले पनि नाइँ नगर्नुहोला।

त्यो किसिमको केमेस्ट्री र विश्वास अहिलेको यो गठबन्धनमा भएको हुनाले मलाई लाग्दछ, नेतृत्वको विषयमा समस्या छैन। औपचारिक रुपमा घोषणा गर्ने, नगर्ने भन्ने कुरो चाहिँ संसदीय व्यवस्थामा कहिले गरिन्छ पनि‚ कहिले नगरेर निर्वाचनपछि पनि हुने गर्दछ।

खालट्ठ यसलाई औपचारिक रुपमा घोषणा हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा मात्रै हो तर स्वाभाविक नेतृत्व नेपाली कांग्रेसको। र‚ स्वाभाविक नेपाली कांग्रेसको नेतृत्व शेरबहादुरजीको हो।

गगन थापालगायतका नेताहरूले दिएको अभिव्यक्तिकै कुरा गरौँ। प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने कुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरू। त्यस्ता कुराले निर्वाचनअघि केही न केही महत्व राख्छन्। यसलाई कसरी लिनुभएको छ‚ कि यी कुराहरू गौण हुन पार्टीका लागि?

मलाई लाग्दछ, अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो। निर्वाचनमा केन्द्रित भएर निर्वाचित भएर आउने। आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरूलाई निर्वाचित गराउने। हाम्रो पार्टीको नेतृत्व, पदाधिकारी जो आफूलाई पार्टीको नेता हुँ भन्नुहुन्छ, हामी सबैको कर्तव्य र जिम्मेवारी त्यो हुनुपर्दछ भन्ने मलाई लाग्छ।

 र कसलाई के हुन मन लागेको छ, पहिले पार्टी जित्नु पर्‍यो‚ गठबन्धनले जित्नु पर्‍यो। र‚ पार्टीले जितेपछि पनि संसदीय दलबाट संसदीय दलको नेतृत्व चुनिन्छ।

त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी, एउटा नेताले जे भन्छ त्यो हुनैपर्ने पार्टी त होइन। पार्टीको विधान छ‚ संसदीय प्रक्रिया छ। प्रधानमन्त्री बन्न चाहनेले पनि चुनावपश्चात् पार्टीमा उम्मेदवारी दिन पाउनु हुन्छ। त्यसकारण अहिले नै साथीहरूले प्रधानमन्त्री म उठ्छु भनेर बाजा बजाएर हिड्नुपर्ने कुनै आवश्यकता छैन।

त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हित हुने मैले देख्दिनँ। त्यसकारण मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ? स्वयम् पार्टीको नेतृत्व गरिरहनु भएको पार्टीका सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ।

उहाँले भनिरहनुभएको छ। भनि सकेपछि अरूलाई होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो- त्यो मलाई थाहा छैन। तर पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थक पंक्तिको ध्यान अहिले के छ भने कसरी बढीभन्दा बढी पार्टीका उम्मेदवारहरूलाई जिताउने र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने।

र‚ हाम्रो सु–स्पष्ट बहुमत ल्याएर उल्टो गतिमा देशलाई लैजाने, अहिलेसम्मका उपलब्धिहरूलाई कमजोर गर्ने विभिन्न रुप, रंगमा प्रकट भएका प्रवृत्तिहरूलाई परास्त गर्ने। हाम्रो सम्पूर्ण ध्यान त त्यतातिर पो जाने हो। अहिले हामीले हाम्रो ध्यानलाई विकेन्द्रित गर्नुपर्ने र व्यक्तिगत रुपमा म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ।

समानुपातिकतर्फको मत बढाउन कांग्रेसले कहाँ–कहाँ, के–के गर्नुपर्छ र कांग्रेसजनले के–के गर्नुपर्छ?

पहिलो कुरा त मैले प्रत्यक्ष उम्मेदवार साथीहरूलाई पनि भनेको छु, सबैको ध्यान आफूप्रति नै केन्द्रित हुन्छ। त्यो अस्वाभाविक पनि होइन। तर हरेक निर्वाचनमा आमसभा, कोणसभा, घरदैलो, भेटघाट, अन्तरक्रिया यी सबै ठाउँहरूमा प्रत्यक्षका उम्मेदवारहरूले दुई किसिमको निर्वाचन प्रणाली छ।

एउटा प्रत्यक्षबाट क्षेत्रबाट निर्वाचित हुने। अर्को देशैभरबाट प्रतिनिधिसभाको लागि पार्टीलाई आउने मतबाट निर्वाचित हुने। प्रदेशसभामा प्रदेशको पार्टीलाई आएको मतबाट निर्वाचित हुने व्यवस्था छ। त्यसो हुनाले प्रत्यक्षमा पार्टीको तर्फबाट म उम्मेदवार भएको छु। मलाई मत दिनुहोस् भन्ने।

सँगसँगै समानुपातिकतर्फ देशभरि र प्रदेशभरि पार्टीले उम्मेदवार खडा गरेको छ। बढीभन्दा बढी उहाँहरूलाई जिताउनका लागि पार्टीको पक्षमा र नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा छाप लगाएर विजय गराउन आम मतदाताहरूलाई अनुरोध गर्ने काम उम्मेदवार साथीहरूले पनि गर्नुपर्छ। नयाँ मतदाताहरूलाई शिक्षा दिनु पनि जरुरी छ।

समानुपातिकको लागि पनि जनताकै मत चाहिन्छ। जनताकै मतबाट चुनिने हो समानुपातिक उम्मेदवारहरू पनि। खाली फरक के हो भने प्रत्यक्षतर्फ, क्षेत्रगत जसले बढी मत ल्यायो त्यो निर्वाचित भएर जान्छ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा देशैभरिबाट जति ज्यादा पार्टीलाई मत आयो उति ज्यादा संख्यामा उम्मेदवारहरू निर्वाचित भएर जान्छन्। त्यस्तै गरेर प्रदेशसभामा पनि प्रदेशबाट जति ज्यादा मत आयो उति ज्यादा उम्मेदवार विजयी भएर जान्छन्।

नयाँ मतदाता साथीहरूलाई धेरै यो विषयमा गहिरो रुपमा थाहा नभएको पनि हुन सक्दछ। र हाम्रो पार्टी पंक्ति टोल, वडा, क्षेत्र, जिल्लालगायत तमाम पार्टीका साथीहरू र प्रत्यक्षतर्फका उम्मेदवार साथीहरू र समानुपातिकतर्फ पनि देशैभरि उम्मेदवार हुनुभएको छ।

साथीहरूलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु‚ आह्वान गर्न चाहन्छु। प्रत्यक्ष र समानुपातिक दुईवटै बाट निर्वाचित हुनु हाम्रो लागि उत्तिकै महत्वपूर्ण कुरा हो। त्यही महत्वका साथ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएको ठाउँमा पनि पार्टीपंक्ति पूरै परिचालित भएर पार्टीको पक्षमा मतदान गर्न म अनुरोध गर्न चाहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.